कांग्रेसमा सभापतिलाई थप शक्तिशाली बनाउनेबारे बहस

2018-08-31

काठमाडौँ - देश संघीय संरचनामा गएपछि सोही संरचनाका आधारमा विधान संशोधन हुँदै गर्दा कांग्रेसमा केन्द्रीय सभापतिलाई अझै बलियो बनाउने कि सामूहिक नेतृत्व प्रणालीमा लाने भन्नेमा बहस सुरु भएको छ । विधान मस्यौदा समितिको बिहीबारको बैठकमा समितिकै सदस्यहरूले केन्द्रीय सभापतिदेखि सदस्यता वितरणको प्रक्रियासहितका विषयमा आ–आफ्ना तर्क राखेका छन् ।

सभापति शेरबहादुर देउवानिकट नेताहरू मानबहादुर विश्वकर्मा र फरमुल्लाह मन्सुरले यसअघि वितरण गरिएजस्तै साधारण र क्रियाशील सदस्यता वितरण गर्नुपर्ने, पार्टीलाई क्याडरबेसमा लानुपर्ने, सदस्यतामा अझै कडाइ गर्नुपर्ने र कडा अनुशासनमा पार्टी चलाउनुपर्ने बताए । उनीहरूले सभापतिलाई थप बलियो बनाउन केन्द्रमा सभापतिबाहेकका पदाधिकारी मनोनीत गर्न पाउने आशय व्यक्त गरेका थिए ।

सदस्य महालक्ष्मी उपाध्याय डिनाले अहिलेको प्रणालीमा जाँदा सभापतिलाई आफूले चाहेजसरी काम गर्ने अवस्था नरहेको बताइन् । ‘सामूहिक नेतृत्व प्रणालीमा सभापतिलाई मात्रै दोष लगाउने भइरहेको छ । जोसुकै सभापति भए पनि समस्या यस्तै हुन्छ,’ उनले भनिन्, ‘पार्टीमा प्रभावकारी नतिजा दिने हो भने सभापतिलाई बाँध्न हुँदैन, कि सबै मनोनीत गर्नुपर्छ कि सबै पदाधिकारी निर्वाचित गर्नुपर्छ ।’

कांग्रेस केन्द्रमा सभापति, एक महामन्त्री र एक कोषाध्यक्ष निर्वाचित हुन्छन् । उपभापति, महामन्त्री र सहमहामन्त्री गरी तीनजना सभापतिबाट मनोनीत हुन्छन् । यस्तो हुँदा गुट र उपगुट मौलाएको कांग्रेसमा महाविधेशनबाट अलग गुटका नेता पदाधिकारी पुग्छन् । सभापति एउटा लाइनको हुँदा महामन्त्री अर्को गुटबाट जित्न सक्छ । यस्तो हुँदा सभापतिले काम गर्न नसक्ने मत एकथरी नेताहरूले गर्दै आएका छन् ।

सदस्यता सुधारको विषय प्रमुख मुद्दा
कांग्रेसमा सदस्यता वितरणको विषयमा सबैभन्दा बढी कुरा उठेको छ । सभापतिलाई थप बलियो बनाउन सदस्यतालाई अझै कडाइ गर्नुपर्छ भन्ने विषय सभापति पक्षधरकै नेताले उठाएका छन् । तर, पौडेल र सिटौला पक्षका नेताहरू पार्टीमा युवाहरूको आकर्षण बढाउन खुला सदस्यताको अवधारणामा जानुपर्ने पक्षमा छन् ।

‘सदस्यता सुधार गर्न वितरणको तरिका र पद्धतिमा सुधार गर्नुपर्छ भन्ने राय पनि छ । यसका लागि सदस्यता खुला गर्नुपर्छ । संरचना बढाउनुपर्छ । राज्यले लिएको समावेशिताकै शैलीलाई पालना गरेर जानुपर्छ भन्ने सुझाब आएका छन्,’ समिति सदस्य प्रदीप पौडेलले नयाँ पत्रिकासँग भने, ‘३० वर्षतलका युवालाई कांग्रेसमा कसरी आकर्षित गर्न सकिन्छ, यसका लागि खुकुलो प्रणाली बनाउनुपर्छ भन्नेमा मत आएका छन् ।’

कुनै भूगोल, कुनै जातिविशेषको वर्चस्व छ भने पार्टीको संरचनामा सभापति पनि सोही समुदायबाटै चयन गर्नुपर्ने विषय पनि आएको सदस्य पौडेलले जानकारी दिए । युवाहरूलाई पार्टीमा आकर्षण गर्न खुला सदस्यता वितरणसहित पार्टीका संरचना सुधारका लागि डा. मीनेन्द्र रिजाल र रमेश लेखकले पनि जोड दिए ।

नेता रिजालले पार्टीमा युवाको आकर्षण बढाउन उमेरमा पाका नेताहरूले बाटो खोल्दै जानुपर्ने मत राखे । पार्टीमा वर्षौंदेखि योगदान गरेका नेतालाई पार्टीले सम्झिने र आवश्यक पर्दा काम गर्ने कुनै न कुनै भूमिका दिने भन्दै निश्चित उमेर भएपछि रिटायर्ड हुनेसम्मको विकल्पमा जाने आशय राखेको जानकारी सदस्य उपाध्यायले दिइन् । साधारण र क्रियाशील मात्रै भन्दा प्रारम्भिक, सक्रिय, क्रियाशील, सक्रिय, विशिष्ट सदस्यता बनाएर सदस्यको थप वर्गीकरण गर्नुपर्ने विषय पनि उठेका छन् ।

फरक विषयलाई पनि प्रारम्भिक मस्यौदामा समेटिने
विधान मस्यौदा समितिले विधानमा राय र सुझाब दिन सजिलो होस् भन्न अहिलेको वैधानिक विषयभन्दा फरक विषयलाई मस्यौदा छलफलमा समेट्ने भएको छ । ‘यसअघि पनि कांग्रेसले ७७ वटै जिल्लाबाट विधानका लागि सुझाब लिइसकेको छ ।

जिल्ला सभापतिहरूले पनि सुझाब दिनुभएको छ,’ समिति सदस्य प्रदीप पौडेलले भने, ‘अहिलेको वैधानिक व्यवस्थाभन्दा फरक विषयमा आएका सुझाबलाई मस्यौदा, छलफलका निम्ति यसैलाई लाने भन्ने छ ।’ कांग्रेसले २१ भदौसम्म विधानमा लिखित सुझाब दिन पार्टीका संघीय सांसद, प्रदेश सांसद, भ्रातृ शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समितिसहितलाई आह्वान गरेको छ ।

के–के गर्छन् चार उपसमितिले ?
चार उपसमितिमध्ये एउटालाई सदस्यता साधारण र क्रियाशील मात्रै हुने कि अरू तह पनि थप गर्ने भन्ने, अर्कोलाई संघीय संरचनाअनुसारका पार्टीका अधिवेशनका विषयमा मस्यौदामा विषय समेट्ने अधिकार दिइँदै छ । प्रतिनिधि चयन, केन्द्र, प्रदेश, क्षेत्र, नगरपालिका, गाउँपालिका, वडा र बुथसम्मका प्रतिनिधि छान्ने विषय अर्को समितिलाई दिइनेछ ।

त्यस्तै, महासमिति सदस्य, प्रदेश निर्वाचन समिति, संघीय निर्वाचन समिति, क्षेत्रीय समिति, जिल्ला समन्वय समितिको विषयका लागि अर्को र केन्द्रीय समिति, केन्द्रीय विभाग, भ्रातृ र शुभेच्छुक संस्था तथा जनसम्पर्क समिति गठनसहितका विषयलाई मस्यौदामा समेट्दै मूल प्रस्तावमा बनाउन जिम्मेवारी दिइनेछ । समितिमै रहेका सदस्यमध्येबाट यो समितिमा सदस्य चयन हुनेछन् । बिहीबार नै समितिको नेतृत्व सदस्यहरूलाई दिने भनिए पनि हुन सकेन । शुक्रबार पुनः बैठक बस्दै छ ।

 


नयाँ पत्रिका




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ