अठारौँ एसियाली खेलकुद आजदेखि, यस्ताे छ नेपालकाे विगत !

2018-08-18

जकार्ता - इनर्जी अफ एसिया अर्थात् एसियाको शक्ति भन्ने सन्देश बोकेर १८ औं एसियाली खेलकुद शनिबार इन्डोनेसियाको राजधानी सहर जकार्तामा सुरु हुँदै छ । एसियाका ४५ राष्ट्रका १० हजार हाराहारीमा भाग लिने खेलाडीको आतिथ्यताका लागि इन्डोनेसियाले भरपूर शक्ति परिचालन गरेको छ ।

इन्डोनेसियाका राष्ट्रपति जोको विदोदो शुक्रबार एसियाली खेलकुदको टर्च रिलेमा सहभागी हुदै। जकार्तामा उद्घाटन र समापन हुने यस एसियाडको अर्को आयोजक सहर पालेम्बाङ पनि हो । ४५ खेल समावेश एसियाडको १० खेल उक्त सहरमा हुनेछन् ।

सन् १९६२ मा एसियाडको चौथो संस्करण आयोजना गरेको जकार्ताले दोस्रोपल्ट एसियाको कुम्भ खेलमेला आयोजना गरेको हो । पछिल्लो समय दु्रतगतिमा आर्थिक विकास गरिरहेको इन्डोनेसियाले आफ्नो शक्ति खेलकुदमार्फत विश्वमाझ प्रदर्शन गर्दै छ ।

प्रतियोगिताका लागि झन्डै १५ हजार स्वयंसेवकलाई परिचालन गरेको छ । एसियाडभर ट्राफिक व्यवस्थापनलाई सहज पार्न ७० भन्दा बढी विद्यालयको पठनपाठन बन्द गरिएको छ । यसले गर्दा दैनिक ३० प्रतिशत ट्राफिकजामबाट मुक्ति मिल्ने अपेक्षा छ । सन् २०१६ को तथ्यांकअनुसार इन्डोनेसियाको जकार्ता विश्वकै आठौं ट्राफिक जाम हुने सहरका रूपमा चित्रित भएको थियो ।

जकार्ता विमानस्थलदेखि नै सहरका सडकका दायाँबायाँ रंगीचंगी बनाइएको छ । मुख्य स्थान, चोक, ठूला बसहरूमा एसियाली खेलकुदको प्रचार सामग्री बग्रेल्ती राखिएको छ भने ठूला होडिङ बोर्ड र डिप्से राखेर एसियाडबारे त्यत्तिकै प्रचारप्रसार गरिएको छ । खेलाडी तथा पदाधिकारीको स्वागतका लागि सयौं स्वयंसेवक परिचालन भएका छन् ।

जेराला बङ कार्नो (जेबीके) मुख्य स्टेडियममा शनिबार साँझ हुने उद्घाटनमा डेनी मलिक र इको सुप्रियान्तोको कोरियोग्राफमा चार हजार डान्सरले प्रस्तुति दिनेछन् भने चर्चित इन्डोनेसियन गायक अनगुनलगायत रैसा, तुलुस, इडो कोन्डोलोजित, फतिन, पुत्री अयुलगायतका संगीतकर्मीले कार्यक्रमलाई विशेष बनाउनेछन् ।

उद्घाटनका लागि १ सय २० मिटर लम्बाइ, ३० मिटर चौडाइ र २६ मिटर उचाइमा बनाइने स्टेजमा पहाडी आकृतिमा इन्डोनेसियाको कलासंस्कृति, बोटबिरुवा र फूलहरूले सजाएको झल्को दिइनेछ । हजारौं टापुको देश भनेर चिनिने इन्डोनेसियाको वास्तविक पहिचान झल्काइनेछ ।

इन्डोनेसियाका राष्ट्रपति जोको विदोदोले एसियाली खेलकुदको उद्घाटन गर्ने कार्यक्रम छ । मुख्य स्टेडियमसहित विभिन्न १२ इन्डोर रंगशालामा एसियाडका खेल हुनेछन् । एसियाडका लागि जेबीके रंगशाला पुनर्निर्माणलाई मात्रै झन्डै ४ करोड डलर खर्च गरेको जनाइएको छ ।

लोगो र मस्कट
एसियाडको लोगोमा रहेको सन्देश हो ‘इनर्जी अफ एसिया’ । सन् १९६२ मा पनि जकार्ताले एसियाली खेलकुद आयोजना प्रयोग भएको मुख्य रंगशाला जेराला बङ कार्नो (जेबीके) हो । लोगोमा यही रंगशालाको एरियल–भ्यु राखिएको छ । यसमा रंगशालाका मुख्य ८ द्वार संकेत गरिएको छ र बीचमा रहेको छ सूर्य । सूर्य एसियाली खेलकुदको लोगो रहँदै आएको छ ।

आयोजकको दाबी छ, लोगोले ती पक्षको प्रतिनिधित्व गरिरहेको छ । एसियाली, इन्डोनेसिया र यहाँको खेलकुद अनि एसियाली देशबीचको मैत्री सम्बन्ध । त्यस्तै मस्कटमा इन्डोनेसियालाई विविधतालाई प्रकट गरिएको छ । यसपल्ट मस्कटमा तीन जनावर छन्, जुन आपंैmमा एसियाली खेलकुदका लागि नयाँ इतिहास हो । यसमध्ये इन्डोनेसियाको पूर्वको प्रतिनिधित्व गर्दै चरा ‘बिन–बिन’, पश्चिमको प्रतिनिधित्व गर्दै गैंडा ‘इका’ र मध्यक्षेत्रको प्रतिनिधित्व गर्दै मृग ‘अटुङ’ रहेका छन् । यी ३ जनावरले आफ्नो क्षेत्रको प्रतिनिधित्व गर्दै त्यहाँको विशेषत: लुगा पनि लगाएका छन् ।

स्वर्णको भोक
एसियाडमा नेपाल अहिलेसम्म स्वर्णका लागि तड्पिरहेको छ । ६७ वर्षे एसियाड इतिहासमा सहभागिता गौरवशाली भए पनि पदकलाई आधार मान्ने हो भने सन्तोष गर्ने ठाउँ छैन । नेपाली खेलाडीले कुल १५ संस्करण खेल्दासम्म एउटै स्वर्णपदक जित्न सकेका छैनन् । बैंकक एसियाड, १९९८ मा तेक्वान्दो खेलाडी सविता राजभण्डारीले जितेको रजतपदक नै नेपालको गौरवशाली एसियाड पदक हो । एसियाडमा दुई पदक जित्ने नेपाली खेलाडीको कीर्तिमान भने दीपक विष्टको नाममा छ । एसियाडमा नेपालका लागि तेक्वान्दो नै सफल बनेको छ ।

पछिल्लो दुई संस्करणमा त नेपालले १–१ कांस्य पदकमै चित्त बुझाउनुपरेको छ । एसियाडमा अहिलेसम्म नेपालले कुल १ रजत र २२ कांस्यपदक जितेको छ । त्यसमा तेक्वान्दोको १ रजत र १३ कांस्य पर्दछन् ।

नेपाली खेलाडीले दक्षिण कोरियाको सोल एसियाड, १९८६ देखि पदक जित्न थालेका हुन् । यो संस्करणमा बक्सिङ र तेक्वान्दोका खेलाडीले ४–४ कांस्यपदक जितेका थिए । त्यसयता सबै एसियाडमा नेपालले पदक जितेको छ ।

के छ यसपालि ?
इन्डोनेसिया पहिलोपल्ट आयोजक बन्दा नेपालले भाग लिएको थिएन । यसपल्ट एसियाडकै इतिहासमा सबैभन्दा धेरै खेल र खेलाडी लिएर नेपाल एसियाडका लागि जकार्ता आइपुगेको छ । नेपालले २९ खेलमा १ सय ८७ खेलाडीलाई उतार्दै छ । त्यसमा ५६ महिला खेलाडी छन् । विगतका संस्करणमा भन्दा यसपालि धेरै खेलका खेलाडीले वैदेशिक प्रशिक्षण पाएका छन् । त्यसले गर्दा पनि पछिल्ला संस्करणको तुलनामा राम्रो नतिजा ल्याउने दाबी गर्छन् नेपाली टोलीका सेभ द मिसन केशवकुमार विष्ट । उनले भने, ‘विगतमा भन्दा यसपल्ट राम्रो नतिजा ल्याउँछौं ।’

तर स्वर्णपदक जित्न भने कठिन हुने उनको निष्कर्ष थियो । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव समेत रहेका विष्टले तेक्वान्दो, कराँते, जुडो, उसु, बक्सिङसहित नयाँ खेलका रूपमा एसियाडमा प्रवेश पाएको पाराग्लाइडिङ र स्केटिङबाट पदक जित्ने सम्भावना रहेको बताए । उनले आफूलाई खेलाडीहरूले वैदेशिक भ्रमणमा गरेको प्रशिक्षण र नतिजाका साथै प्रशिक्षकले दिएको रिपोर्टका आधारमा पदक जित्ने दाबी गरिएको बताए ।

तेक्वान्दो टोली झन्डै साढे दुई महिना दक्षिण कोरियामा प्रशिक्षण गरेर सीधै जकार्ता आएको हो भने कराँतेले जापान, उसुले चीन, बक्सिङले थाइल्यान्ड र स्केटिङले हङकङमा प्रशिक्षण गरेका थिए । पाराग्लाइडिङले पनि पछिल्लो महिना चीनमा प्रि–विश्वकपमा प्राप्त गरेको पदक र नतिजाका आधारमा एसियाडमा पदकको आस गरेको हो ।

सेभ द मिसन विष्टले एसियाडको प्रदर्शन नेपालका लागि १३ औं साग खेलकुदलाई महत्त्वपूर्ण हुने भएकाले यसपालि त्यहीअनुसार खेलाडी सहभागिता गरिएको बताए । उनले वैदेशिक प्रशिक्षणसहित एसियाडकै लागि भनेर सरकारसँग ८ करोड माग गरिएको तर हाल ५ करोडमात्र निकासा भएको जानकारी गराए । उनका अनुसार ६ करोडभन्दा बढी खर्च भइसकेको र अन्य शीर्षकबाट खर्च गरिएको छ ।

दक्षिण कोरियाको चुनबुक युनिभर्सिटीमा प्रशिक्षण गरेर फर्केका तेक्वान्दो टोलीका प्रशिक्षकमध्ये एक र एसियाडका दोहोरो कांस्य विजेता दीपक विष्ट पछिल्लो समय खस्केको तेक्वान्दोका साख जोगाउन सबै खेलाडीले कडा मिहिनेत गरेको बताए । उनले भने, ‘हामीले दुई महिना कोरियामा कडा परिश्रम गरेका छौं । दुईवटा प्रतिस्पर्धात्मक प्रतियोगितामा पनि भाग लियौं । त्यसमा गरेको प्रदर्शनले गर्दा एसियाडमा राम्रो नतिजा आस गरेका छौं ।’

पछिल्लो दुई एसियाडमा तेक्वान्दो पदकविहीन भएको थियो । त्यस्तै कराँतेलाई पनि इन्चोन एसियाडको साख जोगाउनु छ । कराँतेले पनि छोटो समय भए पनि जापानमा प्रशिक्षण गरेर आएको छ । पछिल्लो एसियाडमा विमला तामाङले कातामा जितेको कांस्य नै इन्चोनबाट भित्र्याएको नेपालको एकमात्र पदक थियो ।

यसपालि कराँतेले बन्द प्रशिक्षण पोखरामा गरेको थियो । त्यसपछि १५ दिनका लागि जापानमा विशेष प्रशिक्षणको मौका पाएको थियो ।

साख जोगाउन सक्छ त कराँतेले ? प्रशिक्षक दीपक श्रेष्ठ भन्छन्, ‘हामीलाई साख जोगाउने चुनौती छ । त्यही भएर पनि हामीले प्राप्त अवसरमा कठिन प्रशिक्षण गरिरहेका छौं । पदक जितेर साख जोगाउनलाई भने अन्तर्राष्ट्रिय एक्सपोजर पुगेको छैन भन्ने ठानेका छौं । हामीले तयारीमात्र गर्‍यौं तर एक्सपोजर दिन नपाउँदा आफ्नो स्तरबारे थाहा नै पाउँदैनौं । अनि अरूले कस्तो गरिरहेको छ भन्ने पनि थाहा हुँदैन । दुवैको जाँच्नका लागि त अन्तर्राष्ट्रिय एक्सपोजर नै चाहिन्छ ।’

उद्घाटनको मार्चपासमा नेपालको झन्डा ओलम्पियन कमलबहादुर अधिकारीले बोक्ने भएका छन् । १० औं दक्षिण एसियाली खेलकुदका स्वर्ण र १२ औं सागका कांस्य विजेता कमलबहादुरले बेइजिङ ओलम्पिकमा सहभागिता जनाएका थिए । आफ्नो ६९ केजी तौल समूहका कीर्तिमानधारी तथा नेपालका बलिष्ठ व्यक्तिको उपाधि पाएका उनलाई ओलम्पियन र साग स्वर्णधारीको हैसियतमा १८ औं एसियाडको झन्डा बोक्न दिइएको विष्टले जानकारी गराए । मार्चपासमा नेपालबाट ८० प्रतिनिधिले मात्र सहभागिता जनाउनेछन् । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा टोली नेताका रूपमा रहनेछन् ।

नेपालको कुस्ती, ब्याडमिन्टन र कबड्डीको टोली शुक्रबार बिहान जकार्ता आइपुगेको छ । अन्य खेलका खेलाडी वैदेशिक प्रशिक्षणबाट सीधै जकार्ता आएका हुन् भने केही खेलाडी आफ्नो खेल तालिकाअनुसार आइपुग्नै बाँकी रहेको जनाइएको छ ।

जापान र चीन हाबी
एसियाली खेलकुदको इतिहासमा जापान र चीन शक्तिशाली राष्ट्रमा दरिएका छन् । एसियाडको १८ औं संस्करण आइपुग्दा दुवै राष्ट्रले २–२ पल्ट एसियाको कुम्भखेल मेला आयोजना गरिसकेका छन् । जापानले १९५८ को टोकियो र १९९४ को हिरोसिमा एसियाड आयोजना गर्दा चीनले १९९० को बेइजिङ र २०१० ग्वाङझाउमा एसियाड सम्पन्न गर्‍यो । एसियाडमा जापानको सहभागिता सुरुआतदेखि नै रहे पनि चीन भने १९७४ को तेहरान एसियाडबाट एसियाली खेलकुदमा छिरेको हो ।

अहिलेसम्म यी दुई राष्ट्रमात्र पदकका हिसाबमा अब्बल स्थानमा रहेका छन् । पहिलोदेखि आठौं संस्करण (नयाँदिल्ली १९५१ देखि बैंकक १९७८) सम्म जापानले वर्चस्व जमाएको थियो भने त्यसपछि चीनलाई पछाडि पार्ने कुनै राष्ट्र निस्किएको छैन । जापानको उत्कृष्ट प्रदर्शन भनेको १९६६ को बैंकक एसियाड हो, जहाँ ७८ स्वर्ण, ५३ रजत र ३३ कांस्यपदक जितेको थियो । जापानमात्र एक्लो राष्ट्र हो, जसले हरेक संस्करणमा २० भन्दा बढी स्वर्णपदक जितेको छ ।

तर चीनले आफूले आयोजना गरेका दुवै संस्करणमा जापानलाई नराम्ररी पछाडि पारेको छ । सन् २०१० को ग्वाङझाउ एसियाली खेलकुदमा चीन १९९ स्वर्णसहित अगाडि थियो । १ हजार ५ सय ७७ पदकका लागि प्रतिस्पर्धा हुँदा चीनले थप ११९ रजत र ९८ कांस्यपदक जितेको थियो । जहाँ ४५ राष्ट्रका ९ हजार ७ सय ४ खेलाडीले ४२ वटा खेलमा सहभागिता जनाएका थिए । बेइजिङमा भने चीनले १८३ स्वर्ण जितेको थियो ।

पछिल्लो इन्चोन एसियाडमा चिनियाँ खेलाडीले १९९ स्वर्ण, १०९ रजत र ८५ कांस्यपदक जितेर चीनलाई पदक तालिकाको शीर्षस्थान राखेका थिए । जापान भने तेस्रो स्थानमा थियो । उसलाई दक्षिण कोरियाले पनि उछिन्यो । १ हजार ४ सय ५४ पदकका लागि प्रतिस्पर्धा हुँदा जापानको खातामा ४७ स्वर्ण, ७७ रजत र ७६ कांस्य थियो । पछिल्लोपल्ट ४५ राष्ट्रका ९ हजार ५ सय १ खेलाडीले ३६ खेलमा सहभागिता जनाएका थिए ।

एसियाली खेलकुद फन्को मार्दै सन् १९८२ मा फेरि जन्मस्थल भारतको नयाँदिल्ली फर्कियो, तब चिनियाँ शक्तिको उदय भएको हो । चीनले दिल्ली फर्किएको नवौं संस्करणमा प्रभावशाली जापानलाई पदक तालिकामा पछाडि पारेको थियो । ६१ स्वर्ण, ५१ रजत र ४१ कांस्यपदक जितेर चीन शीर्षस्थानमा रह्यो । २३ राष्ट्रका ३ हजार ४ सय ११ खेलाडी २३ खेलमा ६ सय १४ पदकका लागि भिडेका थिए ।

१८ औं संस्करणसम्म आइपुग्दा चीन १३५५ स्वर्णसहित कुल २९७६ पदकसाथ शीर्षस्थानमा छ । ५५७ स्वर्णसहित २८५८ पदकसहित जापान दोस्रो तथा तेस्रो स्थानमा रहेको दक्षिण कोरियाले ६९७ स्वर्णसहित कुल २०४८ पदक जितेको छ । समग्र पदक तालिकाको टपटेनभित्र पर्ने चार राष्ट्र इरान, भारत, कजाकिस्तान र थाइल्यान्डले मात्र १ सयभन्दा बढी स्वर्णपदक जितेका छन् । यसपल्टको आयोजक इन्डोनेसियाले ९१ स्वर्णसहित आठौं स्थानमा छ । सबैभन्दा धेरै चारपल्ट आयोजक बनेको थाइल्यान्डले १२१ स्वर्णसहित कुल ५१२ पदक जितेर सातौं स्थान ओगेको छ । एसियाडको जन्मदाता भारतको खातामा १३९ स्वर्ण छ ।

नेपालको एसियाड पदक इतिहास (१ रजत, २२ कांस्य)

१९८६, सोल, दक्षिण कोरिया
बक्सिङबाट ४ कांस्य – स्व. दलबहादुर रानामगर, तुलबहादुर थापा, सुशील पोखरेल, मनोजबहादुर श्रेष्ठ
तेक्वान्दोबाट ४ कांस्य – राजकुमार राई, विधान लामा, रामबहादुर घर्ती क्षेत्री, राजकुमार बुढाथोकी
१९९०, बेइजिङ, चीन
बक्सिङबाट १ कांस्य – चित्रबहादुर गुरुङ
१९९४, हिरोसिमा, जापान
तेक्वान्दोबाट १ कांस्य – मानबहादुर शाही
कराँतेबाट १ कांस्य – सीता राई
१९९८, बैंकक, थाइल्यान्ड
तेक्वान्दोबाट १ रजत – सविता राजभण्डारी
तेक्वान्दोबाट २ कांस्य – सपना मल्ल र किशोर श्रेष्ठ
कराँतेबाट १ कांस्य – समरबहादुर गोले
२००२, बुसान, दक्षिण कोरिया
तेक्वान्दोबाट ३ कांस्य – दीपक विष्ट, रेनुका मगर र रितुजिमी राई
२००६, दोहा, कतार
तेक्वान्दोबाट ३ कांस्य – दीपक विष्ट, मनिता शाही र आयशा शाक्य
२०१०, ग्वान्झाउ, चीन
बक्सिङबाट १ कांस्य – दीपक महर्जन
२०१४, इन्चोन, दक्षिण कोरिया
कराँतेबाट १ कांस्य – विमला तामाङ,

 


कान्तिपुर




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ