थप धरासायी बन्दै देशको अर्थतन्त्र, जताततै घाटै-घाटा !

2019-02-03

काठमाडौँ - अहिले मुलुकको अर्थतन्त्रमा माग तथा आपूर्तिको चक्रसमेत प्रभावित भएको उद्योगीहरू बताउँछन् । अहिले बजारमा थुप्रै उपभोग्य तथा निर्माण सामग्रीको मागसमेत घटेको उद्योगीहरूको भनाइ छ । बजेटले मोबाइललगायत थुप्रै वस्तुले पाउँदै आएको भ्याट फिर्तालाई खारेज गरिदिएको छ । यसले मोबाइल आयात तथा व्यापार प्रभावित भएको व्यापारीहरू बताउँछन् । अटोमोबाइल ऋणमा लगाइएको क्यापका कारण आयात प्रभावित भएको छ । फलामे छड, आल्मुनियमलगायत केही निर्माणजन्य साम्रगीको व्यापारसमेत घटेको छ । ‘अनुकूल व्यावसायिक वातावरण भएका वेला पनि उद्योग–व्यवसाय उत्साहप्रद हुन सकेको छैन,’ नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले भने ।

तरलताको समस्याले बजारको चक्र अवरुद्ध भएको गोल्छाको तर्क छ । ‘निर्माण क्षेत्रमा वस्तुको माग घटेको छैन, तर रकम अभावमा उद्योगहरूले आपूर्ति गर्न सकेका छैनन् । उपभोग्य सामानहरूको होलसेल बिक्री धेरै नै घटेको छ,’ उनले भने । दसैँपछि अटोमोबाइलको आयात पनि नाटकीय रूपमा घटेको र आयातकर्ता तथा उत्पादकले बजारमा सामान नै पठाउन नसकेको उनले बताए । ‘व्यवसायीहरूले बाध्य भएर स्टक घटाइरहेका छन्,’ उनले भने ।

सुस्त औद्योगिक उत्पादन
केन्द्रीय बैंकका अनुसार अघिल्लो आर्थिक वर्ष ०७४/७५ मा दर्जनभन्दा बढी औद्योगिक वस्तुको उत्पादन ४ प्रतिशतदेखि ८९ प्रतिशतसम्मले घटेको छ । औद्योगिक वातावरण अनुकूल बन्दै गइरहेका वेला औद्योगिक उत्पादन भने घटेको सरकारी तथ्यांकले देखाएको छ । समीक्षा वर्षमा प्रशोधित छालाकोे उत्पादन ८९.७ प्रतिशतले, चामल ६५.८ प्रतिशतले, चिरेको काठको उत्पादन १.५ प्रतिशतले, कागजको उत्पादन २.५ प्रतिशतले र रोजिनको उत्पादन ४२.९ प्रतिशतले घटेको छ । त्यस्तै, प्लास्टिकको उत्पादन ७.९ प्रतिशत, आल्मुनियम उत्पादन १३.८ प्रतिशतले र जुत्ताको उत्पादनमा ४.७ प्रतिशतले ह्रास आएको छ । सोहि अवधिमा जी.आई.तारको उत्पादन २१.८ प्रतिशतलेघ ट्न गएको छ भने वनस्पती घ्यू तथा तेल समूहको उत्पादनमा १९.१प्रतिशतले ह्रास आएको छ । चालु आवमा समेत औद्योगिक उत्पादन उत्साहप्रद नरहेको उद्योगीहरूले बताएका छन् । बजारमा माग नै कम देखिएका कारण उद्योगको उत्पादन समेत न्यून देखिएको एक उद्योगीले बताए ।

विदेशी लगानी आप्रवाह आधाले घट्यो
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर र विदेशी लगानी आप्रवाहसमेत घटेको छ । केन्द्रीय बैंकका अनुसार यस अवधिमा पुँजीगत ट्रान्सफर ५ अर्ब २७ करोड र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह ६ अर्ब ७८ करोड छ । अघिल्लो आवको सोही अवधिको तुलनामा प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह ४५.३ प्रतिशतले कम हो । अघिल्लो वर्ष सोही अवधिमा पुँजीगत ट्रान्सफर ८ अर्ब ८६ करोड र प्रत्यक्ष वैदेशिक लगानी ११ अर्ब १२ करोड रहेको थियो ।

चालू खाता घाटा सवा खर्ब नाघ्यो
देशभित्र आउने र बाहिर जाने रकम चालू र पुँजीगत खाता शीर्षकमा रहने गर्छन् । चालू खातामा वस्तु तथा सेवाको आयात, निर्यात, अनुदान प्राप्ति, रेमिट्यान्सलगायत पर्छन् । अर्थात् मूलतः मुलुकमा भित्रने र बाहिरिने रकमको हिसाब चालू खातामार्फत हुन्छ । चालू खाता घाटा हुुनु भनेको मुलुकमा भित्रने रकमभन्दा बाहिरिने रकम बढी हुनु हो । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामै चालू खाता उल्लेख्य घाटामा गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा चालू खाता घाटा विस्तार भई १ खर्ब १९ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ६४ अर्ब ११ करोड थियो । यस अवधिमा अमेरिकी डलरमा चालू खाता घाटा १ अर्ब ४ करोड ४५ लाख पुगेको छ ।

व्यापार घाटा बढेको बढ्यै
बढ्दो उपभोग प्रवृत्तिसँगै आयात बढेको छ, तर निर्यातको वृद्धिदर भने सन्तोषजनक छैन । आर्थिक वर्ष ०७५/७६ को पाँच महिनामा कुल वस्तु निर्यात ११.२ प्रतिशतले वृद्धि भई ३७ अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १०.१ प्रतिशतले वृद्धि भएकोे थियो । कुल वस्तु आयात भने ३४.२ प्रतिशतले बढेर ६ खर्ब ७ अर्ब पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा १८.२ प्रतिशतले बढेको थियो । निर्यातको तुलनामा आयात उच्च हुँदा व्यापार घाटा अकासिएको छ । पाँच महिनामा कुल वस्तु व्यापार घाटा ३६.१ प्रतिशतले बढेर ५ खर्ब ६९ अर्ब ४९ करोड पुगेको छ । निर्यात–आयात अनुपात ६.२ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त अनुपात ७.५ प्रतिशत थियो ।

विदेशी अनुदानमा १६ प्रतिशतले कमी
विदेशीले सरकार र अन्य संस्थालाई विभिन्न माध्यमबाट दिने अनुदानमा ७.८ प्रतिशतले गिरावट आएको केन्द्र बैंकको तथ्यांक छ । समीक्षा अवधिमा नेपालमा २५ अर्ब ९ करोड रुपैयाँ विदेशी अनुदान भित्रिएको छ । अघिल्लो वर्ष सोही अवधिमा यस्तो अनुदान २७ अर्ब २१ करोड रुपैयाँ भित्रिएको थियो ।

शोधनान्तर घाटा अत्यासलाग्दो
नेपाल भित्रिनेभन्दा बाहिरिने रकम उच्च भएपछि त्यसको दबाब शोधनान्तर स्थिति र विदेशी मुद्राको सञ्चितिमा परेको छ । चालू आवको पाँच महिनामा शोधनान्तर स्थिति ८५ अर्ब ३२ करोड घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ५ अर्ब ४८ करोड घाटामा थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा शोधनान्तर स्थिति ७५ करोड १ लाखले घाटामा छ ।

विदेशी विनिमय सञ्चिति खुम्चँदै
बाह्य क्षेत्र कमजोर हुँदै जाँदा मुलुकको कुल विदेशी विनिमय सञ्चितिसमेत घट्दै गएको छ । पछिल्लो ५ महिनामा विदेशी विनिमय सञ्चिति ३.३ प्रतिशतले घटेको केन्द्रीय बैंकको तथ्यांक छ । गत असार मसान्तसम्म ११ खर्ब २ अर्ब ५९ करोड रहेको विदेशी विनिमय सञ्चिति मंसिर मसान्तमा आइपुग्दा १० खर्ब ६५ अर्ब ८० करोडमा झरेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति ०७५ असार मसान्तको १० अर्ब ८ करोडबाट ७.९ प्रतिशतले कमी आई ०७५ मंसिर मसान्तमा ९ अर्ब २९ करोडमा ओर्लिएको छ ।

चालू आवको पाँच महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ९ महिनाको वस्तु आयात र ७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको केन्द्रीय बैंकले जनाएको छ ।

विदेशी लगानी प्रतिबद्धता घट्यो
चालू आर्थिक वर्षको पहिलो ६ महिनामा विदेशी लगानी स्वीकृति करिब ४ अर्ब रुपैयाँले घटेको देखिएको छ । आर्थिक वर्ष ०७४/७५ मा नेपालमा १४ अर्ब रुपैयाँबराबरको विदेशी लगानी स्वीकृत थियो । चालू आवको पहिलो ६ महिनामा भने १० अर्ब २४ करोड रुपैयाँबराबरको विदेशी लगानी स्वीकृत भएको छ ।

उद्योगमा लगानी न्यून
समीक्षा अवधिमा उद्योग दर्तासमेत घटेको छ । उद्योग विभागका अनुसार चालू आवको ६ महिनामा नेपालमा ९ अर्ब ९२ करोड रुपैयाँ लगानी हुने गरी उद्योग दर्ता भएका छन् । जुन अघिल्लो आवको भन्दा झन्डै ४ अर्ब रुपैयाँले कम हो । अघिल्लो आव ०७४/७५ को ६ महिनामा १३ अर्ब ६७ करोड रुपैयाँ लगानीका उद्योग दर्ता भएका थिए ।

बाह्य क्षेत्रको प्रभाव : क्रेडिट क्रञ्च
पछिल्ला वर्षहरूमा नेपालको वित्तीय प्रणाली लगानीयोग्य तरलता अभावको समस्याबाट गुज्रिरहेको छ । बैंकहरूले मागअनुसार कर्जा प्रबाह गर्न सकेका छैनन्, स्रोत बढाउन नसक्दा कर्जा–निक्षेपमा सन्तुलन कायम गर्न सकेका छैनन् । सोधानान्तर अवस्था उच्च घाटामा हुँदा बैंकहरूको निक्षेप प्रभावित भएको छ । प्रत्यक्ष वैदेशिक लगानी र बाहिरीय व्यवसायिक ऋण (ईसीबी) पनि बढ्न सकेको छैन । बैंकिङ क्षेत्रबाट प्रबाह भएको करीब ६० प्रतिशत कर्जा भोभर ड्राफ्ट, चालु पुँजी, हायर पर्चेज र रियलस्टेटमा गएका छन् । जुन आयात र सोधनान्तरसँग बढी जोडिन्छ । अहिले तुलनात्मकरुपमा पुँजी निर्माणमा सहयोग नगर्ने किसिमको कर्जा प्रबाह बढी भएका कारण पनि नेपालको बैंकिङ क्षेत्रमा क्रेडिट क्रञ्चको समस्या दोहोरिरहेको बैंकरहरूकै स्वीकारोक्ती छ । सोधनान्तर अवस्था सकारात्मक नहुँदासम्म क्रेडिट क्रञ्चको साईकल दोहोरिरहन सक्ने उनीहरू बताउँछन् ।

के गर्दै छ सरकार ?
-बाह्य क्षेत्र कमजोर बन्दै गएपछि सरकारले विलासी वस्तुको आयात रोक्ने तयारी गरेको छ । लक्जरी गाडी, सुनचाँदी, मदिरा, कस्मेटिक्स, मोबाइललगायत विद्युतीय सामग्रीलगायतको आयातलाई निरुत्साहित गर्ने तयारी गरिरहेको अर्थ मन्त्रालयका सल्लाहकार रामशरण खरेलले बताए ।

-खासगरी बाह्य क्षेत्र कमजोर हुँदै गएपछि सरकार केही अत्तालिएको देखिएको छ, जसका कारण विदेशबाट नेपालीले ल्याउने रक्सी, सुनचाँदी र गरगहना, मोबाइललगायत विद्युतीय सामग्रीलगायतमा समेत कडाइ गर्न थालेको छ । बाह्य क्षेत्र असन्तुलन बढ्दै गएपछि सरकारले विदेशी लगानी तथा ऋण भित्र्याउन विशेष पहल गरिरहेको छ । आगामी मार्चमा सरकारले लगानी सम्मेलन गर्दै छ । त्यस्तै, केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थामार्फत विदेशी ऋण भित्र्याउन समेत जोड दिइरहेको छ ।

आर्थिक वृद्धिलाई सघाउने आयात बढेको छ
-डा. गुणाकर भट्ट, कार्यकारी निर्देशक
तथा अनुसन्धान विभाग प्रमुख, नेपाल राष्ट्र बैंक
चालू खाता तथा शोधनान्तर अवस्थालाई हेर्दा हाम्रो बाह्य क्षेत्रमा केही दबाब परेको देखिन्छ । तर, आधारभूत रूपमा हेर्दा अहिले पनि बाह्य क्षेत्र सुविधाजनक नै छ । मुख्यतः उच्च आयातका कारण बाह्य क्षेत्र नेगेटिभ देखिएको हो । यद्यपि, आयात पनि उच्च आर्थिक वृद्धिलाई सघाउने किसिमको छ । पाँच वर्षअघि पुँजीगत वस्तुको आयात १२ प्रतिशत थियो, अहिले १७ प्रतिशत पुगेको छ । ठूला–ठूला मेसिनरी, हवाईजहाज, डोजर, औद्योगिक कच्चा पदार्थलगायत सामग्रीको आयात उच्च छ । यसले उत्पादकत्व बढाउँछ, ग्रोथलाई सघाउँछ ।

अर्थतन्त्र डामाडोल भएको छैन, सजगचाहिँ हुनुपर्छ
रामशरण खरेल,
सल्लाहकार, अर्थ मन्त्रालय
हाम्रो अर्थतन्त्रको बाह्य क्षेत्र बाहिर भनिएजस्तो डामाडोल भएको छैन । चिन्ताजनक पनि छैन, तर सजगचाहिँ हुनुपर्छ । अर्थ मन्त्रालय यस विषयमा सचेत छ । विश्वमै प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह २२–२३ प्रतिशतले घटेको छ, जसको असर नेपालमा पनि देखिएको छ । यद्यपि, एफडिआई प्राप्ति र परियोजना पाइपलाइनमा छन्, केही समयममा एफडिआई बढेको देखिनेछ । विदेशी ऋण तथा अनुदान केही कम भएको छैन, शोधभर्ना हुन बाँकी भएको हो । उच्च आयातका कारण व्यापार घाटा बढी देखिएको हो, तर आयातको ठूलो हिस्सा आर्थिक वृद्धिलाई सघाउने किसिमको

 

नयाँ पत्रिका




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ