पाँच सय भन्दा बढी नेपाली कलाकारसँग अमेरिकाको ‘ग्रीन कार्ड’

2018-10-27

काठमाडौं – नेपालको राजनीतिक अस्थिरता र पेशागत नैराश्यताका कारण दर्शाउँदै संयुक्तराज्य अमेरिका पुगेर उतैको स्थायी आवास अनुमतिपत्र (ग्रीन कार्ड) लिने नेपाली कलाकारको सङ्ख्या ५०० नाघेको छ ।

उचित वातावरण भएमा आफूहरु स्वदेश फर्कन तयार हुने जनाए पनि उनीहरु उतै रमाउन थालेका छन् । ‘नेपाली अमेरिकन कलाकार सङ्घ’ का अध्यक्ष सुमन बुढामगरका अनुसार हालसम्म ५०२ जना नेपाली कलाकारले अमेरिकाको स्थायी आवास अनुमतिपत्र लिइसकेका छन् । सङ्घले यसबारे सङ्कलित विवरणसहितको पुस्तक प्रकाशनको तयारी पनि गरेको छ । तीमध्ये कतिपयले अन्य कामसहित कलाकारितालाई पनि निरन्तरता दिएका छन् भने कतिपय पेशाबाट पलायन भएका छन् ।

‘सेलिब्रेटी’ कलाकारलाई त्यहाँको सरकारले ‘एक्स्ट्रा अर्डिनरी आर्टिष्ट’ को मान्यतासमेत दिने भएकाले उनीहरु उतै सम्मानित भएको अनुभव गर्छन् । कतिपय कलाकार नेपाल आउने जाने गर्छन् भने कतिपयले नेपाली नागरिकता त्यागिसकेका छन् । स्थायी आवास अनुमतिपत्र हुनेले अमेरिकामा स्थायी बसोबास र काम गर्न पाउनेछन् भने तीन वर्षपछि त्यहाँको नागरिकता लिने प्रक्रियामा सहभागी हुन पाउनेछन् ।

दसैँका अवसरमा अमेरिका पुगेका वरिष्ठ सङ्गीतकार टीका भण्डारी र कलाकारबीच न्यूयोर्क शहरको ज्याक्सन हाइट क्विस्न्समा सामूहिक टीका तथा शुभकामना साङ्गीतिक साँझ कार्यक्रममा अध्यक्ष बुढामगरले त्यो जानकारी दिनुभएको हो । भण्डारीसँगै कलाकार सपना श्री, गायक नरबहादुर दाहाल, शिशिर श्रेष्ठ, विमल डाँगी मगर, शिशिर श्रेष्ठबाट कलाकार तथा सञ्चारर्कीले सामूहिक टीका लगाइएको कार्यक्रममा नेपाली कलाकार, साहित्यकार तथा बुद्धिजीवीको अमेरिकाप्रतिको मोह र बाध्यताबारे समीक्षा पनि गरिएको थियो ।

निजामती, राजनीति, उद्योग, व्यावसाय क्षेत्रका व्यक्ति पनि विगतमा अमेरिका पलायन भएका घटना छन् । पछिल्लो समय नेपाल सरकारले डिभी-पिआरधारी राष्ट्रसेवकलाई कारवाहीको चेतावनी दिएपछि कर्मचारीमा अमेरिका जाने आकर्षण बाध्यताबस घटेको थियो ।

सङ्घका अनुसार अमेरिकामा रहने कलाकार कतिपय कोल्डस्टोर, पार्लर, पेट्रोल पम्प, होटल र रेष्टुराँमा काम गर्छन् भने कतिपयले आफ्नै व्यवसाय सञ्चालन गरिरहेका छन् । उनीहरु प्रतिघण्टा १० देखि १३ अमेरिकी डलर कमाउँछन् । कोही अध्ययनमा पनि लागेका छन् । स्वदेशमा लामो सशस्त्र द्वन्द्व चलेको र नेपाली चलचित्र क्षेत्रले उद्योगको रुप लिनुभन्दा अघिदेखि कलाकार विदेश पलायन हुन थालेका हुन् ।

रेडियो नेपालका उपनिर्देशकसमेत रहनुभएका सङ्गीतकार भण्डारीले रासससँग भन्नुभयो, “स्वदेशमा समृद्धि र स्थायित्वको लहर चलेका बेला अमेरिकामा बस्ने नेपाली कलाकारको सङ्ख्या बढ्नु पक्कै पनि शुभसङ्केत होइन, उनीहरुलाई फर्काउने वातावरण सिर्जना गर्नुपर्छ ।” उहाँले ती कलाकारमा नेपालका लागि अझै केही गरौँ भन्ने भावना आफूले पाएको जनाउँदै उनीहरुलाई पेशा वा देशबाट पलायन भएका भनिहाल्न नहुनेमा जोड दिनुभयो ।

कलाकार प्रेमराजा महत, सरोज खनाल, जीवन लुइँटेल, रमित ढुङ्गेल, रामप्रसाद खनाल, महेन्द्र बुढाथोकी, नारायण पुरी, कृष्ण चापागाईं, अरुणिमा लम्साल, रञ्जना शर्मा, साहित्यकार ज्ञानेन्द्र गदाललगायत अमेरिकामै बस्दै आउनुभएको छ ।

अघिल्लो दशकमा केही समय उता बसेर नायिका करिष्मा मानन्धर स्वदेश फर्कनुभएको थियो भने नायक भुवन केसीले अमेरिकाको ‘ग्रीनकार्ड’ लिन अस्वीकार गर्नुभएको थियो ।

अमेरिकाको स्थायी नागरिकता लिएका कलाकार तथा सञ्चारकर्मी रवि लामिछानेले हालै अमेरिकाको नागरिकता त्यागेको घोषणा गर्नुभएको थियो । रासस




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ