१३ खर्बको बजेटमा विकासका लागि जम्मा एक खर्ब मात्रै खर्च

2019-05-16

काठमाडौँ - आर्थिक वर्षको १० महिनामा नेपाल सरकारले बजेटको आधा अर्थात् ५० प्रतिशत मात्रै खर्च गरेको छ । चालू आर्थिक वर्षको संघीय बजेट १३ खर्ब १५ अर्ब १६ करोडमध्ये वैशाख मसान्तसम्म जम्मा ६ खर्ब ६१ अर्ब ९७ करोड मात्रै खर्च भएको हो । सरकारले मध्यावधि समीक्षामार्फत बजेटमा संशोधन गरी ११ खर्ब ९९ अर्ब १५ करोड २५ लाख रुपैयाँ मात्रै खर्च हुने लक्ष्य तय गरेको छ । आर्थिक वर्षको १० महिनामा त्यसको पनि जम्मा ५५ दशमलव २ प्रतिशत मात्रै खर्च भएको छ । यसको अर्थ चालू आर्थिक वर्ष ०७५/७६ सम्पन्न हुन ६३ दिनमा करिब साढे पाँच खर्ब रुपैयाँ खर्च गर्नुपर्नेछ ।

दुईतिहाइ बहुमतसहितको बलियो सरकारले ल्याएको बजेट खर्च गत आर्थिक वर्षको तुलनामा पनि कमजोर देखिएको छ । गत आर्थिक वर्षको वैशाख मसान्तसम्म सुरु अनुमानको ५९ प्रतिशत बजेट खर्च भएको थियो । त्यस वर्ष १२ खर्ब ७८ अर्ब ९९ करोड रुपैयाँको बजेट ल्याएकोमा १० महिनामा सात खर्ब ५६ अर्ब ३६ करोड बजेट खर्च भएको थियो ।

दैनिक आठ अर्ब ५२ करोड खर्च गर्नुपर्ने
०७६ को असार मसान्तभित्र चालू आर्थिक वर्षको बजेट खर्च गरिसक्ने हो भने दैनिक आठ अर्ब ५२ करोड ६६ लाख रुपैयाँ खर्च गर्नुपर्नेछ । सार्वजनिक बिदा, पर्वलगायतलाई कटाउने हो भने खर्चको दर दैनिक झन्डै नौ अर्ब रुपैयाँ पुर्‍याउनुपर्नेछ । तर, १० महिना अर्थात् तीन सय दुई दिनमा गरिएको खर्चको दर हेर्दा यो लक्ष्य पूरा हुन देखिँदैन । अहिलेसम्मको प्रगति हेर्दा दैनिक दुई अर्ब १९ करोड १९ लाख रुपैयाँ खर्च भइरहेको देखिन्छ । यस आधारमा अब असार मसान्तभित्र बाँकी बजेट खर्च गर्न दैनिक बजेट खर्च गर्ने दर झन्डै चार गुणाले वृद्धि गर्नुपर्ने हुन्छ ।

कुल विनियोजित बजेटलाई आधार मान्ने हो भने खर्चको अवस्था अझ भयावह देखिन्छ । कुल विनियोजित बजेटको अहिलेसम्म ५० दशमलव ३३ प्रतिशत मात्र खर्च भएको छ । यसको अर्थ दुई महिनामा बाँकी ४९ दशमलव ६७ प्रतिशत बजेट खर्च गर्नुपर्ने अवस्था हुने थियो । सरकारले चालू आवमा १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट ल्याएकोमा मध्यावधि समीक्षामार्फत ११ खर्ब ९९ अर्ब १५ करोड २५ लाख रुपैयाँ मात्र खर्च गर्ने अनुमान गरेको छ ।

चालू बजेट ६२ र पुँजीगत बजेट ४५ प्रतिशत
आर्थिक वर्ष ०७५/७६ को बजेटको अर्धवार्षिक समीक्षाले गरेको संशोधित अनुमानअनुसार चालू बजेट सात खर्ब ९८ अर्ब ४४ करोड ६ लाख खर्च गर्ने लक्ष्य निर्णारण गरेको छ । यसअनुसार ३१ वैशाखसम्ममा चार खर्ब ९५ अर्ब ८६ करोड ३५ लाख रुपैयाँ खर्च भएको छ । यो संशोधित अनुमानको ६२ दशमलव १० प्रतिशत हो ।

चालू बजेटको तुलनामा पुँजीगत (विकास) बजेट खर्चको अवस्था अझ निराशाजनक छ । संशोधित अनुमानले पुँजीगत खर्च दुई खर्ब ६५ अर्ब २६ करोड ५७ लाख रुपैयाँ तोकेको छ । तर, आवको १० महिना (३१ वैशाख) सम्ममा एक खर्ब १९ अर्ब ४६ करोड ५२ लाख रुपैयाँ खर्च भएको छ । अझै एक खर्ब ४५ अर्ब ८० करोड पाँच लाख रुपैयाँ खर्च हुन बाँकी छ । यसको अर्थ १० महिनामा लक्ष्यको ४५ प्रतिशत मात्र पुँजीगत बजेट खर्च भएको छ ।

१० महिना (तीन सय दुई दिन)मा भएको पुँजीगत खर्चको दरलाई हेर्दा दैनिक ३९ करोड ५५ लाख रुपैयाँ खर्च भएको देखिन्छ । बाँकी रहेका ६३ दिनमा दैनिक दुई अर्ब ३१ करोड ४२ लाख खर्च गर्दा मात्र संशोधित विकास बजेट चालू आर्थिक वर्षभित्र खर्च हुन सक्छ ।

दोहोरिँदै छ असारे विकास
आधा दशकको तथ्यांक हेर्दा अन्तिम दुई महिना ४० देखि ५० प्रतिशत र अन्तिम महिनामा मात्रै करिब एकचौथाइ बजेट खर्च हुने प्रवृत्ति देखिन्छ । गत आर्थिक वर्षमा पनि करिब ४० प्रतिशत खर्च अन्तिम दुई महिनामा भएको थियो । त्योभन्दा खराब अवस्था चालू आर्थिक वर्षमा देखिएको छ । आगामी दुई महिनामा मात्रै ५५ प्रतिशत पुँजीगत खर्च गर्नुपर्ने अवस्थामा सरकार छ । यसले चालू आवमा पनि असारे विकास मोडल नै दोहोरिनेछ । नेपालमा बजेट सक्नका लागि जेठ र असारमा धमाधम काम हुँदा कामको गुणस्तर र प्रभावकारितामा प्रश्न उठ्ने गरेको छ । यसलाई असारको भेलमा बजेट बगाएको भनेर पनि विश्लेषण गरिन्छ ।

राजस्व संकलन पनि कमजोर
आर्थिक वर्षको १० महिना अर्थात् ८३ प्रतिशतभन्दा बढी समय सकिँदा राजस्व संकलन लक्ष्यको जम्मा ६४ प्रतिशत मात्रै भएको छ । संघीय सरकारले चालू आर्थिक वर्षमा आठ खर्ब ३१ अर्ब ३१ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको छ । तर, वैशाख मसान्तसम्म जम्मा पाँच खर्ब ३२ अर्ब ४५ करोड रुपैयाँ मात्रै राजस्व उठेको हो ।

बजेटमा तयारी नै नभएका आयोजना राखेपछि खर्च हुँदैन : सुरेन्द्र पाण्डे
पूर्वअर्थमन्त्री
सानातिना आयोजना, वल्लो गाउँबाट पल्लो गाउँ जोड्ने आयोजनामा बजेट खर्च भइरहेको छ । यस्ता परियोजनमा कुनै गुणस्तर र दक्षता आवश्यक पर्दैन र देखाउनका लागि मात्र गरिने काममा खर्च भइरहेको छ । तर, एक–दुई सय किलोमिटर सडकजस्ता ठूला–ठूला आयोजनामा खर्च भइरहेको छैन । यो समस्याका रूपमा रहेको छ । यस्ता आयोजनाको सम्पादन राम्रोसँग भइरहेको छैन । तयारीविना नै बजेट राख्ने गरिएको छ । तयारी पूरा भएपछि मात्र बजेट विनियोजन गर्ने हो भने धेरै हदसम्म बजेट खर्च नहुने समस्या रहँदैन ।

बजेटमा गम्भीरता भएन, हावादारी कुरा भएको छ त्यसैले कार्यान्वयन भएन : प्रा.डा. गोविन्दराज
पोखरेल, पूर्वउपाध्यक्ष, राष्ट्रिय योजना आयोग
सरकारले ठूलो नारा ल्याउने काम मात्र गर्‍यो । प्रणालीमा काम गर्नेतिर गएन । धेरै बजेट छुट्याइएका आयोजनामा समस्या देखिए तत्काल समाधान गर्ने काम आर्थिक वर्षको थालनीबाटै हुनुपथ्र्यो । त्यसो हुन सकिरहेको छैन । बजेटमा गम्भीरता भएन, हावादारी कुरा भएको छ । यस्तो योजना निर्माण गर्ने र उस्तो योजना निर्माण गर्ने भनेर उल्लेख गरिन्छ । तर, योजना त घोषणा हुनेबित्तिकै निर्माण हुने विषय होइन । तयारी पूरा भएपछि निर्माणमा जान्छ । तर, संक्रमणकालमा जे अवस्था थियो । अहिले पनि परिवर्तन आएन ।

तीन तहका सरकारबीचको अलमलले बजेट कार्यान्वयनमा ढिलासुस्ती : उत्तरकुमार खत्री, प्रवक्ता, अर्थ मन्त्रालय
पहिलो, यस वर्ष संघीय संरचनाअनुसार हामी आयोजनालाई कार्यान्वयनमा गति दिने विषयमा अलमलमा परेकै हौँ । कुन आयोजना कुन सरकारले कार्यान्वयन गर्ने भन्ने अलमलका कारण ढिलासुस्ती भयो । दोस्रो, कर्मचारी समायोजनको विषयले पनि समय लियो । यसले पनि काम गर्न सहज भएन । आयोजना केन्द्रमा हुँदा कर्मचारी प्रदेश र स्थानीय तहमा हुने, आयोजना प्रदेश तथा स्थानीय तहमा पुग्दा कर्मचारी केन्द्रमा भएका कारण पनि आयोजना कार्यान्वयनमा समस्या भयो । तेस्रो, कारण भने यस वर्ष कानुन मस्यौदा गर्नुपर्ने जिम्मेवारी पनि थियो । संविधानमा व्यवस्था भएअनुरूपका कानुन निर्माण गर्नैपर्ने बाध्यकारी व्यवस्थाका कारण त्यसमै अलमल हुँदा काम हुन सकेन । चौथो कारण भने वैदेशिक सहायतामा सञ्चालन भएका आयोजनाको शोधभर्ना लिने प्रक्रियामा ढिलाइ हुँदा पनि खर्चमा समस्या भयो ।

 

नयाँ पत्रिका




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ