कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, यस्ता छन् बैठकका एजेन्डा !

2018-11-29

काठमाडौँ - संशोधित विधानको मस्यौदालाई आफूअनुकूल अन्तिम रूप दिन कांग्रेस सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल समूह बुधबार दिनभर रणनीति बनाउन व्यस्त रहे । दुवै समूहले संशोधित विधानको मस्यौदामा प्रस्तुत हुने रणनीतिबारे छलफल गरेका हुन् । संस्थापन पक्षका नेताहरू सभापति देउवानिवास बुढानीलकण्ठ र पौडेल पक्षधर नेताहरू महामन्त्री डा. शशांक कोइरालाको टोखास्थित निवासमा भेला भएका थिए ।

महासमिति बैठकमा पेस गर्ने संशोधित विधानको मस्यौदालाई अन्तिम रूप दिन बिहीबार बिहान केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । ७ मंसिरको बैठकमा विधान मस्यौदा समितिले पेस गरेको मस्यौदा विधान बैठकमा प्रस्तुत हुँदै छ ।

संस्थापन पक्ष सहमतिको प्रयासमा
विधानको मस्यौदाबारे रणनीति बनाउन संस्थापन पक्षका नेताहरू बुधबार पहिलोपटक छलफलमा बसेका हुन् । पौडेल पक्षले गर्ने प्रहारको सामना गर्ने एजेन्डामा पाँच घन्टा छलफल गरेका उनीहरू सकेसम्म सहमतिबाटै अगाडि बढ्ने निर्णय गरेर उठेका छन् ।

‘मस्यौदा समितिमा सहमति हुन नसकेका विषयमा केन्द्रीय कार्यसमिति बैठकमा सहमति खोज्न प्रयास गर्ने र सहमति भएका बुँदा मात्रै महासमिति बैठकमा पेस गर्ने निष्कर्ष हामीले निकालेका छौँ,’ केन्द्रीय सदस्य एनपी साउदले नयाँ पत्रिकासँग भने, ‘मस्यौदा समितिबाट फरक मतसहित आएका विषयमा सहमति खोज्ने हाम्रो प्रयास हुन्छ ।’

बैठकमा सभापति शेरबहादुर देउवा, उपसभापति विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, नेताहरू बालकृष्ण खाण, एनपी साउद, ज्ञानेन्द्र कार्की, रमेश लेखक, भीष्मराज आङदेम्बेलगायत ४० केन्द्रीय नेता सहभागी थिए ।

मस्यौदामा यी विषय सच्याउन आवाज उठाउने
संस्थापन पक्षको बैठकले मस्यौदामा समावेश भएका केही विषय सच्याउन आवाज उठाउने निर्णयसमेत गरेको छ । क्रियाशील र साधारण नबनाई एकै किसिमको मात्रै सदस्यता राख्ने, मुलुकको जनसंख्याको प्रतिनिधित्वका आधारमा नभई पार्टी सदस्यताका आधारमा पार्टीमा आरक्षण दिने प्रस्ताव गर्ने निर्णय भएको साउदले बताए ।

मस्यौदामा पार्टीको केन्द्र र प्रदेश समितिबीच समन्वयनको दह्रो परिकल्पना नगरिएको निष्कर्ष पनि निकालेको छ । दुई समितिले एक–अर्काको क्षेत्राधिकार मिचेर समानान्तर काम नगरून् भन्न मस्यौदा समिति सदस्यको ध्यानाकर्षण गराउने भएको छ । त्यस्तै, अहिलेका लागि मात्रै जिल्ला सभापतिलाई पदेन जिल्ला अधिवेशन प्रतिनिधि बनाउने व्यवस्था विधानमा गर्ने जोड दिनेछ ।

एकपटकका लागि अहिलेको मस्यौदामा गरिएको ‘जहाँ मतदाता नामावली, त्यहीँबाट क्रियाशील सदस्यता लिने वा नवीकरण गर्ने’ व्यवस्थालाई चाहेको ठाउँबाट क्रियाशील सदस्यता दिने व्यवस्था मिलाउन केन्द्रीय समिति बैठकमा आवाज उठाउने सहमति भएको साउदले बताए ।

पौडेल पक्ष पदाधिकारी बढाउन लाग्ने
पौडेल पक्ष भने केन्द्रीय कार्यसमितिको आकार बढाउन सिफारिस भएकै सिद्धान्तअनुसार पदाधिकारी संख्या बढाउनुपर्ने अवाज उठाउने निष्कर्षमा पुगेको छ । मस्यौदामा फरक मत राखेका सदस्यलाई फरक मत राख्नुको कारणबारे बोल्न दिन आग्रह गर्ने र पदाधिकारी थप्नुपर्ने विषय सबैले जोडदार उठाउने निर्णय भएको केन्द्रीय सदस्य बद्री पाण्डेले बताए ।

‘जुन सिद्धान्तका आधारमा केन्द्रीय कार्यसमितिको संख्या बढाइएको हो, त्यही सिद्धान्तका आधारमा पदाधिकारी संख्या बढाउनुपर्ने धारणा सबैले राख्ने भन्नेमा एकमत बनेको छ,’ पाण्डेले भने, ‘अन्य विषयमा भने केन्द्रीय समितिमा छलफल चल्दै गर्दा समूहको बैठक बसेर धारणा तय गर्ने निकर्षसहित बैठकबाट उठ्यौँ ।’ बैठकमा नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, प्रकाशमान सिंह, डा. रामशरण महत, अर्जुननरसिंह केसी, नवीन्द्रराज जोशी, कमला पन्त, किरण यादव, चन्द्र भण्डारी र गगन थापा सहभागी थिए ।

जो पौडेल समूहको भेलामा उपस्थित भएनन्
पौडेल समूहको बैठकमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, डा. शेखर कोइराला, सुजाता कोइराला, महेश आचार्य, डा. मीनेन्द्र रिजाललगायत शीर्ष नेता उपस्थित भएनन् ।


नयाँ पत्रिका




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ