काठमाडौं – राहदानी विभागले उत्पादन क्षमता बढाउंदै गर्दै दैनिक करिब १५ सय विद्युतीय राहदानी छपाइ गर्न थालेको छ।
विभागले बढ्दो मागलाई सम्बोधन गर्दै सेवाग्राहीलाई समयमै राहदानी उपलब्ध गराउने उद्देश्यले उत्पादन क्षमता वृद्धि गरिएको जनाएको छ।
बढ्दो चापलाई ध्यानमा राख्दै विभागले राहदानी आवेदन, विवरण प्रमाणीकरण, उत्पादन तथा वितरण प्रक्रियालाई थप व्यवस्थित, प्रभावकारी र सेवाग्राहीमैत्री बनाउँदै लगेको दाबी विभागले गरेको छ । विभागले विद्युतीय राहदानीसम्बन्धी सेवा देशभित्र ७७ वटै जिल्ला प्रशासन कार्यालय तथा विभिन्न इलाका प्रशासन कार्यालयका अलावा नेपाली नियोगमार्फत उपलब्ध भइरहेको छ जनाएको छ।
आगामी दिनमा सेवाग्राहीको आवश्यकता र मागअनुसार सेवा विस्तार तथा प्रणालीलाई थप सुदृढ गर्दै लैजाने योजना रहेको विभागले जनाएको छ ।
पछिल्लो समय विशेषगरी दक्षिण कोरियामा रोजगारीका लागि जाने नेपाली नागरिकका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत आवेदन तथा श्रम स्वीकृति प्रक्रिया अघि बढेसँगै राहदानीका लागि आवेदन दिने सेवाग्राहीको संख्या ह्वातै बढेको छ । यसका अतिरिक्त वैदेशिक रोजगारी, अध्ययन, भ्रमण, उपचार तथा अन्य प्रयोजनका लागि विदेश जाने नेपाली नागरिकको संख्या बढ्दै जाँदा विद्युतीय राहदानीको मागसमेत निरन्तर वृद्धि भइरहेको अवस्था छ। बढ्दो मागलाई ध्यानमा राख्दै राहदानी उत्पादन तथा सेवा प्रवाहको क्षमता विस्तार गरिएको विभागले जनाएको छ।
विद्युतीय राहदानी प्रणाली अत्याधुनिक प्रविधिमा आधारित भएकाले यसको सञ्चालनका क्रममा देखिन सक्ने प्राविधिक समस्यालाई विभागले प्राथमिकताका साथ सम्बोधन गर्दै आएको जनाएको छ । पछिल्लो समय सेवाका क्रममा देखिएका प्राविधिक समस्याहरूलाई आगामी महिना भित्रै समाधान गर्ने विभागको भनाइ छ । तीन महिना भित्र राहदानी वितरण प्रणालीलाई स्थिर बनाउन आवश्यक प्राविधिक तथा व्यवस्थापकीय कार्य गरिने विभागले बताएको छ ।









