यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णय

काठमाडौं – बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ९ वटा विधेयकहरू संघीय संसद् समक्ष पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन, २०५३ लाई संशोधन गर्न बनेको विधेयकलगाएतका विधेयक संसद् समक्ष पेस गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

त्यस्तै, बैठकले खानी तथा खनिज पदार्थ सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, संक्रामक पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, राहदानी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण (पहिलो संशोधन) विधेयक र बालश्रम निषेध तथा नियमित गर्न बनेको सम्बन्धी विधेयक संसद्‌मा पेस गर्ने स्वीकृति प्रदान गरिएको उनले जानकारी दिए।

त्यस्तै, आन्तरिक वायुसेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, मेलमिलाप सम्बन्धी ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयक र कर्मचारी सञ्चय कोष ऐन, २०१९ लाई संशोधन गर्न बनेको विधेयक समेत संसद् समक्ष पेस गर्न स्वीकृति दिने निर्णय भएको प्रवक्ता पोखरेलले बताए ।

बैठकले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनिमय सम्बन्धी कसूरको अनुसन्धान अधिकारी तोक्ने निर्णय गरेको उनले जानकारी दिए ।

साथै, मन्त्रिपरिषद्ले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्य पदमा खेटराज दाहाललाई मनोनयन गर्ने निर्णय गरेको छ भने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (छैटौँ संशोधन) नियमावली, २०८३ लाई स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *