कांग्रेस विवाद सहमति तर्फ : महाधिवेशनको कार्यतालिका ल्याउन देउबा पक्ष तयार

2019-12-18

काठमाडौँ - १४औँ महाधिवेशनको कार्यतालिका ल्याउन कांग्रेस संस्थापन पक्ष तयार भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय समितिको बैठक बहिष्कार गरेपछि संस्थापन पक्ष ०७७ फागुनमा महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउन तयार भएको हो ।

दुई पक्षको वार्ता टोलीले निरन्तर छलफल गरी अब बस्ने केन्द्रीय समितिको बैठकमा महाधिवेशनको मिति तोकेर कार्यतालिका ल्याउने गरी विषय साँघुरिएको वार्ता टोलीका सदस्य हृदयराम थानीले जानकारी दिए । मंगलबार नेता प्रकाशमान सिंहको घरमा दुईपक्षीय वार्ता टोलीबीच छलफल भएको थियो । मंगलबार नै सिंहले नेता कृष्णप्रसाद सिटौलासँग पनि आफ्नै निवासमा छलफल गरेका थिए ।

‘हामी निरन्तर छलफलमा बसिरहेका छौँ । अघिल्लो दिनभन्दा राम्रै प्रगति भएको छ,’ पौडेल पक्षका वार्ता टोली सदस्य थानीले नयाँ पत्रिकासित भने, ‘हामीले मंसिरमै महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउन माग गरेका छौँ । तर, उहाँहरू (संस्थापन पक्ष) ०७७ फागुनको पहिलो हप्तासम्म १४औँ महाधिवेशन गर्ने गरी तालिका ल्याउन तयार हुनुहुन्छ ।’ कार्यतालिका तयारीका लागि अन्य विषयमा बुधबार दिउँसो बैठक बस्नुअघिसम्म अनौपचारिक सहमति भए केन्द्रीय समितिमा सहभागी हुने जानकारी थानीले दिए । सहमति नभए केन्द्रीय समितिमा आफूहरूको प्रवेश अझै केही दिन लम्बिने उनको भनाइ छ ।

पौडेल पक्षले कार्यतालिका ल्याउनैपर्ने दबाब दिएपछि संस्थापनले नियमित कार्यकालमा एक वर्ष थप गरेर ०७७ फागुनको पहिलो हप्तामा महाधिवेशन गर्न सकिने गरी लचकता देखाएको हो । कार्यतालिका ल्याउन संस्थापन पक्ष तयार देखिए मंसिरको अडानबाट फागुनमा महाधिवेशन गर्न पनि तयार रहेको पौडेलपक्षीय नेता बताउँछन् । तर, महाधिवेशनको कार्यतालिका घोषणाले मात्रै निर्धारित समयमा महाधिवेशन नहुने बुझाइ पौडेल र सिटौला पक्षको छ । क्रियाशील सदस्यको छानबिन, नवीकरण र नयाँ वितरणको काम तत्काल सुरु गर्नुपर्ने अडान उनीहरूको छ ।

उपसभापति एवं संस्थापनपक्षीय वार्ता टोलीका सदस्य विमलेन्द्र निधिले पनि छलफल सकारात्मक भएको जानकारी दिए । ‘हामी धेरै विषयमा सहमति नजिक छौँ,’ निधिले भने, ‘केन्द्रीय समितिको बैठकअघि विषयलाई टुंग्याउने गरी बुधबार पनि छलफलमा जुट्छौँ ।’ सदस्यताको विषय टुंग्याएर फागुनमा महाधिवेशन गर्न तयार भए मंसिरको अडानबाट पछाडि हट्ने तयारीमा पौडेल पक्ष छ । ‘महाधिवेशन गर्ने इमानदार प्रयास देखाएर सदस्यतासहितको विषयलाई तालिका बनाएर अघि बढ्न तयार भए हामी पनि लचिलो हुनुपर्छ,’ पौडेलपक्षीय एक नेताले भने, ‘यस्तोमा हामी पनि मंसिरमै गर्नुपर्छ भन्नेमा छैनौँ ।

संस्थापन पक्षका वार्ता टोली सदस्य विमलेन्द्र निधि भन्छन् ‘वार्ता टोली सदस्य छलफल सकारात्मक भएको छ । हामी धेरै विषयमा सहमतिनजिक छौँ । केन्द्रीय समितिको बैठकअघि विषयलाई टुंग्याउने गरी बुधबार पनि छलफलमा जुट्छौँ ।’

फागुनमा भए पनि महाधिवेशन गर्दा हुन्छ । अर्को पाँच महिना लम्ब्याउन हुँदैन भन्नेमा हामी छौँ ।’ ०७२ को १३औँ महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएको आगामी फागुनमा चार वर्ष पुग्दै छ । नियमित चार वर्षमा महाधिवेशन गर्नुपर्ने हुन्छ । तर, विशेष कारण देखाएर एक वर्ष थप गर्न पाउने व्यवस्था विधानले गरेको छ । यही व्यवस्थामा टेक्दै देउवा नेतृत्वको समितिको कार्यकाल एक वर्ष थप हुने भएको छ ।

भ्रातृसंस्था र विभागमा कुरा मिल्न बाँकी
नेविसंघ र तरुण दलको नेतृत्व चयन साथै विभाग गठनको विषय पनि कांग्रेसमा पेचिलो बनेको छ । संस्थापनले विधानमा व्यवस्था भएको २८ को सट्टा ४१ विभाग प्रस्ताव गरेपछि पौडेल र सिटौला पक्ष असन्तुष्ट बनेका हुन् । उनीहरूले विधानअनुसार नै २८ वटा मात्रै विभाग गठन गर्नुपर्ने लबिङ गरेका छन् । तर, संगठन, अन्तर्राष्ट्रिय सम्बन्ध, जनसम्पर्क, आर्थिक नीतिसहितका मुख्य विभागमा हिस्सा भए संख्या बढाउन पनि तयार रहेको सन्देश संस्थापनलाई दिइसकेको छ । संख्या थप गर्दा विभागीय संयोजक एवं सदस्यमा ६० र ४० प्रतिशतका आधारमा भागबन्डा हुनुपर्ने अडान उनीहरूले राखेको पौडेलनिकटका एक नेताले बताए ।

भ्रातृसंस्थामा हिस्सा बढाउन पौडेल पक्षबाट दबाब
पौडेल पक्षले नेविसंघ र तरुण दल दुवैमा नेतृत्व दाबी गरेको छ । नियमित समयमा महाधिवेशन गर्न संस्थापनपक्षीय नेतृत्व असफल भएको निष्कर्ष निकाल्दै सो समूहका नेताहरूले नेतृत्व नै दाबी गरेका हुन् । १४औँ महाधिवेशनको कार्यतालिकासहित विभाग र भ्रातृसंस्थाहरूको अधिवेशनसहितका विषयलाई प्याकेजमा नै टुंग्याउन संस्थापन पक्षलाई दबाब दिइरहेको पौडेल पक्षमा भ्रातृसंस्थाको पनि नेतृत्व लिन दबाब परेको छ ।

पौडेल पक्षले आफूनिकटका नेविसंघ र तरुण दलका नेताहरूसँग मंगलबार छुट्टाछुट्टै छलफल गरेको थियो । नेविसंघका नेताहरूसँगको छलफलमा नवीन्द्रराज जोशी, चन्द्र भण्डारी, बद्री पाण्डे, जीवन परियार, कल्याण गुरुङ र महेन्द्र शर्मासहितका नेता सहभागी थिए । नेविसंघका तर्फबाट मनोजमणि आचार्य, दीपक भट्टराई, हिमाल श्रेष्ठ, प्रकाश रानामगर, प्रतिमा गौतम, प्रमोदहरि गुरागाईं, उर्मिला थपलिया, नीलकण्ठ रिजाल, सागर परियार, नवीन राई, ललिता सुनुवार, साधना घिमिरे, गजेन्द्र कार्कीसहितका नेताहरू सहभागी थिए ।

पौडेल पक्षका वार्ता टोली सदस्य हृदयराम थानी भन्छन् ‘हामीले मंसिरमै महाधिवेशन गर्नेगरी कार्यतालिका ल्याउन माग गरेका छौँ । तर, उहाँहरू (संस्थापन पक्ष)०७७ फागुनको पहिलो हप्तासम्म १४औँ महाधिवेशन गर्ने गरी तालिका ल्याउन तयार हुनुहुन्छ ।’

सभापति शेरबहादुर देउवाको साथ रहे पनि नेविसंघ नेतृत्वले १२औँ महाधिवेशन गर्न नसकेको भन्दै अबको नेतृत्व आफ्नो पक्षले पाउने गरी लबिङ गर्न विद्यार्थी नेताहरूले पार्टी नेताहरूसँग आग्रह गरेको जानकारी केन्द्रीय सदस्य कल्याण गुरुङले दिए । ‘सभापतिको साथ हुँदा पनि अधिवेशन गराउन नसकेपछि अब नेतृत्व हामीले पाउनुपर्छ भन्ने उहाँहरूको कुरा आयो,’ गुरुङले भने, ‘नेविसंघमा ११औँ अधिवेशनमा ४६ प्रतिशत जितेका थियौँ । अब सभापतिसहित पदाधिकारी र केन्द्रीय समितिमा ४६ प्रतिशत हिस्साका लागि पार्टीले लबिङ गर्नुपर्छ भन्ने कुरा आएको छ ।’ महाधिवेशनको कार्यतालिकामा मात्रै चित्त बुझाएर नेविसंघमा नेतृत्वको दाबी नछोड्न पनि उनीहरूले नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

तरुण दलको पनि नेतृत्वमै दाबी
महामन्त्री डा. शशांक कोइरालाको निवास महाराजगन्जमा भएको तरुण दलको भेलामा नेतृत्वमा दाबी नछोड्न आग्रह गरेको निवर्तमान महासचिव भूपेन्द्रजंग शाहीले जानकारी दिए । ‘पहिले पनि अहिलेका सभापतिले तरुण दल र महिला संघको नेतृत्व भागबन्डाको आधारमा लिनुभएको थियो,’ शाहीले भने, ‘तर, अहिले महाधिवेशन हुन नसकेपछि हाम्रो पक्षले नेतृत्व लिनुपर्छ भन्नेमा साथीहरू हुनुहुन्छ । संस्थापन पक्ष सहमतिमा जान तयार नभए समानान्तर समिति गठन गरेर जानुपर्छ भन्नेमा हामीले नेताहरूलाई दबाब दिएका छौँ ।’

 


नयाँ पत्रिका




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ