एनआरएन पोर्चुगलको नयाँ नेतृत्वमा नेकपा र कांग्रेस नजिकका उम्मेदवार आमनेसामने

2019-08-17

लिस्वन- गैरआवासीय नेपाली संघ, पोर्चुगलको सन् २०१९-२०२१सम्मको कार्यकालका लागि कांग्रेस र बामपन्थी समूहबीच प्रतिस्पर्धा हुन लागेको छ।

अध्यक्षमा कांग्रेस निकट नेपाली जनसम्पर्क समितिका तिलक गैरे र नेकपा निकट प्रवासी एकता मञ्चका ईश्वर रिजालले उम्मेदवारी दिएका छन्। गैरे वर्तमान समितिका वरिष्ठ उपाध्यक्ष हुन् भने रिजाल उपाध्यक्ष हुन्।

त्यस्तै, अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्यसहित अधिकांश पदमा दुवैतर्फबाट उम्मेदवारी परेको छ। आइसिसी सदस्य पदमा कांग्रेस निकट रवीन अधिकारी र नारायणकाजी मगरले उम्मेदवारी दिएका छन् भने नेकपासहितको गठबन्धनबाट गोविन्द सापकोटा र धनराज शेर्पाले उम्मेदवारी दर्ता गराएका छन्। पोर्चुगलबाट आइसिसीमा दुई सदस्य निर्वाचित हुनेछन्।

वरिष्ठ उपाध्यक्षमा भीमसेन थापा र आनन्द गुरुङ तथा उपाध्यक्षमा अशोक गुरुङ, गणेश पाण्डे, पेमछिरी शेर्पा र मच्छिन्द्र अर्यालले उम्मेदवारी दिएका छन्। वरिष्ठ उपाध्यक्षमा एक र उपाध्यक्षमा दुई जना निर्वा्चित हुनेछन्। महिला उपाध्यक्षमा भने जनसम्पर्क समितिकी सीता श्रेष्ठको मात्रै उम्मेदवारी परेको छ।

महासचिवमा जनसम्पर्क समितिका प्रकाश कडरिया, प्रवासी मञ्चका हेमराज सुवेदी र आदिवासी जनजाति महासंघका पेम्बागेलु शेर्पाले उम्मेदवारी दिएका छन्। दुई सचिवमा यामेन्द्रकुमार घर्ती र प्रकाश ढकालको मात्रै उम्मेदवारी परेको छ। घर्ती कांग्रेस निकट हुन् भने ढकाल मञ्च निकट हुन्। कोषाध्यक्षमा जनसम्पर्क समिति निकट बिक्रमजंग कुँवर र मञ्च निकट हरि थापाको उम्मेदवारी परेको छ। कुँवर वर्तमान समितिका सदस्य हुन्।

सह-कोषाध्यक्षमा भने तिलक कँडेलको मात्रै उम्मेदवारी परेको छ भने महिला संयोजकमा सुशीला थापा उम्मेदवार रहेकी छन्।

त्यस्तै, युवा संयोजकमा दिनेश भण्डारी र मिलन रेग्मी उम्मेदवार बनेका छन्। सदस्य पदमा १५ जनाको उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक अशोक घिमिरेले जानकारी दिए।

नेतृत्व चयनका लागि अगष्ट २५ मा निर्वाचन हुने जनाइएको छ। सहमतिको प्रयास विफल भएपछि दुवै पक्ष मुख्य पदमा प्यानलैसहित चुनावी मैदानमा उत्रिएका हुन्। अध्यक्ष पदका लागि पोर्चुगलमा निर्वाचन हुन लागेको पहिलो पटक हो। गत अधिवेशनमा केही पदका लागि निर्वाचन भए पनि अध्यक्ष, आइसिसी र महासचिव सर्वसम्मत चयन गरिएको छ।

कांग्रेस निकट जनसम्पर्क समिति एक्लै चुनावी मैदानमा छ भने प्रवासी मञ्चले आदिवासी जनजाति महासंघ र संघीय समाजवादी पार्टी निकट नेपाली समाजसँग गठबन्धन बनाएको छ।

जनसम्पर्क समिति विरुद्ध गठबन्धन बनेपनि समाजमा गरेको योगदान र बहुसंख्यक सदस्य रहेकाले मतपरिणाम जनसम्पर्क समितिकै पक्षमा आउने समितिका अध्यक्ष विनोद घिमिरेले बताए।

निर्वाचन समितिका अनुसार करिव २१ सय मतदाता रहेका छन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ