रोमाञ्चक खेलमा न्यूजिल्याण्डलाई हराउँदै इंग्ल्याण्डले पहिलो पटक उचाल्यो विश्वकप क्रिकेटको उपाधि

2019-07-15

काठमाडौँ - निर्धारित ५० ओभरको खेलमा बराबरी भएपछि सुपर ओभरमा गएको खेलमा पनि बराबरी भएपछि बाउण्ड्रीका आधारमा इंग्ल्याण्डले विश्वकप क्रिकेटको उपाधि जितेको छ ।

इंग्ल्याण्डले सुपर ओभर र निर्धारित ५० ओभरमा २२ चौका र २ छक्का प्रहार गरेको थियो भने न्यूजिल्याण्डले १४ चौका र २ छक्का प्रहार गरेको थियो । निर्धारित ५० ओभर र सुपर ओभर पनि बराबरी भएपछि बढी बाउण्ड्री हानेका आधारमा इंग्ल्याण्ड विश्वविजेता बनेको हो ।

न्यूजिल्याण्डले दिएको २४२ रन पछ्याउने क्रममा इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २४१ रन बनाएपछि खेल टाइ भएको थियो ।

सुपर ओभरमा इंग्ल्याण्डले पहिले ब्याटिङ गरेर १५ रन बनायो । सुपर ओभरमा इंग्ल्याण्डका लागि जस बटलर र बेन स्टोक्सले ब्याटिङ गरे । न्यूजिल्याण्डका लागि भने ट्रेन्ट बोल्टले बलिङ गरे ।

सुपर ओभरमा न्यूजिल्याडलाई जितका लागि १६ रन चाहिएको थियो । न्यूजिल्याण्डका लागि जेम्स निशाम र मार्टिन गप्टिलले ब्याटिङ गरे । जोफ्रा आर्चरले पहिलो बल वाइड फाले । त्यसपछि निशामले दुई रन लिए । त्यस्तै दोस्रो बलमा उनले छक्का हाने । तेस्रो र चौथो बलमा २–२ रन लिए । पाँचौँ बलमा निशामले एक रन लिए । अन्तिम बलमा गप्टिल रनआउट हुन पुगे र रोमाञ्चक खेल इंग्ल्याण्डले बढी बाउण्ड्री हानेका आधारमा जित्न पुग्यो ।

सुपर ओभरमा न्यूजिल्याण्डले १५ रन नै बनाएको थियो । तर इंग्ल्याण्डले बढी बाउण्ड्री हानेका कारण च्याम्पियन बन्यो । न्यूजिल्याण्ड अभागी टिम ठहरियो । निर्धारित ५० ओभरको खेलमा ट्रेन्ट बोल्टले दुई विकेट लिए पनि स्टोक्सले दुई छक्का प्रहार गरेर खेललाई सुपर ओभरमा लगेका थिए ।

इंग्ल्याण्डका ओपनर ब्याट्सम्यान जेसन रोय र जोनी बेयरस्टोले गतिलो सुरुवात गर्न सकेनन् । रोय २० बलमा १७ रन बनाएर आउट भए । त्यस्तै ५५ बलको सामना गरेका बेयरस्टोले मात्रै ३६ रन बनाएर आउट भए ।

त्यस्तै यसअघिका खेलमा राम्रो खेलेका जोय रुट पनि फाइनलमा जम्न सकेनन् । उनी ७ रनमै आउट भए । त्यस्तै ओयन मोर्गान पनि ९ रनमा पेभेलियन फर्किएपछि इंग्ल्याण्डको ब्याटिङ अर्डर धरमराएको थियो ।

इंग्ल्याण्डका लागि पाँचौँ र छैटौँ नम्बरमा ब्याटिङ गर्न आएका बेन स्टोक्स र जस बटलरबीच राम्रो साझेदारी भएको थियो । बटलर लोकी फर्गुसनको बलमा टिम साउथीबाट क्याचआउट भए । उनले ६० बलमा ६ चौकासहित ५९ रन बनाए । तर बेन स्टोक्सले उत्कृष्ट ब्याटिङ गरे पनि इंग्ल्याण्ड हारबाट जोगिएन ।

अन्तिम बलमा दुई रन चाहिएको अवस्थामा एक रन लिएर दोस्रो रन लिने क्रममा स्टोक्स रनआउट हुन पुगे । त्यसपछि भने खेल सुपर ओभरमा गएको थियो । स्टोक्सले ९८ बलमा ८४ रन बनाए ।

विश्वकपको इतिहासमा फाइनल खेल सुपर ओभरमा गएको यो पहिलो पटक हो ।

बलिङतर्फ जिम्मी निशम र लकी फर्गुसनले तीन-तीन विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले ५० ओभरमा आठ विकेट गुमाउँदै २४१ रन बनाएको थियो । खराब सुरुवात गरेको न्यूजिल्याण्डले पहिलो विकेट मात्र २९ रनमा गुमाएको थियो ।

तर दोस्रो विकेटका लागि केन विलियम्सन र हेनरी निकोल्सले गतिलो साझेदारी गर्न सफल भए । जसमा विलियम्सनले ३० रन बनाए भने हेनरीले ५५ रनको पारी खेले । त्यसपछि न्यूजिल्याण्डका लागि रोस टेलरले १५, टम लाथमले ४७ तथा जेम्स निशामले १९ रनको योगदान गरे । यस्तै ग्राण्डहोमले १६ रन थपे ।

इंग्ल्याण्डका लागि क्रिस वोक्स र लायम प्लंकेटले ३–३ विकेट लिए । त्यस्तै मार्क वुड र जोफ्रा आर्चरले एक–एक विकेट लिए ।

केनको रेकर्ड

केन विलियम्सनले कप्तानका रुपमा विश्वकपमा धेरै रन बनाउन १२ वर्ष पुरानो कीर्तिमान तोडेका छन् । यसअघि श्रीलंकन खेलाडी महेला जयबर्दनेले बनाएको ५४८ रनको रेकर्डलाई विलियम्सन तोड्न सफल भए । एकै विश्वकपमा धेरै रन बनाउने अब विलियम्सन पहिलो कप्तान बनेका छन् ।

आजको खेलपछि उनले कुल पाँच सय ७८ रन बनाएका छन । जसमा उनले १० पारी खेलेका छन । जयबर्दनेले २००७ को विश्वकपमा त्यो रेकर्ड बनाएका थिए ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ