अब बैंकमा सुन राख्दा ब्याज पाइने

2020-03-06

काठमाडौं - आफूसँग भएको सुन बैंक राखे ब्याज पाइने भएको छ। नेपाल राष्ट्र बैंकले सुनलाई निक्षेपको रूपमा राख्न वाणिज्य बैंकहरूलाई निर्देशन दिएको हो। यसअघि राष्ट्र बैंकले मौद्रिक नीतिमा नै सुनलाई निक्षेपका रुपमा राखी ब्याज दिने व्यवस्था गरिने उल्लेख गरेको थियो।

राष्ट्र बैंकले अन्तर्राष्ट्रिय बजारमा भएको अभ्यासलाई नेपालमा प्रयोग गरेको बैंकर एसोसिएसनका अध्यक्षले भुवन कुमार दाहालले बताए। यसले बैंकमा थप तरलता प्रदान गर्ने उनको भनाइ छ। यसको फाइदा र बेफाइदा भने अबको एक वर्ष पछि मात्र थाहा हुने उनको तर्क थियो।

राष्ट्र बैंकले मौद्रिक नीतिमा भएको व्यवस्था कार्यान्वयन गर्ने क्रममा नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन २०७६ जारी गर्दै नेपाली नागरिक सँग भएको सुन निक्षेप लिन पाउने व्यवस्था गरेको हो।

वाणिज्य बैंकहरूले सुनलाई निक्षेपको रूपमा लिन पाउने व्यवस्था गरिएको छ। यसका लागि बैंकहरुले सुन निक्षेपमा राख्ने सम्बन्धमा विस्तृत नीति तथा कार्यविधि तयार पार्नु पर्नेछ। ‍सुन निक्षेप लिँदा निक्षेपकर्ताबाट उपलब्ध हुने सुनको शुद्धता तथा तौलको जाँच गर्ने संयन्त्रको स्थापना गरी कम्तीमा ९९५ फिटनेसको सुन मात्र स्वीकार गर्नु पर्नेछ। वाणिज्य बैंकहरुले निक्षेपका रुपमा प्राप्त सुनलाई शुद्धता तथा तौलका आधारमा सुरक्षित तवरले ढुकुटीभित्र राख्ने व्यवस्था गर्नु पर्नेछ। बैंकहरुले ढुकुटी सुरक्षाका लागि सिसिटिभी क्यामेरासहित दोहोरो चाबीलगायतको प्रबन्ध मिलाउन समेत राष्ट्र बैंकको निर्देशन छ।

सुन निक्षेपको रुपमा स्वीकार गर्दा वाणिज्य बैंकहरुले न्यूनतम २५ ग्राम परिणामको सुनलाई निक्षेपको रुपमा स्वीकार गर्न सक्ने व्यवस्था छ। त्यस्तै निक्षेपकर्ताले सुन निक्षेप राख्न आएमा प्राप्त सुनलाई तोकिएको शाखामा जाँच गराई शुद्धता तथा तौल एकिन गरी प्रमाणपत्र दिनु पर्नेछ।

बैंकहरुले सुन निक्षेप राख्न आएका ग्राहकहरुलाई सुन निक्षेप लिदाँका बखत नै आफूले जम्मा गरेको साँवा सुन तथा ब्याज सुनमै लिने वा नगदमा लिने सोको समेत एकिन गराउनु पर्नेछ।

सुन जम्मा गर्दा निक्षेपको अवधिसमेत तय गर्न राष्ट्र बैंकको निर्देशन छ। निक्षेपको अवधि कम्तीमा तीन वर्ष तथा अधिकतम ५ वर्षको हुनुपर्ने निर्देशन दिएको राष्ट्र बैंकले निक्षेपलाई नवीकरण गर्न सकिने समेत जनाएको छ। सुन निक्षेपको ब्याजदर बैंक आफैले निर्धारण गर्न सक्ने नेपाल राष्ट्र बैंकको निर्देशन छ।

यसरी निक्षेप राखेका ग्राहकले तीन-तीन महिनाको अवधिमा ब्याज पाउनेछन्। सुन लिँदा र भुक्तानी दिँदा बैंकहरूले सुनचाँदी व्यवसायी महासंघले तोकेअनुसार सम्बन्धित दिनको बजारमूल्य बमोजिम मूल्यांकन गर्नु पर्नेछ।

निक्षेपका रूपमा सुन स्वीकार गर्ने बैंकको ढुकुटीमा रहेको सुनलाई राष्ट्र बैंकको निर्देशन बमोजिम कायम गर्नुपर्ने सिआरआर तथा एसएलआरमा गणना गर्न सकिनेछ। यस प्रयोजनको लागि सिआरआरको अधिकतम २५ प्रतिशतसम्म मात्रै सुन निक्षेपको रुपमा गणना गर्न सकिने राष्ट्र बैंकले व्यवस्था गरेको छ।

सुन निक्षेपकर्ताको समेत अन्य निक्षेपकर्ताको जस्तै खाता खोल्दा ग्राहक पहिचानपत्रको सम्पूर्ण विवरण प्राप्त गरी अद्यावधिक गर्नु पर्नेछ। १० लाख रुपैयाँ वा सोभन्दा बढी रकम बराबरको सुन निक्षेपको अनिवार्य रुपमा स्रोत खुलाउनु पर्ने व्यवस्था छ।

सुन निक्षेप प्रमाणपत्रलाई सोही बैंकमा धितो राखी निक्षेपमा रहेको सुनको ७० प्रतिशतसम्म कर्जा लिन समेत सकिने राष्ट्र बैंकको निर्देशन छ। सुन निक्षेप तथा ढुकुटी व्यवस्थापन सम्बन्धमा बैंकको आन्तरिक लेखापरीक्षकबाट कम्तीमा अर्धवार्षिक रुपमा लेखापरीक्षण तथा सुन मौज्दातको भौतिक परीक्षण गराउनुपर्ने समेत राष्ट्र बैंकको व्यवस्था छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ