नेकपा एकता : जनवर्गीय संगठनका केन्द्रीय समिति बनाउन सकस, कुनमा कस्तो अवस्था ?

2019-09-14

काठमाडौं - नेकपालाई जनवर्गीय संगठनका केन्द्रीय समिति बनाउन सकस परेको छ। पार्टी केन्द्रले तोकिदिएको सिलिङमा पूर्वएमाले र पूर्वमाओवादीतर्फका नेताको भागबन्डा मिलाउन अप्ठ्यारो परेको हो। कतिपय संगठनमा पूर्ववत् समूहको भागबन्डा मिले पनि नाम छनोट हुन सकेको छैन।

‘आआफ्ना पूर्ववत् समूहको संख्या टुंग्याएपछि त्यसभित्र नाम छनोटमा अप्ठ्यारो आइलागेको छ’, अनेरास्ववियुका एक नेताले अन्नपूर्णसँग भने, ‘नाम छनोटमा पूर्वसमूहको आन्तरिक संगठनमा रस्साकस्सी चलिरहेको छ।’

नेकपाका २२ जनसंगठन छन्। वकिल र इन्जिनियरको एकता भइसकेको छ। किसान महासंघको पनि एकता सकिएको छ। यी संगठनले ३ जेठमा संयोजक र सहसंयोजक पाएका थिए। दिनहुँजसो फ्याक्सन इन्चार्ज, सहइन्चार्ज, संयोजक र सहसंयोजकको छलफल चलिरहेको छ। राष्ट्रिय युवा संघ नेपालले बिहीबार मात्रै केन्द्रीय समितिको संख्या, त्यसमा भागबन्डा र जिल्ला अध्यक्षमा सहमति जुटाएको छ।

कतिपयमा पूर्वएमालेलाई पहिले रहेको संगठनमा केही संख्या थप गरेर केन्द्रीय समितिमा लैजानुपर्ने देखिएको छ। पूर्वमाओवादीतर्फका जनसंगठनलाई पहिले रहेको संख्या घटाएर लैजानुपर्ने बाध्यता छ। यसो गर्दा कसलाई थप्ने, कसलाई घटाउने भन्ने समस्या बनेको छ।

युवा संघको केन्द्रीय समिति ३३५ सदस्यीय बन्ने भएको छ। पार्टी केन्द्रले तोकेभन्दा ८४ सदस्य थप गरी भागबन्डा भएको हो। संघका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’का अनुसार पूर्वएमालेबाट १७६ र पूर्वमाओवादीबाट १५५ रहने समझदारी भएको छ। थप चार जना भने पछि मनोनयन गरिने उनले बताए। नौ सदस्यीय कार्यालयमा ५–४ को भागबन्डा भएको छ। १११ सदस्यीय सचिवालयमा ५७–५२ को सहमति भएको छ। ७७ जिल्लामध्ये ४२ मा पूर्वएमाले र ३५ मा पूर्वमाओवादीका युवा संगठनका नेताले नेतृत्व लिने सहमति छ। केन्द्रीय समितिमा रहने नेताको नाम छनोटको तयारी रहेको उनले बताए।

अनेरास्ववियुको समिति ३३५ सदस्यीय बन्नेछ। पूर्वएमालेलाई १८० र पूर्वमाओवादीलाई १५५ सदस्य भाग परेको छ। एमाले अखिललाई पहिलेको १५१ सदस्यबाट बढाएर १८० संख्या पुर्‍याउन सकस परेको छ। अखिल क्रान्तिकारीलाई २४३ बाट १५५ मा झार्नु छ। दुवैतर्फका विद्यार्थी नेता भागबन्डाअनुसार नाम छनोटमा व्यस्त छन्। संगठनका सहसंयोजक रञ्जित तामाङ १ असोजमा ग्रिस जाने भएकाले त्यसअगावै केन्द्रीय समिति टुंग्याउने तयारी रहेको अखिलका नेता बताउँछन्।

मजदुर संगठनले भने सिलिङमै रहेर बराबरी हैसियतमा एकताको तयारी गरेको छ। आगामी मे दिवससम्ममा तल्लो तहसम्मकै एकता प्रक्रिया टुंगो लगाउने कार्ययोजना बनाइएको सहसंयोजक जगत सिम्खडाले बताए। पूर्वमाओवादी पक्षले संगठनको नाम नेपाल टे«ड युनियन महासंघ (जिफन्ट) राख्नुपर्ने बताएको छ। यसमा अझै छलफल गरौं भन्ने प्रस्ताव पूर्वएमालेनिकट मजदुरको छ। महासंघअन्तर्गत आंगिक संगठन २२ वटासम्म हुन सक्ने गरी छलफल चलिरहेको छ।

नेपाल दलित मुक्ति संगठनको केन्द्रीय समिति संख्या बढाउन लबिङ चलिरहेको छ। उसलाई पार्टीले २५१ सदस्यीय समिति बनाउन भनेको छ। ५१ प्रतिशत पूर्वएमाले र ४९ प्रतिशत पूर्वमाओवादीबाट लिने समझदारी जुटेको संयोजक तिलक परियारले बताए। ‘केन्द्रीय समितिको संख्या टुंगिसकेको छैन। ५१–४९ प्रतिशतका आधारमा भागबन्डा लगाउने सहमति जुटेको छ’, उनले भने, ‘केन्द्रको संख्या बढाउन पार्टीसँग आग्रह गरेका छौं। त्यो टुंगिएपछि अरू निक्र्योल हुन्छ।’

नेपाल बुद्धिजीवी संगठनले १६१ को सिलिङभित्रै रहेर समिति गठनको तयारी गरेको छ। ‘संगठनमा ५५–४५ प्रतिशतका आधारमा भागबन्डा लगाउने सहमति गरेका छौं’, सहसंयोजक कृष्ण केसीले भने। उनका अनुसार केन्द्रीय कार्यालयले संख्या अपुग भए फ्याक्सनका नेताहरूसहितको सहमतिका आधारमा महासचिवसँग समन्वय गरी टुंगो लगाउन सर्कुलर गरेको छ। संख्या थप गराउने कि भन्नेमा छलफल चलिरहेको उनले बताए।

आदिवासी जनजाति महासंघले पूर्वएमालेबाट १३४ र पूर्वमाओवादीवाट ११७ जना रहने गरी २५१ सदस्यीय समिति बनाउन लागेको छ। महासंघको घटक संगनठहरूको संख्या र भागबन्डा टुंगो लगाएर मात्र केन्द्रीय समितिलाई अन्तिम रूप दिइने संयोजक सुरेश आले मगरले बताए। संख्यामा सहमति भए पनि नाम टुंग्याउन सकेको छैन।

अखिल नेपाल महिला संघले संगठनमा ५५–४५ को भागबन्डा गर्न खोजेको छ। सात प्रदेशमध्ये प्रदेश १, ३, ४ र ७ पूर्वएमाले र २, ५ र ६ पूर्वमाओवादीले नेतृत्व लिने गरी भागबन्डा भएको छ। केन्द्रीय समिति ३७५ को माग पार्टीसँग गरिरहेको छ। केन्द्रले २५१ को सिलिङ दिएको छ। ‘केन्द्रीय समितिको संख्या टुंगिएको छैन’, सहसंयोजक सीता पौडेलले भनिन्, ‘त्यो टुंगो लागेपछि विगत कार्यदलले बनाएको सहमतिअनुसार काम फत्ते हुन्छ।’

जनसांस्कृतिक महासंघ भने पार्टीले दिएको संख्याकै आधारमा टुंगो लगाउने तयारीमा छ। १५१ सदस्यीय समितिमा पूर्वमाओवादीबाट ७२ र पूर्वएमालेबाट ७८ जना रहनेछन्। आंगिक सात संगठनमध्ये पूर्वएमालेले चार र पूर्वमाओवादीले तीन लिने समझदारी भएको छ। कार्यालयका सट्टा २५ सदस्यीय निर्देशक समिति बनाउने तयारी महासंघको छ। त्यसो हुँदा निर्देशक समितिमा १३ र १२ को भागबन्डा लगाउने तयारी रहेको सहसंयोजक सरल सहयात्रीले बताए।


अन्नपुर्ण




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ