हृदयेश त्रिपाठी सहित ४ सांसद नेकपामा प्रवेश गर्दै

2018-07-30

काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेता हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र समूहलाई पार्टी प्रवेश गराउने प्रक्रिया अघि बढाउने भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार राति अबेरसम्म बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

‘नेकपा संसदीय दलमा रहेको हृदयेश त्रिपाठीको समूहसँग एकीकरण गर्नेबारे छलफल अघि बढाउने निर्णय भएको छ,’ नेकपा केन्द्रीय सचिवालय सदस्य वामदेव गौतमले नयाँ पत्रिकासँग भने, ‘छलफल चलिरहेको छ, तर कसरी, कहिलेसम्म भन्ने टुंगो लागिसकेको छैन ।’

स्वतन्त्र राजनीतिक समूहका नाममा तत्कालीन एमालेको सूर्य चिह्नबाट चुनाव लडेका त्रिपाठी र ब्रजेशकुमार गुप्ता संघीय संसद्मा निर्वाचित सांसद हुन् । तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेकपा गठन भएपछि दुवैजना अहिले कानुनतः नेकपा सांसद छन् ।

ओली–प्रचण्डसँग त्रिपाठीको दुई चरण छलफल

एमाले र माओवादी एकतापछि दुई सांसदसहित त्रिपाठीको समूह नेकपा संसदीय दलमा छ । गत निर्वाचनमा त्रिपाठी नवलपरासी–२ र ब्रजेशकुमार गुप्ता कपिलवस्तु–२ बाट निर्वाचित भएका थिए ।

त्रिपाठीले गत शुक्रबार र शनिबार प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डसँग पार्टी एकीकरणमा केन्द्रित रहेर छलफल गरेका थिए । तर, त्रिपाठीले भेटवार्ता भए पनि पार्टी एकीकरणकै सन्दर्भमा भने गम्भीरतापूर्वक छलफल अघि नबढेको बताए । ‘पछिल्लो समय दुईपटक उहाँहरूसँग भेटवार्ता भएको हो, भेटघाट त चली नै रहन्छ,’ उनले भने, ‘तर, पार्टी एकीकरण नै गर्ने विषयमा भने गम्भीरतापूर्वक छलफल अघि बढेको छैन ।’

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले त्रिपाठी नेतृत्वको समूहसँग एकीकरणका विषयमा छलफल चलिरहेको पुष्टि गरे । ‘उहाँहरूसँग थप छलफल चलिरहेको छ । अध्यक्षहरूले कुरा गरिरहनुभएको छ,’ उनले भने, ‘औपचारिक रूपमा दलको सदस्य र गठबन्धनको सहयोगी भएकाले त्यहाँ मात्र सीमित हुने कि अरू सम्बन्ध बढाउनेबारे छलफल भइरहेको छ ।’

स्रोतका अनुसार निरन्तर छलफल चलिरहे पनि एकीकरणपछि उनीहरूलाई के जिम्मेवारी दिने टुंगो लागेको छैन । नेकपाको विधानले एकीकरण हुने अन्य समूह या पार्टीका नेतालाई केन्द्रीय तहमा जिम्मेवारी दिन सक्ने बाटो खुला गरेको छ । त्यसअनुसार नै उनीहरूले परिभाषित जिम्मेवारी पाउन सक्ने नेकपाका एक नेताले बताए ।

के थियो १६ असोजको सहमति ?

तत्कालीन एमाले र त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूहबीच गत १६ असोजमा दुईबुँदे सहमति भएको थियो । सहमतिमा भनिएको छ, ‘स्वतन्त्र राजनीतिक समूहका नेता तथा कार्यकर्ता आगामी प्रतिनिधिसभा, प्रदेश सभा तथा राष्ट्रिय सभाको निर्वाचनमा सूर्य चिह्न लिएर सहभागी हुनुहुनेछ ।

स्वतन्त्र समूह स्वतन्त्र पहिचानका साथ क्रियाशील रहनेछ । दोस्रो, तराई मधेससमेतका जनतालाई शोषण, उत्पीडन, विभेद र असमानताबाट मुक्त गरेर न्याय, समानता र समृद्धि सुनिश्चित गर्नु हाम्रो साझा जिम्मेवारी हो ।

हामीहरू संविधान कार्यान्वयनका क्रममा देश र जनताको आवश्यकताअनुसार परिमार्जन र विकास गर्दै जान, तराई मधेसका साथै समग्र राष्ट्रमा आर्थिक विकास र सामाजिक न्याय सुनिश्चित गर्न र सम्पूर्ण नेपालीको सुखी र समृद्ध जीवनका लागि सहकार्य गर्न सहमत भएका छौँ ।’

सहमतिपत्रमा तत्कालीन एमाले महासचिव ईश्वर पोखरेल तथा समूहका तर्फबाट त्रिपाठीसहित पाँचजनाले हस्ताक्षर गरेका थिए ।

स्वतन्त्र समूहसँग ४ सांसद, ८ केन्द्रीय नेता

औपचारिक रूपमा नेकपा संसदीय दलको सांसद रहेको स्वतन्त्र समूहसँग ४ सांसद र ८ केन्द्रीय तहका नेता छन् । त्रिपाठी परासी–२ र गुप्ता कपिलवस्तु–२ बाट निर्वाचित सांसद हुन् । स्वतन्त्र समूहसँग प्रदेश ५ मा दुई सांसद छन् ।

त्रिपाठी तत्कालीन राजपाका उपाध्यक्ष तथा गुप्ता महामन्त्री थिए । उनीहरूबाहेक सहमहामन्त्री पशुपतिदयाल मिश्र र अन्य पाँच केन्द्रीय सदस्य स्वतन्त्र राजनीतिक समूहमा सामेल भएका थिए । तत्कालीन एमालेले समूहलाई ४ सिट दिएकोमा ईश्वरदयाल मिश्र र पशुपतिदयाल मिश्र पराजित भएका थिए ।

 


नयाँ पत्रिका




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ