पुरानै क्रियाशील सदस्य कायम गरेर तोकिएको मितिमै महाधिवेशन गर्ने विकल्पमा कांग्रेस

2020-06-29

काठमाडौं - कोभिड–१९ का कारण महाधिवेशन कार्यतालिका प्रभावित बनेपछि कांग्रेसमा यसअघिकै क्रियाशील सदस्यलाई कायम राखेर तोकिएको मितिमै महाधिवेशन गर्ने विकल्प अघि सारिएको छ। पार्टीको १४ औं महाधिवेशन आगामी फागुन ७ देखि १० सम्मका लागि तय गरिएको छ। महाधिवेशन कार्यतालिका नियमित रुपमा अघि बढेको भए क्रियाशील सदस्यता छानबिन समितिले गरेका निर्णयमा उजुरी गर्ने समय यतिखेर थियो। क्रियाशील सदस्यको सूची साउन २५ सम्म तयार गरिसक्नुपर्ने कार्यतालिका थियो।

गत फागुन १५ सम्म पार्टी संरचनाहरु समायोजन सकेर क्रियाशील सदस्यता वितरण र नवीकरण गर्ने कार्यतालिका बनाइएको थियो। निर्वाचन समितिलाई तीन पटक अवधि थप्दासमेत संगठन समायोजन सकिएको छैन। निर्वाचन समितिका अध्यक्ष राधेश्याम अधिकारीका अनुसार लकडाउनअघि जम्मा ५२ जिल्लामा मात्र समायोजन सकिएको छ।

निर्वाचन समितिले पूर्ण रुपमा समायोजन नसकेका जिल्लामा क्रियाशील सदस्यता वितरण र नवीकरण नहुने जनाएको थियो। २/४ जिल्लाले समायोजनमा असहयोग गरे पनि महाधिवेशन कार्यतालिका नरोकिने निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले बताए।

क्रियाशील सदस्यता वितरण र नवीकरणका लागि छुट्याइएको समयमै लकडाउन सुरु भएकाले नियमित प्रक्रिया सुरु हुन सकेन। कोभिड-१९ ले ४ महिनाको कार्यतालिका प्रभावित बनेपछि १३ औं महाधिवेशनकै क्रियाशील सदस्य कायम गरि महाधिवेशनमा जानुपर्ने आवाज उठेको हो। नेता अर्जुननरसिंह केसीले भने, ‘कार्यतालिकामा असर परेकै छ। तोकिएकै समयमा महाधिवेशन गर्न क्रियाशील सदस्यता वितरण रोकेर पुरानैलाई कायम गर्न सकिन्छ।’

मंगलबारदेखि सुरु हुने केन्द्रीय समितिको बैठकमा नयाँ विकल्पका बारेमा छलफल हुने नेता केसीले बताए।

विगत चार महिनामा जिल्लामा समायोजनको कार्य पूर्ण रुपमा रोकिएको छ। चैत मसान्तसम्म सकिनुपर्ने नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरण रोक्न केन्द्रले नै परिपत्र नै गरेको थियो। चैत ८ मा जिल्ला समितिहरुलाई परिपत्र गरि नवीकरण र सदस्यता वितरण स्थगन गरि कोरोना सचेतनामा सक्रिय हुन आव्हान गरिएको थियो। चैत मसान्तसम्म रोकिएको क्रियाशील सदस्यता र नवीकरणको कार्यतालिका लकडाउन निरन्तर रहेपछि अनिश्चित बनेको थियो।

फागुनमा महाधिवेशन गर्नका लागि माघ २९ को केन्द्रीय समिति बैठकले विधानका धारा निलम्बन गरेको थियो। धारा निलम्बन गरे पनि कार्यतालिकाको कार्यान्वयन कोभिडका कारण नहुने भएको छ। फरक परिस्थिति रहेको र जिल्लाको संगठन समायोजन समयमै नभएकाले विधानका ५ धारालाई निलम्बन गरिएको थियो।

विधानको धारा ४ (२) मा नेपाली कांग्रेसको सदस्यता प्राप्त गरेको सदस्यले एक वर्ष पुगेपछि क्रियाशील सदस्यता प्राप्त गर्ने व्यवस्था छ। तर यस्तो व्यवस्था आगामी चौधौं महाधिवेशनका लागि भने लागू नहुने भएको छ। उक्त प्रावधान कांग्रेस केन्द्रीय समितिले निलम्बन गरिदिएको हो। योसँगै पार्टी सदस्यता लिएको एक वर्ष नपुगे पनि क्रियाशील सदस्यता वितरण गर्न बाटो खुलेको छ। आगामी अधिवेशन र महाधिवेशनको प्रयोजनका लागि मात्र लागू हुने गरी धारा निलम्बन गरिएको र उक्त निर्णयलाई महाधिवेशनबाट अनुमोदन गर्ने पार्टीले जनाएको छ।

लकडाउन खुकुलो भए पनि भेला भएर जिल्ला अधिवेशन गर्ने अवस्था बनिसकेको छैन। प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘समस्या क्रियाशील सदस्य वितरणको होइन। भेला भएर काम गर्न सहज नभएको हो। आइडियाहरु विभिन्न निस्कन्छन्।’ भेला भएर जिल्ला अधिवेशन नै गर्न नसकिने अवस्थामा विकल्पबारे केन्द्रीय समितिमा छलफल हुने केन्द्रीय सदस्य कल्याण गुरुङले बताए।

फागुनभित्रै १४औं महाधिवेशन गर्नुपर्ने बाध्यकारी परिस्थिति रहेकाले विधानमा एक वर्ष वा ६ महिना’ राखिएका प्रावधान हटाइएका छन्। विधानको धारा ४ ९२० मा नेपाली कांग्रेसको सदस्यता प्राप्त गरेको सदस्यले एक वर्ष पुगेपछि क्रियाशील सदस्यता प्राप्त गर्ने व्यवस्था छ। तर, यस्तो व्यवस्था आगामी १४ औं महाधिवेशनलाई केन्द्रित गरि हटाइएको थियो। धारा निलम्बनसँगै पार्टी सदस्यता लिएको एक वर्ष नपुगे पनि क्रियाशील सदस्यता प्राप्त गर्ने बाटो खुलेको छ।

१४ औं महाधिवेशनलाई सहज हुने गरि धारा ४ (१०) ‘ञ’ को व्यवस्थासमेत हटाइएको थियो। महाधिवेशन हुने मितिभन्दा ६ महिना पहिले क्रियाशील सदस्यता प्राप्त गरेको वा नवीकरण गरेको व्यक्तिले मात्र महाधिवेशनका लागि मतदानमा भाग लिन पाउने व्यवस्थासमेत हटाइएको छ। महाधिवेशन अघिसम्म वितरित क्रियाशील सदस्यले समेत मतदानमा भाग लिन पाउने बनाइएको छ। महाधिवेशन हुनुभन्दा कति समय पहिलेसम्म क्रियाशील सदस्यता लिएका वा नवीकरण गरेकाले महाधिवेशनमा मतदान गर्न पाउने बारे यकिन गरिएको छैन।

१३ औं महाधिवेशनमा ४ लाख ७० हजार ६५५ क्रियाशील सदस्य बनाएको कांग्रेसले १४ औं महाधिवेशनमा संख्या बढाउने जनाएको थियो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ