विप्लव र गोपाल किराँतीबीच एकताको तयारी, वैद्य पनि छलफलमा

2018-08-16

काठमाडौँ - नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र गोपाल किराँती नेतृत्वको पुनर्गठित नेकपा माओवादी केन्द्रबीच पार्टी एकताको गृहकार्य शुरु भएको छ । दुबैपार्टीका नेताहरुले एकताका लागि विभिन्न चरणमा संवादसमेत गरेका छन् ।

पुनर्गठित माओवादीको नेतृत्व गरेका किराँतीले एकताको लागि वार्ता भएको र निकट भविष्यमा एकता हुन सक्ने बताए ।

‘हामी वैद्य कमरेड र विप्लव कमरेडसँग संवादमा छौँ । क्रान्तिकारी शक्तिहरुबीच एकता हुनुपर्छ भन्नेमा हाम्रो एकमत छ । सके सबैबीच एकैपटक, नभए विप्लव कमरेड र हामीबीच एकताको सम्भावना बलियो छ’, किराँतीले भने, ‘क्रान्तिकारी शक्तिहरुबीचको एकता निकट भविष्यमा हुन सक्ने सम्भावना छ । विप्लव कमरेडहरुसँग दुईपटक वार्ता भयो । वार्ता सकारात्मक भएका छन् । हामीले उहाँहरु ठूलो पार्टी भएको हुँदा एकताको औपचारिक पहल उहाँहरुले गर्नुस् भनेर भनेका छौँ ।’

नेता किराँतीले छिट्टै पोलिटब्यूरोको बैठक बसेर औपचारिक रुपमा एकताको पहल सुरु गर्ने बताए ।

तत्कालिन माओवादी केन्द्रले फागुन १० गते किराँतीलाई पार्टीबाट निस्काशन गरेको थियो । त्यसपछि उनी माओवादी केन्द्रलाई पुनर्गठन गर्ने अभियानमा जोडिएका थिए । एमाले र माओवादी एकताको भोलिपल्ट नेता किराँतीले प्रचण्ड नेतृत्वको पार्टीले मार्क्सवाद, लेनिनवाद, माओवादको विचार र बल प्रयोगको सिद्धान्तमा आधारित विचारधारा त्यागेको आरोप लगाउँदै औपचारिक हिसावले माओवादी केन्द्रको पुर्नगठन सुरु गरेका थिए ।

त्यसपछि उनले क्रान्तिकारी शक्तिहरुसँग एकताको पहल थालेका थिए । यहि पहल अन्तर्गत किराँतीले क्रान्त्रिकारी माओवादीका महासचिव मोहन वैद्य किरण र विप्लवसँग संवाद अगाडि बढाएका थिए ।

साउन २२ गते राति विप्लव नेतृत्वको नेकपाका प्रवत्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड चन्दा असुलीको आरोपमा प्रक्राउ परेपछि सो पार्टी अहिले चर्चामा छ । यद्यपी सो पार्टीका महासचिव विप्लवको कपिलवस्तुस्थित निवासमा प्रहरीले वारेण्ट पूर्जी टाँसेपछि उनी भूमिगत छन् । तर पनि एकीकृत जनक्रान्तिको कार्यदिशा लिएको विप्लव नेतृत्को नेकपा र समाजवादी क्रान्तिको कार्यदिशा लिएको पुनर्गठित माओवादी केन्द्रबीच एकताको गृहकार्य भएको हो ।

यसअघि पनि आफूलाई क्रान्तिकारी दाबी गर्ने विभिन्न धारका माओवादीबीच पार्टी एकताको पहल भए पनि त्यसले मूर्तरुप लिन सकेको थिएन । एमाले माओवादी एकतापछि वैद्य, विप्लव र किराँतीले मूलधारको माओवादी आफूहरु भएको दावी गरेका थिए ।

प्रचण्डले माओवादीको विचार, सिद्धान्त र क्रान्तिलाई लत्याएको आरोप लगाउँदै विभिन्न कालखण्डमा बाहिरिएका यी नेताले एमाले–माओवादी एकतामाथि पनि कठोर आलोचना गरेका थिए । र, उनीहरूले प्रचण्ड नेतृत्वको माओवादीलाई लगाएको आरोप मिल्दाजुल्दा थिए ।

विप्लवले विज्ञप्ति जारी गर्दै एमाले र माओवादीबीचको एकतालाई ‘क्रान्तिका भगौडा र नाम कटुवा कम्युनिस्टहरूको गठजोड’ भनेर टिप्पणी गरेका थिए । उनले विज्ञिप्त मार्फत ‘कम्युनिस्ट आदर्शबाट च्यूत भएका अवसरवादी तथा संशोधनवादीको एकता भएको’ पनि आरोप लगाएका थिए ।

एकतालाई लिएर वैद्यले वाम एकताका नाममा माओवादी केन्द्रको विलय भएको टिप्पणी गरेका थिए । एमाले र माओवादी केन्द्रबीच एकता नभएर दक्षिणपन्थी र अवसरवादी धारको मिलन भएको वैद्यको टिप्पणी थियो ।

नेता किराँतीले एमाले–माओवादी एकतापछि ‘प्रचण्ड नेतृत्वको माओवादी केन्द्र नव प्रतिक्रियावादी कित्तामा पलायन भएको’ आरोप लगाएका थिए ।

एमाले माओवादी एकतापछि तीनवटै नेताले क्रान्तिकारी शक्तिबीचको एकतामा जोड दिएका थिए । विप्लवले एमाले र माओवादी केन्द्रको एकताले क्रान्तिकारीमा नयाँ शक्ति र अवसर पैदा गरेको बताएका थिए ।

वैद्यले आफूहरु सबै क्रान्तिकारी शक्तिहरूलाई गोलबन्द गर्ने दिशामा अगाडि बढेको बताएका थिए । त्यसैगरी किराँतीले माओवादी केन्द्रको पुनर्गठनमा जुट्न सवै माओवादीसँग आग्रह गरेका थिए ।

वैद्य र विप्लव ०६९ असार ५ मा तत्कालिन माओवादीबाट पार्टी फुटाएर नयाँ पार्टी गठन गरेका थिए । पछि विप्लवले वैद्यलाई छाडेर नेपाल कम्युनिस्ट पार्टी गठन गरे । एमाले माओवादीबीच फागुन ७ मा सातबुँदे सहमतिपछि किराँतीले त्यसको विरोध गरेका थिए । त्यसको तीन दिन पछि किराँती र विश्वभक्त दुलाल ‘आहूती’ लाई पार्टीबाट निष्काशन गरेको थियो ।

 

 

रातोपाटीबाट




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ