झन् बढ्यो बेरोजगारी : कोरिया जान १० हजार सिट, ८४ हजारले दिए परीक्षा

2019-06-10

काठमाडौँ - रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत रोजगारीका लागि दक्षिण कोरिया जान यस वर्ष ८४ हजार दुई सय १४ जना युवा भाषा परीक्षामा सहभागी भएका छन् । शनिबार र आइतबार काठमाडौंका २१, ललितपुरका सात र पोखराका चार गरी ३२ केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । सन् २०२० मा कोरिया जान गत चैतमा ९२ हजार तीन सय ५६ जनाले आवेदन परीक्षाका लागि आवेदन दिएका थिए । तीमध्ये उत्पादनमूलक क्षेत्रमा ६३ हजार तीन सय ७० जना र कृषि तथा पशुपालन क्षेत्रका लागि २८ हजार आठ सय ३४ जनाले आवेदन दिएका थिए । आवेदन दिनेमध्ये आठ हजार एक सय ४१ जना भने अनुपस्थित रहेको वैदेशिक रोजगार विभागको इपिएस शाखाले जनाएको छ ।

कोरियाको मानव संसाधन विभागका महानिर्देशकको नेतृत्वमा ९७ जनाको टोली परीक्षा सञ्चालन गर्न नेपाल आएको छ । जसमध्ये ७२ जनाले काठमाडौं तथा ललितपुरमा र बाँकी २५ जनाले पोखरामा परीक्षा सञ्चालन गरेका थिए । वैदेशिक रोजगार विभागको इपिएस शाखाले परीक्षाको सहजीकरण गरेको थियो । दुई दिनमा अर्काको नाममा परीक्षा दिएको आरोपमा एक सय ५६ जना कारबाहीमा परेका छन् ।

भाषा परीक्षाका लागि उत्पादनमूलक क्षेत्रको पूर्णांक सय र कृषि तथा पशुपालन क्षेत्रतर्फ ९० पूर्णांकको परीक्षा लिइएको हो । जसमा सुनाइ र पढाइमा २०÷२० गरी ४० प्रश्न समावेश गरिएको थियो । उत्पादनमूलक क्षेत्रतर्फ ४७ दशमलव पाँच र कृषि तथा पशुपालनतर्फ ३६ अंक ल्याउनेमध्ये उच्च अंक प्राप्त गर्नेबाट भाषा परीक्षामा उत्तीर्ण छनोट गरिने इपिएस शाखाका निर्देशक कृष्ण खनालले जानकारी दिए ।

भाषा परीक्षामा पास हुँदैमा कोरिया जान पाउने ग्यारेन्टी भने नहुने इपिएस शाखाले स्पष्ट पारेको छ । त्यसका लागि सीप परीक्षा अनिवार्य रूपमा पास हुनुका साथै रोजगारदाता छनोटमा समेत पर्नुपर्ने निर्देशक खनाल बताउँछन् । भाषा परीक्षा पास गरेको दुई वर्षसम्म जाने सम्भावना भने रहन्छ । १८ देखि ३९ वर्षसम्मका युवाले इपिएस प्रणालीमार्फत कोरिया जान आवेदन दिन सक्ने व्यवस्था छ । सन् २००७ मा नेपाल सरकार र कोरिया सरकारबीच भएको द्वीपक्षीय सम्झौताका आधारमा सन् २००८ देखि इपिएस प्रणालीमार्फत नेपाली युवा कामका लागि कोरिया जान थालेका हुन् ।

यस वर्षदेखि कोरिया जान कामदारले भाषाका अलावा सीप परीक्षामा समेत सहभागी हुनुपर्नेछ । उत्पादनमूलक क्षेत्रतर्फ सय पूर्णांकको भाषा परीक्षाबाहेक सय पूर्णांककै सीप परीक्षा हुनेछ । कृषि तथा पशुपालन क्षेत्रतर्फ ९० अंकको भाषा र एक सय १० पूर्णांकको सीप परीक्षा लिइनेछ । यसरी समग्रमा यस वर्षको इपिएस परीक्षा दुई सय पूर्णांकको हुनेछ ।
भाषा तथा सीप परीक्षामा सहभागी हुनेमध्येबाट उत्पादनमूलक क्षेत्रतर्फ सात हजार ५० र कृषि तथा पशुपालनतर्फ तीन हजार गरी अनुमानित १० हजार ५० जना छनोट हुनेछन् । यद्यपि कामदारको मागअनुसार उत्तीर्ण हुनेको संख्या घटबढ हुन सक्ने इपिएस शाखाका निर्देशक खनालले जनाए ।

भाषा परीक्षामा उत्तीर्ण परीक्षार्थीले दोस्रो चरणको सीप परीक्षण र कम्पिटेन्सी टेस्टमा समेत उत्तीर्ण भएपछि मात्र रोजगार आवेदन फारम भर्न सक्नेछन् । कोरियाले इपिएस प्रणालीमार्फत नेपालसहित १६ देशबाट विदेशी कामदार लैजाँदै आएको छ । हालसम्म इपिएस प्रणालीमार्फत नेपालबाट करिब ६० हजार कामदार कोरिया गएका छन् । चार वर्ष १० महिनाका लागि कोरियामा काम गर्ने अनुमति दिइने भए पनि फर्किएकाको तथ्यांक व्यवस्थित नहुँदा हाल त्यहाँ कार्यरत नेपालीको संख्या भने यकिन गर्न सकिने अवस्था छैन ।
भाषा परीक्षाको नतिजा आगामी १३ असारमा प्रकाशित हुनेछ । नतिजा इपिएस कोरियाको अनलाइनबाट नै हेर्न सकिने बताइएको छ । इपिएस शाखाका निर्देशक खनालले भाषा परीक्षाको नतिजा प्रकाशन भएपछि मात्र सीप परीक्षाको तालिका सार्वजनिक गरिने बताए ।

इपिएस परीक्षा सञ्चालन भएका काठमाडौं, ललितपुर र पोखराका ३२ वटा परीक्षा केन्द्रमा दुई हजार एक सयको संख्यामा जनशक्ति परिचालन गरिएको थियो । हरेक परीक्षा केन्द्रमा ३७ जना सुरक्षाकर्मी परिचालन गरिएको थियो । यस्तै, प्रत्येक परीक्षा केन्द्रमा सहजकर्ताका रूपमा तीनजनाका दरले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कर्मचारी खटाएको थियो । इपिएस कार्यालयका १६ जना कर्मचारी पनि परीक्षा सहजीकरणमा खटिएका थिए । परीक्षा केन्द्र रहेको विद्यालयले प्रतिकोठा दुईजनाका दरले गार्ड उपलब्ध गराएका थिए भने परीक्षको अनुगमनका लागि वैदेशिक रोजगार विभागका महानिर्देशकसहितका उच्च अधिकारीसमेत खटिएका थिए ।

रोजगारीका लागि कोरिया जाने सपना बोकेका बेरोजगार नेपाली युवाले भाषा सिक्न मात्रै वर्षमा नौ अर्ब रुपैयाँ खर्च गर्छन् । काठमाडौं उपत्यका, पोखरालगायत ठूला सहरमा भाषा सिकाउने इन्स्टिच्युटहरू सञ्चालनमा छन् । त्यस्ता इन्स्टिच्युटले एकजना युवाबाट एक वर्षको कोर्स पढाएबापत औसत २० हजार रुपैयाँ लिन्छन् । यस हिसाबले ९२ हजार आवेदकबाट एक अर्ब ८५ करोड रुपैयाँ उठाउँछन् । यस्तै, भाषा कक्षाका लागि सहरमा बस्न, भाडा तिर्न र घरबाट आवत–जावत गर्न उनीहरूलाई कम्तीमा एक वर्षमा ८० हजार रुपैयाँ लाग्छ ।

यसरी सहर बसाइ, यातायात र भाषा कक्षाबापत उनीहरूले कम्तीमा एक लाख खर्च गर्नुपर्छ । यसपालिको हिसाब गर्दा पनि ९२ हजार युवाका लागि एक लाख रुपैयाँका दरले नौ अर्ब २० करोड खर्च भएको छ । तर, यसरी खर्च गर्नेमध्ये १० प्रतिशत अर्थात् नौ हजारले मात्र कोरियाको रोजगारी पाउनेछन् । ८० हजार युवा निराश हुनुपर्नेछ ।

खासमा भाषा सिकाइ निःशुल्क हुनुपर्ने हो, यत्रो युवा बेरोजगार हुँदा राज्यलाई चिन्ता छैन
दीपेन्द्रविक्रम थापा,पूर्वश्रमसचिव
वास्तवमा कोरियन भाषाको तालिम निःशुल्क हुनुपर्ने थियो । सरकारले नै भाषाको तालिम दिन सम्भव छैन । यस्तो अवस्थामा सीपका आधारमा युवाहरू छानेर कोरियाले उतै लगेर भाषा सिकाउने उपाय उत्तम हुन सक्थ्यो । तर, उनीहरूलाई पनि लगेर सोझै काममा लगाउनु सजिलो हुने होला । अहिले थोरै संख्यामा जान्छन् । बढी असफल भइरहेका हुन्छन्, असफल हुनेको पैसा र एक वर्षको ऊर्जा त्यसै खेर गइरहेको छ । खाडी, मलेसिया जाने ओइरो झन् ठूलो छ । आन्तरिक रोजगारी पर्याप्त नहुँदा यस्तो समस्या आएको हो । हामीसँग शिक्षा प्रणाली पनि उद्यमशीलतातर्फ निर्देशित छैन । राज्यको लगानी पनि एकदमै न्यून छ । यदि राज्यले त्यसतर्फ उचित ध्यान दिन सकेको भए युवाहरू वैदेशिक रोजगारीमा लगाउने खर्च र मिहिनेत स्वरोजगारमै लगाइरहेका हुन्थे ।

सन् २००९ र २०१२ मा परीक्षा भएन तर अघिल्लो वर्ष पास भएका युवा गए
पछिल्लो चार वर्षको रेमिट्यान्स
०७१/७२ : १ अर्ब ७५ करोड ६५ लाख
०७२/७३ : दुई अर्ब ९१ करोड ६२ लाख
०७३/७४ : पाँच अर्ब ३३ करोड ७६ लाख
०७४/७५ : १६ अर्ब ८७ करोड ९० लाख

 

 

नयाँ पत्रिका




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ