नेकपा नेताको जिम्मेवारी आज तोकिँदै, मुख्य कुन बिभाग कसलाई ?

2019-06-04

काठमाडौं - सत्तारुढ नेकपाले पार्टी एकताको एक वर्षपछि केन्द्रीय नेताहरूको कार्यविभाजन गर्दै छ। यसका लागि मंगलबार दिउँसो सचिवालय बैठक बस्ने महासचिव विष्णु पौडेलले बताए। संगठनात्मक एकीकरणका बाँकी काम बैठकका एजेन्डाका रूपमा राख्दै कार्यविभाजनको निर्णय लिइने उनको भनाइ छ।

‘मंगलबार दिउँसो ३ बजे सचिवालय बैठक बस्दै छ’, महासचिव पौडेलले अन्नपूर्णसँग भने, ‘संगठनात्मक एकीकरणका बाँकी कामका विषयमा निर्णय लिन्छौं।’ प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली यही जेठ २५ मा नौ दिनका लागि युरोप भ्रमणमा जान लागेका छन्। त्यही भएर नेकपाले कार्यविभाजन टुंग्याउन लागेको हो। यसबारे दुई अध्यक्ष ओली र पुष्पकमल दाहालले आइतबारदेखि दुई दिन ‘वन टु वन’ छलफल गरेका थिए। उनीहरूले वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव पौडेल र सचिवालय सदस्य रामबहादुर थापासँग पनि एक्लाएक्लै अनि संयुक्त रूपमा छलफल चलाए।

महासचिव पौडेलले कार्यविभाजन प्रस्ताव तयार पारी दुई अध्यक्षलाई बुझाएका थिए। अध्यक्षद्वयले चरण-चरणमा छलफल गरेपछि प्रस्ताव सचिवालयमा पेस गर्न लागिएको हो। संगठन, स्कुलिङ, विदेश मामिला, प्रचार तथा प्रकाशन विभागको जिम्मेवारी हात पार्न नेताहरू लागेका थिए। त्यसैले कार्यविभाजन टुंग्याउन नेतृत्वलाई सकस परेको थियो। संगठन विभाग हाँक्न नेताहरू वामदेव गौतम, रामबहादुर थापा र ईश्वर पोखरेल आकांक्षी छन्। स्कुलिङमा पनि पोखरेलसहित नारायणकाजी श्रेष्ठ, झलनाथ खनाल, आर्थिकमा महासचिव पौडेलको नाम चर्चामा छ। विदेश मामिलामा वरिष्ठ नेता नेपालको नाममा सहमतिजस्तै बनेको छ।

नेकपामा ३२ विभाग छन्। मुख्य-मुख्यमा सचिवालय सदस्यलाई जिम्मा दिने तयारी रहेको स्रोतको भनाइ छ। अर्थ तथा योजना, प्रचार तथा प्रकाशन, प्रादेशिक मामिला, पार्टी स्कुलिङ, राजकीय मामिला तथा सुशासन, विदेश मामिलाजस्ता विभाग महत्वपूर्ण छन्।

पोलिब्युरो गठन धकेलियो

नेकपाको पोलिटब्युरो गठन भने तत्काल नहुने भएको छ। ‘पोलिटब्युरो गठन नगर्ने भन्ने होइन। त्यसमा अलिकति छलफल गर्न बाँकी छ’, महासचिव पौडेलले भने। केन्द्रीय समितिको एकतिहाइ अर्थात् १ सय ४७ जनाको पोलिटब्युरो गठन गर्ने तयारी छ। त्यसका लागि तत्कालीन एमालेबाट ८१ र माओवादीबाट ६६ नेता रहने गरी अध्यक्षद्वय ओली र दाहालले भागबन्डासमेत गरेका छन्। त्यसअनुसारको नाम चयनमा सहमति जुटाउन नसक्दा पोलिटब्युरो गठन अड्किएको हो।

७७ जिल्ला इन्चार्ज तोकिँदै

बैठकले भूगोलका ७७ वटै जिल्लाका इन्चार्जको टुंगो लगाउने तयारी पनि छ। त्यसका लागि वरिष्ठतालाई आधार बनाइएको छ। तत्कालीन एमाले अध्यक्ष रहेको जिल्लामा माओवादी र माओवादी अध्यक्ष रहेको जिल्लामा एमाले पृष्ठभूमिका नेतालाई सकभर इन्चार्ज तोक्ने तयारी छ। तर, केही जिल्लामा एकै पृष्ठभूमिका अध्यक्ष र इन्चार्ज हुने गरी पनि केन्द्रीय समिति सदस्यको वरिष्ठतालाई आधार बनाएर कार्यविभाजन प्रस्ताव तयार पारिएको स्रोतले बताएको छ।

२ जेठपछि सचिवालय बैठक बस्न सकेको छैन। ५ जेठ र १८ जेठमा बैठक बोलाइएको थियो। नेताहरूले आन्तरिक गृहकार्य नसकेको भन्दै बैठक सारेको सार्‍यै गरेका थिए। सोमबार बस्ने भनिएको बैठक पनि मंगलबारका लागि सारिएको थियो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ