कांग्रेस फर्किएको वर्ष दिनमा बल्ल गच्छदार उपसभापति

2018-11-07

काठमाडौँ - दश वर्षपछि माउ पार्टी कांग्रेसमै फर्किएका नेता विजयकुमार गच्छदार उपसभापतिमा मनोनीत भएका छन् । तत्कालीन लोकतान्त्रिक फोरमलाई कांग्रेसमा विलय गराएको एक वर्ष २० दिनपछि उनी राजनीतिक निर्णयका आधारमा उपसभापति बनेका हुन् । मंगलबारको पार्टी केन्द्रीय समिति बैठकले निर्णय अनुमोदन गरेको छ ।

पहिलो संविधानसभा निर्वाचनअघि गच्छदार कांग्रेस छाडेर उपेन्द्र यादवले नेतृत्व गरेको फोरममा प्रवेश गरेका थिए । पछि, फोरम फुटाएर आफ्नै नेतृत्वमा लोकतान्त्रिक फोरम गठन गरेका थिए । गच्छदारलाई उपसभापतिमा मनोनीत गरे पनि उनीसँगै तत्कालीन लोकतान्त्रिक फोरमबाट आएका नेता–कार्यकर्ताको समायोजन भएको छैन । उनीहरूको समायोजनका लागि उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा पाँचसदस्यीय समायोजन समिति गठन गरिएको छ ।

समितिलाई दुवै पार्टीका केन्द्रदेखि प्रदेश, जिल्ला, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्रियाशील सदस्य, क्षेत्र, नगर, गाउँ कार्यसमिति, भ्रातृ संस्थाहरूको समायोजन प्रक्रिया पूरा गर्ने जिम्मा दिइएको छ । केन्द्रीय कार्यसमितिको अर्को बैठकमा समितिले समायोजनको खाकासहितको प्रस्ताव पेस गर्नुपर्नेछ ।

पौडेल र सिटौला पक्षको आपत्ति
यसअघि गच्छदारलाई बाधा अड्काउ फुकाउको माध्यमबाट उपसभापति बनाउने तयारी थियो । तर, अन्ततः देउवाले राजनीतिक आवश्यकताको आधार प्रस्तुत गर्दै उपसभापति मनोनीत गरेपछि रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षले असन्तुष्टि जनाएका छन् ।

व्यक्तिभन्दा पनि प्रक्रियामा आफूहरूले असन्तुष्टि जनाएको नेता अर्जुननरसिंह केसीले बताए । ‘व्यक्तिका रूपमा गच्छदारप्रति हाम्रो असहमति होइन, विधानमा भएको व्यवस्थालाई फुकाएर गर्नुपर्नेमा हाम्रो जोड थियो,’ केसीले भने, ‘तर, राजनीतिक निर्णयका आधारमा गरिएपछि प्रक्रियालाई ख्याल गरिएन भन्ने हाम्रो मत हो ।’

संस्थानपको जवाफ : गच्छदारलाई राजनीतिक निर्णयमै उपसभापति मनोनित गरिनु विधिविपरित भएको भन्दै नेता रामचन्द्र पौडेलले गुनासो गरेका थिए । जवाफमा सभापति देउवाले एक वर्षअघि नै पार्टी एकतापछि गरिएको निर्णयलाई राजनीतिक निर्णयकै रूपमा बुझिदिन आग्रह गरे । अर्का उपसभापति विमलेन्द्र निधिले पार्टी एकता राजनीतिक विषय भएकाले उपसभापितमा मनोनीत गर्नु पनि राजनीतिक नै भएको बताए । ‘पार्टी एकता पनि राजनीतिक नै हो । उहाँलाई राजनीतिक सहमतिका आधारमा उपसभापति चयन गरिएको हो,’ निधिले भने, ‘यो निर्णयलाई महासमितिले ग्रहण गर्छ ।’

निधि र गच्छदार को वरिष्ठ ?
कांग्रेसमा मधेसी मूलका दुई नेता उपसभापति भएका छन् । निधि केही महिनाअघि मनोनीत भएका थिए । दुई नेतामध्ये पहिले मनोनीत गरिएका निधि नै वरीयतामा अगाडि रहने भएका छन् ।

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले वरीयताक्रममा गच्छदारभन्दा निधि अगाडि रहने बताए । ‘पहिले आफू र उहाँ (गच्छदार) दोस्रो उपसभापति हो । यो कुरा उहाँलाई पनि थाहा छ र सहमत हुनुहुन्छ,’ निधिले आफूनिकट नेताहरूसँग भनेको एक नेताले बताए । तर, गच्छदारलाई मनोनीत गरिएको औपचारिक जानकारी दिने क्रममा केन्द्रीय सदस्य रमेश लेखकले वरीयता पछि टुंगो लाग्ने बताए ।

निधि केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक पनि हुन् । पार्टी एकतापछि गच्छदारलाई विशेष आमन्त्रित सदस्यका रूपमा केन्द्रीय समितमा प्रवेश दिइएको थियो । संसदीय दलको नेतामा देउवा विजयी भएपछि गच्छदारलाई दलको उपनेता चयन गरिएको थियो । अर्का उपसभापतिको काम, कर्तव्य र जिम्मेवारी के हुने भन्ने खुलाइएको छैन ।

अब थपिलाएन् पदाधिकारी ?
नयाँ विधानको मस्यौदा बन्दै गर्दा सभापति देउवाले राजनीतिक निर्णयमा गच्छदारलाई उपसभापति बनाउनुलाई केही नेताले रणनीतिक पनि मानेका छन् । विधानको प्रारम्भिक मस्यौदामा पदाधिकारी बढाउँदा सबै मनोनीत गर्ने विकल्पमा पौडेल र सिटौला पक्षको आपत्ति भएपछि संस्थापन पक्ष पछाडि हटेको थियो । तर, पौडेल र सिटौला पक्षले अहिले सबै पदाधिकारी निर्वाचित गर्ने गरी एक सय २५ केन्द्रीय सदस्य बनाइए तीन उपसभापति, तीन महामन्त्री र तीन कोषाध्यक्ष हुनुपर्ने मत अघि सारेका छन् । तर, देउवाले गच्छदारलाई उपसभापतिमा अघि सारेर १४औँ महाधिवेशनअघि पदाधिकारी थप गर्ने पाटोलाई बन्द गर्न खोजेको एक नेताको आरोप छ । पदाधिकारी थप गर्दा १४औँ महाधिवेशनमा अर्को पक्षले फाइदा उठाउन सक्ने बुझाइ देउवामा छ ।

लेखापरीक्षण समिति संयोजकमा घिमिरे
कांग्रेस केन्द्रीय बैठकले नेपाली कांग्रेस केन्द्रीय लेखापरीक्षण समिति संयोजकमा केन्द्रीय सदस्य श्याम घिमिरेलाई मनोनीत गरेको छ । विधानको धारा २४ (८) अनुसार उनलाई संयोजकमा मनोनीत गरेको कांग्रेसले जनाएको छ ।

अस्पतालको जग्गामा व्यापारिक मल बनाउन नदिन ध्यानाकर्षण
कांग्रेसले चितवनस्थित बिपी कोइराला क्यान्सर अस्पतालका नाममा रहेको जग्गामा व्यापारिक मल र सभागृह बनाउने तयारीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अस्पतालको जग्गा कुनै पनि निकाय वा तहले अन्य प्रयोजनका लागि प्रयोग नगर्न–नगराउन कांग्रेसको माग छ ।

सर्लाहीमा कांग्रेस कार्यकर्ता रामविलास महतोलाई नेकपाका कार्यकर्ताले गोली हानी हत्या गरेको भन्दै दोषीलाई कारबाही गर्न पनि माग गरिएको छ । अन्य कार्यकर्ता महादेव राय, विवेक महतो, प्रमोद सहनी, भोजेन्द्र महतो, श्रीनारायण महतो, प्रेमनारायण महतो र मुकेशकुमार कुशवाह गम्भीर घाइते भएको पनि जनाएको छ । उनीहरूको निःशुल्क उपचार गर्न सरकारसँग माग गरिएको छ ।

 

नयाँ पत्रिका




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ