घटेन बैंकको ब्याजदर, ऋणी मर्कामा !

2019-05-06

काठमाडौँ - चर्को ब्याजका कारण उद्योग–व्यवसाय सञ्चालनमा कठिन भएको भन्दै निजी क्षेत्रले कर्जाको ब्याजदर घटाउन आन्दोलन नै ग¥यो । व्यवसायीले ब्याजदर घटाउन सरकारलाई अल्टिमेटमसमेत दिए । सोहीकारण अर्थ मन्त्रालयले ब्याजदरलगायत समस्या समाधान गर्न अध्ययन कमिटी बनाएर त्यसको सुझाब कार्यान्वयनका लागि सम्बन्धित निकायलाई निर्देशन पनि दियो । तर, आर्थिक वर्ष सकिएको ९ महिना बितिसक्दा पनि ब्याजदर घट्न सकेन ।

बैंकहरूले तेस्रो त्रैमासको वित्तीय विवरण धमाधम प्रकाशन गरिरहेका छन् । वित्तीय विवरणले बैंकहरूको आधारदर (बेसरेट) केही बिन्दु प्रतिशतले घटेको देखाउँछ । तर, अपेक्षित रूपमा बेसरेट घट्न नसकेको व्यवसायी बताउँछन् । जसका कारण ब्याजदरसमेत घटेको छैन । अहिलेसम्म कर्जाको ब्याजदर घटेको कुनै सूचना प्राप्त नभएको नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका बताउँछन् । ‘ब्याज बढ्दा म्यासेज आउँछ, सजिलै थाहाँ पाइन्छ,’ उनले भने, ‘तर, अहिले बेसरेट केही घटेको होला, ब्याज घट्ने अनुमान पनि गरिएको थियो, तर अहिलेसम्म ब्याजदर घटेको म्यासेज आएको छैन ।’

महासंघको बैंकिङ समितिका उपसभापति गोपाल खनालले पनि अहिलेसम्म ब्याजदर नघटेको जानकारी दिए । ‘वित्तीय विवरण आइरहेका छन्, बेसरेट थोरैले घटेको देखिन्छ,’ उनले भने, ‘यद्यपि, अहिलेसम्म ब्याजदर भने घटेको छैन ।’ उनले तरलतामा अझै चाप देखिएका कारण आधारदर उल्लेखनीय रूपमा घट्न नसकेको विश्लेषण गरे ।

बेसरेट कति घट्यो ?
वाणिज्य बैंकहरूको औसत आधारदर ०७४ फागुनको १०.३६ प्रतिशतको तुलनामा ०७५ फागुनमा ९.६५ प्रतिशत कायम भएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । यसले आधारदर ०.७१ बिन्दु प्रतिशतले घटेको देखाउँछ । तर, यथार्थमा भने बेसरेट घटेको देखिँदैन । केन्द्रीय बैंकले गत पुसमा आधारदर गणना विधिमा परिमार्जन गरी सम्पत्तिको प्रतिफलबराबरको ०.७५ प्रतिशत भारलाई हटाएको थियो । यसर्थ, बैंकको अधारदर कम्तीमा ०.७५ बिन्दु प्रतिशतले घट्नुपर्ने थियो । अझै पनि तरलता चाप रहेको तथा शाखा विस्तारलगायतले बैंकको लागत बढाएका कारण बेसरेट घट्न नसकेको केही बैंकर बताउँछन् ।

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले अघिल्लो वर्षको तुलना गर्दा बेसरेट खासै नघटेको बताए । उनले सम्पत्तिको प्रतिफलबराबरको ०.७५ प्रतिशत भारलाई हटाएका कारण मात्रै बेसरेट कम देखिएको बताए । आर्थिक वर्षको पहिलो त्रैमासदेखि नै उच्चदरको निक्षेप लिनुपरेका कारण त्यसको असर अहिलेसम्म आधारदर र ब्याजदरमा देखिइरहेको सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतम बताउँछन् ।

ब्याज घटेको म्यासेज कुर्दै ऋणी
बैंकहरूले हरेक तीन–तीन महिनामा बेसरेटअनुसार ब्याजदर समायोजन गर्न पाउँछन् । गत पुसयता बैंकहरूले तरलता अभावका कारण ब्याजदर बढाए । बैंकहरूले ऋणीहरूलाई एसएमएस पठाएर ब्याजदर बढेको जानकारी गराए । अहिलेको त्रैमास सकिएसँगै अब ब्याजदर घट्ने अपेक्षा गरेको उद्योगी–व्यवसायीले बताएका छन् । अहिले बेसरेट घटेको तथा तरलताको अवस्था पनि केही सामान्य हुँदै गएका कारण ऋणीहरू ब्याजदर घटेको एसएमएस कुरिरहेका छन् । बैंकहरूको आधारदर घटाएअनुसार ब्याजदर घटाएको एसएमएस कुरिरहेको बताए । यसअघि बैंकर तथा केन्द्रीय बैंकका पदाधिकारीले दुई प्रतिशतसम्म ब्याजदर घट्न सक्ने बताउँदै आएका छन् । सोहीअनुसार ब्याजदर घटेको एसएमएस कुरिरहेको व्यवसायीले बताएका छन् ।

तर, बैंकर भन्छन्, ‘ब्याजदर घटेको छ, अझ घट्छ’
बेसरेटमा भएको परिवर्तनअनुसार ब्याजदर स्वतः समायोजन भइसकेको बैंकरहरू बताउँछन् । सिद्धार्थ बैंकका सिइओ गौतमले नयाँ बेसरेट आएको भोलिपल्टैदेखि ब्याजदर घटेको बताए । ‘हामीले आफ्ना ऋणीहरूलाई ब्याजदर घटाएको सूचना दिइसकेका छौँ,’ उनले भने, ‘अहिले थोरैले घटेको छ, असारसम्ममा बेसरेट अझ घट्ने र ब्याजदर सोहीअनुसार कम हुने अनुमान गर्न सकिन्छ ।’ सानिमा बैंकका सिइओ दाहालले पनि बेसरेटअनुसार ब्याजदर घटिसकेको बताए । ‘केही एकाध बैंकले सुरुमै प्रिमियममा छुट दिएका ऋणीलाई बेसरेटअनुसार समायोजन नगरेको हुन सक्छ, त्यो पनि आपसी सहमतिमा,’ उनले भने, ‘अन्यथा केन्द्रीय बैंकको व्यवस्थाअनुसार घटेको बेसरेटअनुसार कर्जाको ब्याजदर पनि घटिसकेको छ ।’ अघिल्लो वर्षको तुलनामा एक बिन्दु प्रतिशतले बेसरेट घटेको देखिन्छ । सोहीअनुसार ब्याज १ बिन्दु प्रतिशतसम्मले घटेको हुन सक्ने बैंकरहरूले बताएका छन् ।

 

नयाँ पत्रिका




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ