नेकपा एकता : १५ जिल्लामा वडा तहसम्म एकीकरण (सुचिसहित)

2019-03-23

काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा शीर्ष तहको विवादले जिल्ला र जनसंगठन एकीकरण १० महिनादेखि अल्झिए पनि स्थानीय तहमा भने धमाधम एकीकरण भइरहेको छ । गण्डकीबाहेक सबै ६ वटा प्रदेश संगठन कमिटीले स्थानीय तहमा एकीकरण गराउँदै छन् । प्रदेश ३ ले तीन र ५ ले पाँच जिल्लाका वडा तहसम्म नै एकीकरण टुंग्याएको छ । सुदूरपश्चिममा सात जिल्लाको वडासम्मकै एकीकरण प्रस्ताव तयार भएको छ ।

प्रदेश कमिटीलाई निर्वाचन क्षेत्र र स्थानीय तहको जिम्मेवारी
स्थानीय तहको नेतृत्व टुंगो लगाउन बनेका जिल्लास्तरीय कार्यदलको सिफारिसमा स्थानीय तहको एकीकरणले तीव्रता पाएको हो । कतिपय प्रदेशले स्थानीय तहको नेतृत्वको नामावली प्रदेश कमिटीबाट अनुमोदन गराएर शपथसमेत लिइसकेका छन् । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जिल्ला नेतृत्व टुंगो लाग्न बाँकी भए पनि स्थानीय तहमा उत्साहजनक रूपमा एकीकरणको काम भइरहेको बताए । ‘देशभर सबै प्रदेशमा स्थानीय तहको नेतृत्व टुंगिरहेका छन्,’ नेम्वाङले भने, ‘अब जिल्ला नेतृत्व मात्र टुंगो लाग्न बाँकी हो, सचिवालयबाट निर्णय भएर अघि बढ्नासाथ पार्टी एकताले छिटोभन्दा छिटो पूर्णता पाउँछ ।’ उनले बाहिर आएजस्तो एकता प्रक्रिया नअल्झिएको दाबी गरे । नेकपाले प्रदेशपछि जिल्लाको नेतृत्व केन्द्रीय सचिवालयबाटै टुंगो लगाउने तयारी गरे पनि निर्वाचन क्षेत्र र स्थानीय तहको एकीकरणको जिम्मेवारी प्रदेश संगठन कमिटीलाई तोकेको छ ।

तीनवटा प्रदेशमा वडा तहसम्मै एकीकरण
नेकपाका तीनवटा प्रदेश कमिटीले १५ जिल्लाका वडा तहसम्म एकीकरण सकेका छन् । प्रदेश ३ कमिटीले दोलखा, सिन्धुली र रसुवामा निर्वाचन क्षेत्रीय कमिटी, गाउँपालिका, नगरपालिकासहित वडा तहसम्म एकीकरण सकेको हो । अध्यक्ष नारायण दाहालले ती जिल्लामा स्थानीय नेतृत्वको शपथग्रहणसमेत सकिएको बताए । त्यस्तै, प्रदेश ५ कमिटीले पाल्पा, बर्दिया, प्युठान, कपिलवस्तु र रुपन्देहीका निर्वाचन क्षेत्र, उपमहानगर, नगर र गाउँपालिकासहित मातहतका वडा कमिटीको एकीकरण टुंगो लगाएको छ । केही प्राविधिक पक्षबाहेक ती जिल्लाका वडा तहसम्म एकीकरणको काम टुंगिएको प्रदेश सचिव जगप्रसाद शर्माले बताए ।

सुदूरपश्चिम प्रदेश कमिटीले पनि कैलाली, डडेल्धुरा, डोटी, अछाम, बाजुरा, बझाङ र बैतडीमा वडा तहसम्मको एकीकरण टुंग्याउने अन्तिम तयारी गरेको छ । ‘सात जिल्लामा वडा तहसम्मको एकीकरण प्रस्ताव तयार भइसक्यो, अब प्रदेश बैठकबाट टुंगो लगाउन मात्र बाँकी छ,’ सहइन्चार्ज लक्ष्मीदत्त जोशीले भने ।

कुन प्रदेशमा कति एकीकरण ?
प्रदेश १ : ५ जिल्लाका सबै स्थानीय तहमा एकीकरण
प्रदेश १ का ताप्लेजुङ, पाँचथर, तेह्रथुम, झापा र धनकुटाका सबै स्थानीय तहमा एकीकरण सकिएको छ । प्रदेश कमिटी इन्चार्ज भीम आचार्यले ती जिल्लाका स्थानीय नेतृत्वको नामावली प्रदेश कमिटीले स्वीकृत गरिसकेको बताए । बाँकी ९ जिल्लाको स्थानीय तहमा एकीकरण पनि १५ चैतभित्र सक्ने गरी काम भइरहेको उनको दाबी छ । ‘बाँकी जिल्लामा १५ गतेभित्र एकीकरण सक्न निर्देशन दिएका छौँ,’ आचार्यले भने । प्रदेश १ मा समग्रमा साबिक एमाले र माओवादीले ६०/४० को अनुपातमा स्थानीय तहको नेतृत्व बाँडफाँड गरेको आचार्यले बताए ।

प्रदेश २ : स्थानीय नेतृत्व अनुमोदनको तयारी
प्रदेश २ संगठन कमिटीले आठवटै जिल्लाका स्थानीय तहको नेतृत्वको नामावली अनुमोदनको तयारी गरेको छ । ‘जिल्लास्तरीय कार्यदलले सबै जिल्लाबाट स्थानीय तहको एकीकरण प्रस्ताव पठाइसकेका छन्,’ इन्चार्ज सत्यनारायण मण्डलले भने, ‘एकाधबाहेक अधिकांश तहको नामावली छिट्टै प्रदेश कमिटी बैठक बोलाएर अनुमोदन गर्छौँ ।’

प्रदेश ३ : ५ जिल्लाको एकीकरण
प्रदेश ३ का तीन जिल्ला दोलखा, सिन्धुली र रसुवाको वडा तहसम्म एकीकरण भएकोमा रामेछाप र ललितपुरका स्थानीय तहको एकीकरण प्रस्ताव तयार भइसकेको छ । बाँकी कतिपय जिल्लामा भने पूर्वएमाले र पूर्वमाओवादी समूहमा आन्तरिक विवाद भएकाले गति नलिएको प्रदेश संगठन कमिटी इन्चार्ज नारायण दाहालले बताए । ‘१४ चैतमा प्रदेश कमिटीको शपथ हुँदै छ, त्यसवेलासम्म जिल्ला इन्चार्ज, अध्यक्ष र सचिवको नामावली केन्द्रीय सचिवालयले टुंगो लगायो भने बाँकी एक हप्ताभित्र सबै जिल्ला कमिटी सर्वसम्मत टुंग्याउँछौँ,’ दाहालले भने ।

गण्डकी : एकीकरण शून्यमै
गण्डकी प्रदेशले भने अहिलेसम्म कुनै पनि स्थानीय तहको एकीकरण टुंग्याउन सकेको छैन । तर, प्रदेश इन्चार्ज पृथ्वी सुब्बा गुरुङले चैतभित्रै स्थानीय तह र जनसंगठनको एकीकरण टुंगो लगाउने गरी आन्तरिक गृहकार्य भइरहेको दाबी गरे । पूर्वएमाले र पूर्वमाओवादी समूहमध्ये कुन जिल्लामा कसले नेतृत्व लिने भन्नेमै विवाद छ । ‘तल कार्यदल तहमा काम भइरहेको छ, तर माथिबाट जिल्ला नेतृत्व टुंगो लागेपछि मात्र स्थानीय तहहरूको पनि एकीकरण अघि बढ्छ,’ सहइन्चार्ज हितराज पाण्डेले भने ।

प्रदेश ५ : सबै स्थानीय तहमा एकीकरण
पाँच जिल्लाका सबै वडासम्म एकीकरण टुंग्याएको प्रदेश ५ कमिटीले तहको एकीकरण भने १२ वटै जिल्लामा सकेको छ । प्रदेश सचिव जगप्रसाद शर्माका अनुसार प्रदेशका १ सय ९ वटै स्थानीय तहमा एकीकरण सम्पन्न भएको छ । तीमध्ये सय स्थानीय तहका नेतृत्वको शपथग्रहण पनि सकिएको छ । शर्माका अनुसार रुकुमका ३, रोल्पाका २ र दाङका ५ तहमा मात्र शपथ हुन बाँकी छ । पाल्पा, बर्दिया, प्युठान, कपिलवस्तु र रुपन्देहीको स्थानीय तहका भने वडासम्म नै एकीकरण लगभग टुंगिएको छ ।

कर्णाली : जिल्ला र स्थानीय भेला
कर्णाली प्रदेशको डोल्पा, जुम्ला, जाजरकोट र मुगुका केही स्थानीय तहका वडा तहसम्म एकीकरण सम्पन्न भएको अध्यक्ष गोरखबहादुर बोगटीले बताए । कर्णाली प्रदेशले जिल्ला, निर्वाचन क्षेत्र, स्थानीय तहका वडासम्म पार्टी र सरकारबीचको सम्बन्ध सुधार तथा संगठन सुदृढीकरण अभियान चलाएर एकीकरणको आधार तयार गरेको छ । ‘भेला र अन्तरक्रियाले कार्यकर्ता तहमा एकीकरणको सन्देशसँगै उत्साह सिर्जना गरेको छ,’ बोगटीले भने, ‘पार्टी र सरकारबीचको सम्बन्ध पनि सुधार भएको छ ।’

सुदूरपश्चिम : ७ जिल्लामा वडा तहसम्म एकीकरण प्रस्ताव
सुदूरपश्चिमका ७ जिल्लाले क्षेत्रीय कमिटी, गाउँपालिका, नगरपालिका र वडा तहसम्मको कमिटीको एकीकरण प्रस्ताव तयार पारेका छन् । सहइन्चार्ज लक्ष्मीदत्त जोशीका अनुसार अहिलेसम्म कैलाली, डडेल्धुरा, डोटी, अछाम, बाजुरा, बझाङ र बैतडी जिल्लामा वडा तहसम्मको एकीकरण प्रस्ताव तयार भएको छ । दार्चुला र कञ्चनपुरमा भने धमाधम काम भइरहेको छ । ‘दुई जिल्लाको पनि प्रतिवेदन आएपछि एकीकरण कार्यदलको प्रतिवेदनका आधारमा प्रदेशको बैठक बसेर सबै जिल्लाका स्थानीय तहको एकीकरण टुंग्याउँछौँ,’ जोशीले भने ।

 


नयाँ पत्रिका




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ