कांग्रेस विधानमा थपिँदै यी सात नयाँ प्रावधान !

2018-11-03

काठमाडौँ - आगामी मंसिरमा तय भएको महासमिति बैठकमा पेस गर्ने गरी कांग्रेसको विधान संशोधन कार्य अन्तिम चरणमा पुगेको छ । महामन्त्री पूर्णबहादुर खड्का संयोजकत्वको समितिले विधान मस्यौदा लेखनलाई अन्तिम चरणमा पु-याएको छ । कांग्रेसको संशोधन हुन लागेको विधानमा मुख्यगरी सात विषयमा नयाँ प्रावधान राखिने भएको छ । देश संघीयतामा गएपछि कांग्रेसले पार्टीको विधान सोहीअनुसार तयार पारिरहेको छ । कांग्रेसको संशोधित विधानमा के–के थपिँदै छन् ।

केन्द्रमा उम्मेदवार हुन बुथ समितिबाटै निर्वाचित हुनुपर्ने
कांग्रेसको कुनै पनि तहमा कसैको पनि स्वतः प्रतिनिधित्व नहुने भएको छ । विधान मस्यौदा समितिले अन्तिम मस्यौदा लेख्न बनाएको उपसमितिले पार्टीको आन्तरिक लोकतन्त्रलाई प्रभावकारी बनाउन भन्दै बुथबाटै निर्वाचित हुँदै आउनुपर्ने प्रावधान राखेर विधानको मस्यौदा तयार पारेको हो । समितिका संयोजक पार्टी महामन्त्री पूर्णबहादुर खड्काको संयोजनमा उपसमितिले तयार पारेको मस्यौदाअनुरूप अब कांग्रेसको वडा समितिदेखि केन्द्रीय कार्यसमितिसम्म पदाधिकारी वा सदस्य बन्न बुथ समितिबाटै अनिवार्य रूपमा निर्वाचित हुँदै आउनुपर्नेछ ।

शनिबार बस्ने मस्यौदा समितिको पूर्ण बैठकमा पेस गर्न तयार गरिएको मस्यौदा दिलेन्द्र बडू, आनन्द ढुंगाना र रमेश लेखकले तयार गरेका हुन् भने उनीहरूलाई संयोजक खड्का र डा. मीनेन्द्र रिजालले सहयोग गरिरहेका छन् ।

मस्यौदामा उल्लेखित प्रावधानमा केन्द्रीय सभापति, पदाधिकारी र सदस्यले समेत बुध समितिबाट, वडा, गाउँ वा नगर एकाइ, प्रदेश क्षेत्रीय कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रीय समिति हुँदै महाधिवेशन प्रतिनिधिमा प्रतिस्पर्धा गरी निर्वाचित भएपछि मात्रै केन्द्रको उम्मेदवार बन्न पाउने व्यवस्था गरिएको उपसमिति सदस्य ढुंगानाले जानकारी दिए ।

‘अब केन्द्रमा उम्मेदवार बन्ने व्यक्ति बुथ समितिबाट, वडा, गाउँ वा नगर एकाइ, प्रदेश क्षेत्रीय कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रीय समिति हुँदै महाधिवेशन प्रतिनिधिमा प्रतिस्पर्धा गरी निर्वाचित हुनुपर्नेछ,’ उनले भने ।

सदस्यता मतदाता नामावली भएकै स्थानबाट
मस्यौदामा नेताले पार्टी सदस्यता मतदाता नामावली भएकै स्थानबाट मात्रै लिने र नवीकरण गर्ने व्यवस्था गरिएको छ । नवीकरण गर्न आफ्नो सदस्यता भएको गाउँ, नगर, प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा जिल्लामा हुने पार्टीको कार्यक्रममा ८० प्रतिशत उपस्थिति अनिवार्य हुनुपर्ने प्रावधान राखिएको छ । ढुंगानाले कार्यक्रममा भएको उपस्थिति दर्साउन पार्टीले नेतालाई एउटा नोटबुक प्रदान गर्ने र त्यसमा कार्यक्रम आयोजकको सही अनिवार्य रूपमा गरिएको हुनुपर्ने बताए ।

त्यस्तै, सदस्यता नवीकरणका लागि आफू स्वयं उपस्थित हुनुपर्ने व्यवस्था पनि मस्यौदामा गरिएको छ । सम्बन्धित गाउँ वा नगर एकाइमा गएर सदस्यता लिनुपर्ने र नवीकरण गर्नुपर्ने प्रावधानले नेताहरूमा सदस्यता बढाउन प्रतिस्पर्धा र होडबाजी कम हुने विश्वास समितिले लिएको ढुंगानाले बताए । मस्यौदा निर्माण पूर्ण समितिमा पनि यो विषय सर्वसम्मत पारित भएको थियो । स्थानीय तहको निर्वाचनमा कतिपय वडाबाट पार्टीको उम्मेदवारले क्रियाशील सदस्य संख्याभन्दा कम मत खसेको भनेर सर्वत्र गुनासो आएपछि समितिले यस्तो प्रावधान राखेको ढुंगानाले बताए ।

अब कांग्रेसको सदस्यता एउटै प्रकृतिको
विधानमा अहिले रहेको क्रियाशील सदस्यता र साधारण सदस्यताको प्रावधान हटाएर एकै किसिमको सदस्यता राखिने भएको छ । मस्यौदा समितिका सदस्यबीचको सर्वसम्मतिले एउटै किसिमको सदस्य हुने प्रावधान राखिएको हो । ‘हामीले मस्यौदा समितिमा सर्वसम्मत तरिकाले पारित गर्दै पार्टीको सदस्यता एउटै राख्ने प्रावधान पास गरेका छौँ,’ ढुंगानाले भने ।

टिकट बाँड्ने संसदीय समिति चार तहमा
नयाँ विधान मस्यौदामा उम्मेदवार छनोट गर्ने संसदीय समितिको एकाधिकारलाई तोड्दै चार तहमा संसदीय समिति रहने व्यवस्था गरिएको छ । केन्द्र, प्रदेश, जिल्ला कार्यसमिति र स्थानीय तह कार्यसमितिमा संसदीय समिति रहने व्यवस्था विधानमा गर्न लागिएको हो । संघीय संसद्को उम्मेदवार छनोट गर्दा बुथ, वडा, स्थानीय तह, प्रदेश क्षेत्रीय समिति र प्रतिनिधिसभा क्षेत्रीय समितिले गरेको सिफारिसबमोजिम नै जिल्ला कार्यसमितिले उम्मेदवारको टुंगो लगाउने अधिकार विधानमा प्रस्ताव गरिएको ढुंगानाले बताए । जिल्ला कार्यसमितिले गरेको निर्णय चित्त नबुझे प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमितिमा पुनरावलोकन गर्ने अधिकार विधानमा सुरक्षित गरिएको छ ।

स्थानीय तहको एकाइलाई गाउँ वा नगरको उम्मेदवार छनोट गर्ने अधिकार दिइएको छ । मातहतको एकाइ अर्थात् वडा समितिले सिफारिस गरेका तीनजनाबाट मात्रै स्थानीय तहको उम्मेदवार छनोट गर्नुपर्ने बाध्यात्मक व्यवस्था विधानमा गरिएको छ । विधानमा वडालाई बुथ समितिले सिफारिस गरेका तीनजना भित्रबाट मात्रै उम्मेदवार छनोट गर्ने अधिकार दिइएको छ ।

तीन तहमा स्थायी प्रकृतिका अनुशासन समिति
नयाँ विधानमा तीन तहमा स्थायी प्रकृतिका अनुशासन समितिको व्यवस्था गर्न लागिएको छ । अहिले केन्द्रमा मात्रै रहने अनुशासन समितिको एकाधिकार तोडेर केन्द्र, प्रदेश र जिल्ला कार्यसमितिमा एक–एकवटा स्थायी प्रकृतिका अनुशासन समिति गठन गर्ने प्रावधान मस्यौदामा राखिएको हो । अनुशासन उल्लंघन गर्नेमाथि कारबाही गर्ने अधिकार जिल्ला कार्यसमितिलाई दिने प्रावधान मस्यौदामा राखिएको छ ।

समावेशी कोटामा एकपटक मात्रै
समावेशी कोटाबाट पार्टी केन्द्रीय कार्यसमिति, विभाग वा संसद्मा एकपटकभन्दा बढी अवसर नदिने व्यवस्था गरिएको छ । अहिले समावेशी कोटाबाट धेरैपटक एकैजनाले सुविधा लिएपछि त्यो प्रवृत्ति रोकेर नयाँलाई अवसर दिन यस्तो व्यवस्था गरिएको सदस्य ढुंगानाले बताए । अहिले पार्टी केन्द्रीय समिति र संसद्मा समानुपातिक तर्फबाट दलित कोटाबाट लगातार तीनपटकसम्म अवसर पाएका छन् ।

केन्द्रीय कार्यसमिति १२१ देखि १२५ सम्म
मस्यौदा समितिले पार्टीको केन्द्रीय कार्यसमिति र पदाधिकारी कति रहने भन्ने टुंग्याएको छैन । केन्द्रीय कार्यसमितिको संख्या १ सय २१ वा १ सय २५ रहने विकल्प राखिएको ढुंगानाले बताए । पदाधिकारी थप गर्ने विषयमा सहमति भए पनि कति थप्ने भन्ने विषयमा सहमति बनेको छैन । ‘केन्द्रीय कार्यसमिति र पदाधिकारी संख्या शीर्ष तहमा सहमति गरी मिलाउने जिम्मा केन्द्रीय कार्यसमितिलाई छाडेर हामी प्रतिवेदन बुझाउँछौँ,’ ढुंगानाले भने । संस्थापन पक्ष पदाधिकारी थप्नुपर्ने र नेता रामचन्द्र पौडेल पक्ष थप्न नहुने पक्षमा रहेको छ । केन्द्रमा पदाधिकारी सबै निर्वाचित हुने कि निर्वाचित र मनोनीत गर्ने गरी मिश्रित बनाउने भन्नेमा पनि सहमति हुन सकेको छैन । केन्द्रमा २९ वटा विभाग रहने प्रावधान राखिएको छ ।

 

नयाँ पत्रिका




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ