सन्दीपको बलिङ्मा किन सजिलै खेल्न सक्दैनन् ब्याट्सम्यान ? यस्तो छ उनको ट्याक्टिस !

2018-12-23

काठमाडौं - नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियन लिग बिगब्यासमा पनि धमकेदार सुरूआत गरेका छन् । मेल्बर्न स्टार क्लबमा अनुबन्धित सन्दीपले शुक्रबार भएको सिड्नी थन्डरविरूद्धको खेलमा दुई विकेट लिए ।

आठौं ओभरमा व्यक्तिगत पहिलो ओभर लिएर आएका सन्दीपले दोस्रो बलमा थन्डरका कप्तान सेन वाट्सनलाई २२ रनमा आउट पारे । सोही ओभरको अन्तिम बलमा सन्दीपले क्यालम फर्गसनलाई १५ रनमा ‘कट एण्ड बोल्ड’ गरे । सन्दीपले पहिलो ओभरमा ३ रनमात्रै खर्चेर २ विकेट लिए ।

इन्डियन प्रिमियर लिग (आइपिएल) खेलेको वर्षदिन नपुग्दै सन्दीपले खेलेको बिगब्यास विश्वचर्चित अर्को लिग हो ।

आइपिएलको गत सिजनयता सन्दीप विश्वभरिका सबै ठूला लिगमा अनुबन्धित भइसकेका छन् । उनले क्यारेबियन प्रिमियर लिग र टिटेन लिग खेलिसकेका छन् भने पाकिस्तान सुपर लिग र बंगलादेश प्रिमयर लिगमा पनि अनुबन्धित भइसकेका छन् ।

खेलेकामध्ये सबै लिगमा विश्वका चर्चित ब्याट्सम्यानलाई पेवेलियन फर्काइदिएर आफ्नो छाप छोड्न सन्दीप सफल छन् ।

गत सिजनको आइपिएलमा दिल्ली डेयरडेभिल्स(अहिले क्यापिटल्स) मा आवद्ध सन्दीप सुरूमा प्लेइङ ११ मा परेनन् । प्लेअफमा पुग्ने सम्भावना सकिएपछिका तीन खेलमा मात्र सन्दीप दिल्लीको प्लेइङ ११ मा परे। ती तीन खेल नै आफ्नो असीमित प्रतीभा देखाउन सन्दीपका लागि पर्याप्त भए । उनी उक्त सिजनमा आइपिएलका उत्कृष्ट बलरमध्येमा दरिए ।

उनले आइपिएलमा दोस्रो सबैभन्दा बढी रन बनाउने भारतीय राष्ट्रिय टोलीका सुरेश रैनालाई आउट पारे । मुम्बई इन्डियन्सविरूद्धको अन्तिम खेलमा सन्दीपले सनसनी नै मच्चाए । दुई ओभरमै उनले मुम्बईका तीन महत्वपूर्ण विकेट लिएर उसको प्लेअफमा पुग्ने ढोका बन्द गरिदिए ।

आइपिएलको ११ औं सिजनमा स्पिनरमध्ये सन्दीप दोस्रो किफायती बलर बने । उनको भन्दा राम्रो इकोनोमी रेट न्युजिल्याण्डका इश सोधीको मात्र थियो ।

आइपिएलदेखि बिगब्याससम्म विश्वचर्चित ब्याटसम्यानको विकेट लिने सन्दीपको बलिङमा त्यस्तो के विशेषता छ जसले ब्याट्सम्यान अप्ठेरोमा पर्छन ?

नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का भन्छन्– ‘सन्दीपको बलिङको सबैभन्दा बलियो पक्ष भनेको निरन्तर राम्रो र नियन्त्रणमा राखेर बल फाल्नु हो ।’

सन्दीपको बलमा निकै राम्रो नियन्त्रण हुन्छ । उनी खराब बल एकदमै कम फाल्छन् ।

शुक्रबारको खेलमा पनि खेलअगाडि भएको वर्षा र खेलका दौरान हल्का पानी परेकाले बल चिप्लो भएकाले उनले सर्टपिच बल फालेका हुन् । आइपिएलमा दिल्लीका प्रशिक्षक तथा अष्ट्रेलियाका पूर्वकप्तान रिकी पोन्टिङले शुक्रबारको खेलमा कमेन्ट्री गर्दै ‘बल चिप्लो भएकाले सन्दीपको नियन्त्रण बिग्रेको’ बताएका थिए ।

सन्दीपले फालेको गुगलीलाई धेरै ब्याट्सम्यानले ठम्याउन सक्दैनन् । उनले फालेको बल लेग स्पिनका लागि खेल्न पर्खेका ब्याट्सम्यान अचानक बल अर्कोतिर घुम्दा झुक्किन्छन् र आउट हुन पुग्छन् ।

टी–ट्वान्टी फर्म्याटमा ब्याट्सम्यानहरू रन जोड्न छक्का र चौका हान्नु पर्ने दबाबमा हुन्छन् । त्यसैले खराब बलमा पनि उनीहरू बिग सट हान्न खोज्छन् । सन्दीपले ब्याट्सम्यानलाई छक्का हान्न निम्तो दिएजसरी फ्लाइट दिएर बल फाल्छन् ।

तीव्र र मध्य गति र स्पिन बलभन्दा लेग स्पिन बल खेल्न अलि गाह्रो पनि हुन्छ ।

औंलामा बल घुमाउने स्पिनरभन्दा नाडी घुमाएर फालिएको लेग स्पिनरको बल बढी बाउन्स हुने भएकाले ठूला सट खेल्न खोज्दा ब्याटको माथि लाग्ने हुन्छ ।

सन्दीप स्मार्ट छन् । उनी ब्याट्सम्यानले आफ्नो बललाई कस्तो प्रहार गर्न सक्छ भन्ने पहिल्यै आँकलन गर्न सक्छन् ।

‘सन्दीपका खेल विश्वभरिका फेन्चाइज र प्रशिक्षकले हेरिरहेका हुन्छन् । सन्दीप जहाँजहाँ खेल्न गएका छन् त्यहाँ उनको क्षमताका कारण पिक गरेको हो,’ कप्तान खड्का भन्छन,‘ऊनी मेहेनती छन् । शुक्रबारको खेलमा पोन्टिङले कमेन्ट्री गरेको सुन्नुभयो होला’ गत सिजनको आइपिएलमा प्लेइङ ११ मा नपर्दा पनि सन्दीप दैनिक ३–४ घन्टा बलिङ गर्थे ।’

पोन्टिङले उनलाई भविष्यको चम्किलो सम्भावना भनेका छन् । बलिङकै कारण सन्दीपले विश्व क्रिकेटमा नाम बनाएका छन् ।
‘बलिङ गर्दा सन्दीप आत्मविश्वासी देखिन्छन् । उनी एकदमै प्रतिष्पर्धी स्वभावका पनि छन, त्यो उनको अर्को बलियो पक्ष हो,’ खड्काले भने ।

राष्ट्रिय टोलीका पूर्वकप्तान एंव नेपाली यू–१९ टोलीका प्रशिक्षक विनोद दास गति र ‘क्विक आर्म एक्सन’ले सन्दीपलाई फाइदा भएको बताउँछन् । ‘बलमा नियन्त्रण महत्वपूर्ण कुरा हो जसले सन्दीपलाई विशेष बनाएको छ,’ दासले भने, ‘लेग स्पिन निकै कठिन कला हो । सन्दीपले यो कला निकै छिटो सिकिरहेका छन् । वास्तव भन्ने हो भने उनी निकै छिटो लेग स्पिनको कलामा माहिर हुँदैछन् ।’




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ