अर्थतन्त्रको आकार ६.८१ प्रतिशतले बढ्ने

2019-04-27

काठमाडौं - चालु आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको आकार ६.८१ प्रतिशतले बढ्ने अनुमान गरिएको छ। केन्द्रीय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको चालु आवको राष्ट्रिय लेखा तथ्यांकअनुसार मुलुकको कुल ग्राहस्थ उत्पादन (जिडिपी) ३४ खर्ब ६४ अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण छ। चालु आवका सातदेखि नौ महिनासम्मका आर्थिक गतिविधिलाई हेरी बाँकी अवधिमा पनि सोही अनुसार हुने अनुमानसहित यो प्रक्षेपण गरिएको हो। विभागले प्रत्येक वर्ष यही प्रक्रियाबाट मुलुकको आर्थिक क्रियाकलापको तथ्यांक प्रक्षेपण गर्दै आएको छ।

विभागले सार्वजनिक गरेको आर्थिक वृद्धिदरको प्रक्षेपण चालु बजेटमा राखिएको लक्ष्यभन्दा कम हो। बजेटमा आठ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखिएको छ। अर्थ मन्त्रालयले बजेटको मध्यावधि समीक्षामा भने यसलाई घटाउँदै वृद्धिदर सातदेखि आठ प्रतिशतको बीचमा हुने अनुमान गरेको थियो। यो समीक्षाको प्रक्षेपणभन्दा पनि कम हो। गत आवमा मुलुकको आर्थिक वृद्धिदर ६.३ प्रतिशत थियो। चालु आवमा कृषि क्षेत्रमा ५.०३ प्रतिशत र गैरकृषि क्षेत्रमा वृद्धिदर ७.४८ प्रतिशत रहने विभागको अनुमान छ।

विभागका अनुसार यो वर्ष प्रतिव्यक्ति आय एक लाख १७ हजार चार सय ५५ रुपैयाँ (एक हजार ३४ अमेरिकी डलर) पुग्ने अनुमान छ। गत आवमा नेपालीको प्रतिव्यक्ति आय एक हजार चार अमेरिकी डलर थियो। विभागका अनुसार मुलुकको अर्थतन्त्रको आकार (जिडिपी) चालु आवमा गत आवभन्दा चार खर्ब ३३ अर्ब रुपैयाँले बढेर ३४ खर्ब ६४ अर्ब रुपैयाँ पुग्नेछ। गत वर्ष मुलुकको जिडिपी ३० खर्ब सात अर्ब रुपैयाँको थियो।

जिडिपी : ३४ खर्ब ६४ अर्ब रुपैयाँ
प्रतिव्यक्ति आय : १०३४ अमेरिकी डलर
बेरोजगार : ९ लाख ८ हजार जना

अर्थतन्त्रमा प्राथमिक क्षेत्रको योगदान २७.५९ प्रतिशत रहेको विभागले जनाएको छ। यस क्षेत्रमा कृषि तथा वन, मत्स्य र खानी तथा उत्खनन् पर्छन्। त्यस्तै, द्वितीय क्षेत्र (उद्योग, निर्माण, विद्युत्) को योगदान १४.६ प्रतिशत र सेवा क्षेत्र (थोक तथा खुद्रा व्यापार, होटल तथा रेस्टुराँ, यातायात सञ्चार तथा भण्डारण, वित्तीय मध्यस्थता, रियल स्टेट तथा व्यावसायिक सेवालगायत) को योगदान ५७.८१ प्रतिशत रहने विभागको अनुमान छ। विभागका अनुसार अर्थतन्त्रमा सेवा क्षेत्रको योगदान गत वर्षको तुलनामा ७.२९ प्रतिशतले बढेको छ।

यसैबीच, मुलुकमा नौ लाख आठ हजार जनसंख्या बेरोजगार रहेको पाइएको छ। तथ्यांक विभागद्वारा सार्वजनिक श्रमशक्ति सर्वेक्षणअनुसार मुलुकमा १५ वर्ष वा सोभन्दा बढी उमेर समूहको जनसंख्यामध्येबाट उक्त बेरोजगारको संख्या निकालिएको हो। विभागका अनुसार कुल बेरोजगार जनसंख्यामध्ये पाँच लाख ११ हजार पुरुष र तीन लाख ९७ हजार महिला छन्। बेरोजगारमध्ये ६ लाख ४० हजार सहरी क्षेत्र र दुई लाख ६८ हजार ग्रामीण क्षेत्रमा बसोबास गर्ने विभागले जनाएको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ