२८ वटा वाणिज्य बैंकहरूले ६ महिनामै कमाए ३१ अर्ब नाफा !

2019-02-13

काठमाडौँ - हाल सञ्चालनमा रहेको २८ वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा कुल ३० अर्ब ८१ करोड खुद नाफा आर्जन गरेका छन् । बैंकहरूले प्रकाशित गरेको दोस्रो त्रैमासको वित्तीय विवरणले यस्तो देखाएको हो । बैंकहरूले आर्जन गरेको मुनाफा गत आवको सोही अवधिको तुलनामा २९ दशमलव ४८ प्रतिशतले बढी हो । गत आवको पुस मसान्तसम्ममा २८ वाणिज्य बैंकहरूको खुद नाफा २३ अर्ब ८० करोड रुपैयाँ रहेको थियो ।

वितरण मुनाफा २७ अर्ब
चालू आवको दोस्रो त्रैमासमा बैंकहरूको वितरणयोग्य मुनाफा अर्थात् फ्री प्रोफिट २७ अर्ब ११ करोड रहेको छ, जुन गत आवको सोही अवधिको तुलनामा १९.९५ प्रतिशतले बढी हो । गत आवको पहिलो ६ महिनामा यस्तो मुनाफा २२ अर्ब ६० करोडमा सीमित रहेको थियो । नाफा बढेसँगै बैंकहरूको लाभांश वितरण गर्ने क्षमतामा पनि वृद्धि भएको छ ।

१० बैंकको फ्री प्रोफिट अर्बभन्दा बढी
१५ वाणिज्य बैंकहरूले १ अर्बभन्दा बढी नाफा आर्जन गरे पनि १० बैंकहरूको मात्र वितरणयोग्य मुनाफा अर्थात् फ्री प्रोफिट १ अर्ब नाघेको छ । १ अर्बभन्दा बढी नाफा आर्जन गरेका स्ट्यान्डर्ड चार्टर्ड बैंक, एनएमबि बैंक, प्राइम कमर्सियल बैंक, नेपाल एसबिआई बैंक र सिद्धार्थ बैंकको फ्री प्रोफिट भने १ अर्बभन्दा कम रहेको छ ।

एनआइसी एसियाको खुद नाफा वृद्धिदर बढी
एनआइसी एसियाको नाफा वृद्धिदर अन्य बैंकहरूको तुलनामा बढी रहेको छ । गत आवको पुस मसान्तको तुलनामा चालू आवको सोही अवधिमा बैंकको नाफा १ सय ६४ दशमलव ३४ प्रतिशत बढेको छ । बैंकले सो अवधिसम्ममा १ अर्ब ५१ करोड खुद नाफा आर्जन गरेको छ । आक्रामक बजार विस्तार गरेका कारण बैंकको नाफामा उल्लेख्य सुधार भएको हो । जनता बैंकको नाफा समीक्षा अवधिमा ९० दशमलव २६ प्रतिशत बढेको छ । नेपाल बैंक लिमिटेडको खुद नाफा वृद्धिदर सबैभन्दा कम रहेको छ । बैंकले १ अर्ब ६६ करोड नाफा आर्जन गरे पनि गत आवको पुस मसान्तको तुलनामा १ दशमलव ४१ प्रतिशत मात्र बढी हो ।

फ्री–प्रोफिट वृद्धिदरमा एनसिसी अगाडि
नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेडको वितरणयोग्य मुनाफा गत आवको पुस मसान्तको तुलनामा चालू आवको सोही अवधिमा १ सय ३२ दशमलव ०७ प्रतिशत बढेको छ । गत आवको पुस मसान्तमा २७ करोड रहेको बैंकको यस्तो मुनाफा चालू आवको सोही अवधिमा बढेर ६४ करोड पुगेको छ । खुद नाफामा उल्लेख्य सुधार गरेको एनआइसी एसियाको फ्री प्रोफिट वृद्धिदर भने १ सय २० दशमलव २८ प्रतिशत रहेको छ ।

४ बैंकको फ्री प्रोफिट घट्यो
समीक्षा अवधिमा ४ बैंकहरूको फ्री प्रोफिट घटेको छ । सो अवधिमा नेपाल एसबिआई बैंक, एनएमबि बैंक, नेपाल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको फ्री प्रोफिट घटेको हो । इन्भेष्टमेन्ट बैंक र नेपाल बैंकको फ्री प्रोफिट गत आवको तुलनामा घटे पनि यी बैंकहरूको यस्तो मुनाफा १ अर्बभन्दा बढी नै रहेको छ । गत आवमा नेपाल बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ६३ करोड रहेको थियो भने इन्भेष्टमेन्ट बैंकको १ अर्ब ८३ करोड रहेको थियो ।

आरओई पनि बढ्यो
नाफा बढेसँगै बैंकहरूको आरओई (रिटर्न अन इक्विटी) पनि बढेको छ । सर्वाधिक नाफा बढाउन सफल भएको एनआइसी एसिया बैंकको आरओई पुस मसान्तमा २५ दशमलव ७६ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा यस बैंकको आरओई ११ दशमलव ३१ प्रतिशत रहेको छ । २ अर्बभन्दा बढी नाफा आर्जन गरेका राष्ट्रिय वाणिज्य बैंक र नबिल बैंकको आरओई क्रमशः २५ दशमलव ३२ प्रतिशत र २१ दशमलव ३५ प्रतिशत रहेको छ ।

ब्याजबाट मात्रै ६२ अर्ब आम्दानी
सो अवधिसम्ममा बैंकहरूको खुद ब्याज ब्याज आम्दानी ६२ अर्ब ५ करोड रहेको छ । यो गत आवको सोही अवधिको तुलनामा ३९ दशमलव ४० प्रतिशत बढी हो । एनआइसी एसिया बैंकको खुद ब्याज आम्दानी अन्य बैंकको तुलनामा धेरै बढेको छ । गत आवको तुलनामा सो बैंकको खुद ब्याज आम्दानी चालू आवमा १ सय ३३ प्रतिशत बढेको छ । पुस मसान्तसम्ममा बैंकले ३ अर्ब ६० करोड खुद ब्याज आम्दानी गरेको छ । रकमका आधारमा भने राष्ट्रिय वाणिज्य बैंक अगाडि रहेको छ । पुस मसान्तसम्ममा बैंकले ४ अर्ब ९५ करोड खुद ब्याज आम्दानी गर्न सफल भएको छ ।

उच्च जोखिम बहनसँगै उच्च नाफा : अशोक राणा
सिइओ, हिमालयन बैंक लिमिटेड
कतिपय सरोकारवालाले बैंकले बढी नाफा कमाए भनेर गुनासो गर्छन् जुन स्वाभाविक होइन जस्तो लाग्छ । उहाँहरूले के बुझ्नुपर्छ भने बैंक पुँजीमा आधारित हुन्छ । पुँजी नभई बैंकको वृद्धि हुन सक्दैन र बैंकले जति कमाए पनि यो पुँजीकरण नै हुने हो । स्टक एक्स्चेन्जमा ६०–७० प्रतिशत बैंकको पुँजी छ । बैंकको नाफा घट्यो भने सेयर बजार पनि घट्छ । एकातिर उद्योगी व्यवसायीले बैंकको नाफा बढ्यो भन्ने अर्कोतर्फ लगानीकर्ताले नाफा राम्रो नभएका कारण बैंकको सेयर मूल्य घट्यो भन्ने । बैंकलाई अलि अर्कै नजरले हेर्नुपर्छ । बैंकले उच्च जोखिम वहन गरेका हुन्छन् र नाफा पनि सोहीअनुसार आर्जन गर्छन् । हामीले १ खर्बजति चलाएर अर्ब नाफा कमाउने हो ।

बैंकको नाफा मर्यादित हुनुपर्छ
शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
बैंकहरूले उच्च नाफा आर्जन गर्नु अर्थतन्त्रको सकारात्मक पाटो हो । यसबाट सेयर बजार बढ्ने, सेयरधनीले लाभांश प्राप्त गर्ने तथा अर्थतन्त्र बलियो हुनेलगायत सकारात्मक काम हुन्छ । तर, बैंकको नाफा मर्यादित हुनुपर्छ । नियामक निकायको नियमन तथा निर्देशनहरू मान्दै अर्थतन्त्रका अन्य व्यवहारिक पक्षलाई समेत आत्मसात् गरेर बैंकले आफ्नो व्यवसाय गर्नुपर्छ । बैंकहरूले भद्र सहमति गरेर निक्षेपको ब्याजदर घटाए, तर त्यसको प्रभाव कर्जाको ब्याजदरमा किन देखिएन ? बैंकहरूको आरओई (रिटर्न अन इक्विटी) विश्वमै राम्रो छ, तर उद्योग व्यवसायको अवस्था ठीक छैन किन ? बेसरेट घटेको समाचार आइरहँदा ब्याजदर घटेको खबर आउँदैन किन ? बैंकहरूले उच्च नाफा आर्जन गरिरहँदा यस्ता प्रश्नको पनि जवाफ खोज्नुपर्छ जस्तो लाग्छ ।

 


नयाँ पत्रिका




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ