कांग्रेसको जागरण अभियान : पहिले आफैँ जागृत हुन नेतृत्वलाई कार्यकर्ताको सुझाव !

2019-06-09

काठमाडौँ - प्रमुख प्रतिपक्षी दल कांग्रेसको एकमहिने राष्ट्रिय जागरण अभियान सकिएको छ । तर, पार्टीभित्रको असन्तुष्टि र नेताहरूबीचको विमति उस्तै छ । आन्तरिक संगठन सृदृढीकरण र सरकारविरुद्ध भण्डाफोर गर्ने भन्दै थालेको पहिलो चरणको अभियान शनिबार समापन भएको हो ।

स्थानीय तह, प्रदेश सभा र संघीय संसद्को निर्वाचनमा कमजोर बनेपछि कांग्रेसले संगठन सुदृढीकरणको योजना ल्याएको थियो । त्यसैअन्तर्गत उसले नेता, कार्यकर्ता र नागरिक तहमा पार्टीप्रति विश्वास पैदा गर्ने भन्दै देशदेखि विदेशसम्म अभियान लगेको थियो । तर, कार्यक्रमले अपेक्षित सफलता पाउन नसकेको नेताहरूले नै टिप्पणी गरेका छन् ।

‘पार्टीको आदेशमा साथीहरू जिल्ला जानुभएको छ,’ युवा नेता गगन थापाले भने, ‘तर सन्तुष्टि छैन, साथीहरूले असन्तोषबीच काम गर्नुभएको छ । भ्रातृसंस्थाहरूको अधिवेशन नहुँदा सबैतिर अन्योल छ ।’ प्रवक्ता विश्वप्रकाश शर्माले भने जागरण अभियानले कांग्रेसले गति लिएको दाबी गरे । ‘चुनावको परिणामपछि ग्यारेजमा थन्किएको गाडीजस्तो कांग्रेस जागरणपछि ‘स्टार्ट’ भएको छ । दोस्रोे चरणमा यो गाडी हाइवेमा आउँछ, तेस्रो चरणमा गन्तव्यका लागि गति लिन्छ ।’

अभियानमा कांग्रेसले केन्द्रीय सदस्य र केन्द्रीय नेतालाई ७७ वटै जिल्लामा प्रतिनिधिका रूपमा खटाएको थियो । यसमा संगठनको अवस्था बुझ्ने, कांग्रेसको प्रयासमा भएका राजनीतिक उपलब्धि बुझाउने, गर्नुपर्ने कामको विषयमा कार्यकर्ता र नागरिकको सुझाब लिने भनिएको थियो । २५ वैशाखदेखि कार्यक्रम सुरु गरी स्थानीय तहसम्मै जागृत गराउन पुगेका केन्द्रीय प्रतिनिधिलाई कार्यकर्ताले पहिले आफैँ जागृत हुन नेतृत्वलाई उल्टै आग्रह गरेका छन् ।

जागरण अभियानमा पनि गुटगत प्रभाव
केन्द्रीय प्रतिनिधि खटाउँदा सबै गुटलाई सन्तुलन मिलाएरै पठाइएको थियो । तर, गुटगत आधारमै नेताहरूले अनुभव बाँड्ने र प्रतिक्रिया दिने गरेका छन् । पार्टी सभापतिनिकट नेताहरूले जागरण अभियानले नेता, कार्यकर्ता र जनतामा विश्वास पैदा गरेको भन्दै बचाउ गरे भने नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्ष भने कार्यक्रमको स्वरूपमै असन्तुष्ट देखिए । आफूलाई खटाएको जिल्लामा पुगेर अभियानमा सक्रिय भए पनि अभियानका समयको सान्दर्भिकता सही नभएको भन्दै उनीहरूले नेतृत्वको आलोचना गरे ।

पार्टीले संघीय संरचनायुक्त विधान बनाए पनि प्रदेश समिति, प्रदेश निर्वाचन क्षेत्रीय समिति, बुथ समिति, गाउँपालिका र नगरपालिकाका संरचना नबनाएको, २४० बाट निर्वाचन क्षेत्रीय समिति १६५ मा झार्न नसकेको भन्दै आलोचना भएको छ । कार्यकर्तालाई जागृत गराउन पुगेका नेताहरूले गाउँ–गाउँमा पहिले आफैँ जागृत बन्न, गुटभन्दा माथि उठ्न, संगठनलाई व्यवस्थित बनाउन सुझाब पाएका छन् । नेताहरूलाई कार्यकर्ताले हामी शेरबहादुर, रामचन्द्र, शशांक वा सिटौला कसको कांग्रेस हुने भनेर उल्टै प्रश्नको सामना गर्नुपरेको छ । कांग्रेसमा गुटगत राजनीति संस्थागत रूपमा कसरी झाँगिएको छ भन्ने प्रमाण हो यो । केही दिनअघि काठमाडौंमा सभापति शेरबहादुर देउवा स्वयं उपस्थित कार्यक्रममा कार्यकर्ताले खुलेरै हामी कुन नेताको कांग्रेस हुने भन्दै प्रश्न उठाएका थिए ।

दोस्रो र तेस्रो चरण भदौ र पुसमा : जागरण अभियानको दोस्रो चरण २४ भदौदेखि ७ असोजसम्म ३३० प्रदेश निर्वाचन क्षेत्रमा र तेस्रो चरण ७ देखि १६ पुससम्म ७५३ स्थानीय तहमा हुनेछ ।

 


नयाँ पत्रिका




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ