कोरोना रोकथाम तथा नियन्त्रण गर्न सरकार असफल : कांग्रेस

2020-06-09

काठमाडौँ - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार असफल भएको निष्कर्ष निकालेको छ। सोमबार राति अबेर सकिएको केन्द्रीय समिति बैठकले कोरोना महामारीमा सरकारको गैरजिम्मेवारीपन देखिएको बताएको हो।

‘कोरोना महामारीमा सरकारको गैरजिम्मेवारीपन, अर्कमन्यता, अक्षमता र भ्रष्टाचारको विरूद्धमा संघीय संसद तथा प्रदेश सभा र जिल्लामा सक्रिय/सशक्त रूपले प्रस्तुत हुने निर्णय भएको हो,’ मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने।

कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर कोरोना महामारी नियन्त्रण गर्न चाल्नुपर्ने कदमबारे ध्यानाकर्षण गराउने निर्णयसमेत गरेको उनले जानकारी दिए।

‘कोरोना महामारी नियन्त्रण गर्न यसका अल्पकालीन र दीर्घकालीन नकरात्मक प्रभाव न्यून गर्न, जनताका सरोकार तथा आवश्यकताका विषय सम्बोधन गराउन सरकारले तत्काल चाल्नुपर्ने कदमका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन प्रतिनिधिमण्डल पठाउने निर्णय भएको हो,’ उनले भने।

वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई भेटेरै ध्यानाकर्षण गराउने कांग्रेसले जनाएको छ। कोरोना महामारी नियन्त्रणमा सरकारले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको, पिसिआर परीक्षणको दायरा वृद्धि नगरेको भन्दै केन्द्रीय समितिले सरकारको आलोचना गरेको छ।

साथै कोरोनाका कारण उत्पन्न परिस्थितिबारे अध्ययन तथा अनुगमन गर्न सहमहामन्त्री प्रकाशशरण महतको संयोजकत्वमा समिति गठन गरिएको मुख्यसचिव पौडेलले जानकारी दिए।

सरकारले कोरोनामा अग्रपंतिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी र पत्रकारको व्यक्तिगत सुरक्षामा ध्यान नदिएको कांग्रेसको भनाइ छ।

‘स्वास्थ्यकर्मीको बीमा घोषणा गरे पनि कार्यान्वयन भएको छैन। सरकारसँग कामका लागि प्रोत्साहित गर्ने कुनै नीति तथा योजना छैन,’ कांग्रेसले भनेको छ।

कुवेतलगायत खाडी मुलुकमा नेपाली विचल्लीमा परे पनि उद्धार गर्न सरकारले ढिलाइ गरेको कांग्रेसको आरोप छ। ‘विदेशमा जोखिममा रहेकालाई प्राथमिकताका आधारमा घर फर्काउनुपर्नेमा राजनीतिक भनसुनका आधारमा उद्धार गर्ने प्रयत्न भइरहेको छ,’ कांग्रेसले केन्द्रीय समिति बैठकपछि जारी गरेको विज्ञप्तिमा भनिएको छ।

 




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ