नेकपाले 'जनताको जनवाद'लाई राजनीतिक कार्यदिशा बनाउने, यसभित्रको अन्तर्वस्तु चाही के हो ?

2019-06-30

काठमाडौं - सत्तारुढ नेकपाले जनताको जनवादलाई नै राजनीतिक कार्यदिशा बनाउने भएको छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली यसमा सहमत देखिएका छन्।

पार्टी सचिवालयको गत शनिबार बसेको बैठकमा राजनीतिक प्रतिवेदन प्रकाशन गर्नुपर्ने एजेन्डा छलफलमा आएपछि कार्यदिशाबारे विवाद देखिएको थियो। जनताको जनवाद कि जनताको बहुदलीय जनवाद (जबज) कुन मान्ने भन्नेमा नेताहरू दुई धारमा बाँडिएका थिए।

प्रधानमन्त्री ओलीले एकीकृत पार्टीको कार्यदिशा पुनर्लेखनको प्रस्ताव गर्दै जबजमा जोड दिएका थिए। तर, अर्का अध्यक्ष पुष्पकमल दाहाल एकता प्रक्रियामा भएको सहमतिभन्दा दायाँ-बायाँ नगरी त्यसलाई कार्यान्वयन गर्नुपर्ने पक्षमा उभिएका थिए।

पार्टी एकता गर्दा जबज र एक्काइसौं शताब्दीको जनवाद र माओवादलाई महाधिवेशनमा बहसमा लैजाने गरी स्थगन गरिएको थियो। तत्कालीन एमालेले जबज र तत्कालीन माओवादीले एक्काइसौं शताब्दीको जनवाद र माओवाद मान्दै आएका थिए। महाधिवेशनसम्म समाजवाद उन्मुख हुने गरी जनताको जनवादलाई राजनीतिक कार्यक्रम बनाएर जाने सहमतिमा एमाले र माओवादीबीच एकता भएको थियो।

संगठनात्मक विवादमा रुमल्लिरहेका बेला सचिवालय बैठकमा कार्यदिशाको किचलो बढेको थियो। त्यसपछि एक सातायता प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारमा पार्टीका शीर्ष नेतासँग एक्लाएक्लै संवाद गर्दै आएका थिए। उनले शनिबार भने जनताको जनवादलाई पार्टी कार्यक्रम बनाएर अघि बढ्ने धारणा सार्वजनिक गरेका हुन्। तत्कालीन एमाले महासचिव मदन भण्डारीको ६८ औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले गरेको कार्यक्रममा अर्का अध्यक्ष दाहालकै सामुन्ने ओलीले पार्टी कार्यक्रम जनताको जनवाद हुने बताए।

यद्यपि, उनले कार्यक्रमको नाम जे दिए पनि त्यसभित्रको अन्तर्वस्तु भने जबजकै हुने स्पष्ट पारे। ‘समाजवादसम्म पुग्ने सिद्धान्त जनताको बहुदलीय जनवादको अन्तर्वस्तुको हुन्छ’, उनले भने, ‘जनताको बहुदलीय जनवादकै विशेषताअनुसार पार्टी अघि बढ्छ। तर, हामीले कार्यक्रमको नाम जनताको जनवाद राखेका छौं। त्यही कार्यक्रम राखेर अघि बढ्छौं।’

वैचारिक बहस चर्किएको भनिएका बेला ओली र दाहाल दुवैले एकै मञ्चमा उभिएर सम्बोधन गरे। ओलीको अभिव्यक्ति आएपछि अब नेकपाको संक्रमणकालीन राजनीतिक कार्यदिशा जनताको जनवाद हुने देखिएको हो। नेकपाले जनताको जनवादको अहिलेसम्म व्याख्या गरेको छैन।

दाहालले भने विचार बनाउँदा गतिशीलता र सिर्जनशीलतालाई ध्यान दिनुपर्ने बताए। गत शनिबारको सचिवालय बैठकमा दस्ताबेज पुनर्लेखनसम्बन्धी प्रस्तावमा ओलीले जबजकै पक्षमा बोलेका थिए। जबज पक्षधर वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायतले भने सहमतिबाट पछि हटेर जान नसकिने भन्दै दाहाललाई साथ दिएका थिए। त्यसपछि अप्ठ्यारोमा परेका ओलीले नेपाल, खनाल, गौतमसहित ईश्वर पोखरेल, रामबहादुर थापालगायत नेतासँग छुट्टाछुट्टै छलफल गरेका थिए।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ