शक्तिशाली बनाइयो नेकपाको सचिवालय, यस्ता छन् अध्यक्षद्वयका सात अधिकार !

2018-07-23

काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले दश अधिकारसहित केन्द्रीय सचिवालयलाई सबैभन्दा शक्तिशाली बनाएको छ । यसअघि स्थायी समितिलाई शक्तिशाली बनाउन प्रस्ताव गरिए पनि प्रकाशनमा आएको विधानले सचिवालयलाई नै बढी अधिकार दिएको छ ।

दुई अध्यक्ष, दुई वरिष्ठ नेता, प्रवक्ता, महासचिवसहित नेकपामा ९ सदस्यीय सचिवालय छ । स्थायी समितिभन्दा सचिवालयलाई दोब्बर अधिकारको व्यवस्था विधानले गरेको छ ।

सचिवालयलाई केन्द्रीय कार्यालय सञ्चालन गर्ने, केन्द्रीयस्तरका कार्ययोजना वा कार्यक्रमको प्रस्ताव तयार गर्ने अधिकार दिइएको छ ।

त्यस्तै, केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीको बैठकका लागि कार्यसूचीसम्बन्धी प्रस्ताव तयार गर्ने अधिकार केन्द्रीय विभाग, मातहत कमिटी, संसदीय दल, संयन्त्र, कार्यदललगायतका कामको प्रतिवेदन नियमित रूपमा प्राप्त गरी नेकपाको अन्तरिम विधान २०७५ मूल्यांकन प्रतिवेदन तयार गर्ने र केन्द्रीय कमिटी, पोलिटब्युरो तथा स्थायी कमिटीमा प्रस्तुत गर्ने अधिकार पनि सचिवालयलाई छ ।

केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीका बैठकबीचको अवधिमा राजनीतिक तथा संगठनात्मक विषयमा निर्णय गर्ने, आफूले गरेका निर्णयहरू अनुमोदनका लागि केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीमा प्रस्तुत गर्ने, समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गर्ने अधिकार पनि सचिवालयलाई छ ।

केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र सचिवालयका निर्णयअनुरूप अन्तरपार्टी निर्देशन जारी गर्ने, केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीप्रति उत्तरदायी रहने, केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीले तोकेका अन्य कार्यहरू गर्ने अधिकार पनि सचिवालयलाई नै छ ।

अध्यक्षद्वयलाई सात अधिकार

नेकपाको विधानले अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सात अधिकारको व्यवस्था गरेको छ । दुवै अध्यक्षको अधिकार र मर्यादा समान रहने र संयुक्त या परामर्शमा दुईमध्ये एकले बैठकको अध्यक्षता गर्ने अधिकार र कर्तव्यसहितको विधान नेकपाले सार्वजनिक गरेको हो । पार्टी एकतालाई गति दिन विधान र नियमावली तत्काल तल्ला कमिटीहरूमा पठाइने महासचिव विष्णु पौडेलले बताए ।

यस्ता छन् अध्यक्षका सात अधिकार र कर्तव्य

१. राष्ट्रिय परिषद्, केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र केन्द्रीय सचिवालयको बैठकको अध्यक्षता गर्ने

२. पार्टीको प्रमुख नेताका रूपमा समग्र पार्टीको नेतृत्व गर्ने

३. केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीका बैठकमा आफ्नो तर्पmबाट, एकताको राष्ट्रिय महाधिवेशन र राष्ट्रिय परिषद्को बैठकमा केन्द्रीय कमिटीका तर्फबाट राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने

४. महाधिवेशन, राष्ट्रिय परिषद्, केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र केन्द्रीय सचिवालयका निर्णयहरू कार्यान्वयन गर्ने/गराउने

५. पार्टीको सिद्धान्त, कार्यक्रम, नीति र विधान कार्यान्वयन गर्ने/गराउने

६. केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र केन्द्रीय सचिवालयले तोकेका अन्य कार्यहरू गर्ने

७. दुवै अध्यक्षले राष्ट्रिय परिषद्, केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र केन्द्रीय सचिवालयको बैठकको संयुक्त रूपमा वा आपसी सल्लाहमा दुईमध्ये एकले वा बैठकमा एकजना मात्र उपस्थित भएमा निजले अध्यक्षता गर्ने । पार्टीका आधिकारिक निर्देशन र पत्राचारमा दुवै अध्यक्षले वा आपसी सल्लाहमा एक अध्यक्षले हस्ताक्षर गर्ने ।

नेतृत्वका लागि चुनावी विकल्प खुला

विधानको धारा १७ मा दुई वर्षभित्र एकताको राष्ट्रिय महाधिवेशनको व्यवस्था गरिएको छ । महाधिवेशनको स्थान, मिति र प्रतिनिधित्व केन्द्रीय कमिटीले तोकेबमोजिम हुने तथा राष्ट्रिय महाधिवेशन सहमति र समझदारीका साथ सञ्चालन गर्न महाधिवेशन आफैँले आवश्यक विधि, प्रक्रिया र संरचना तय गर्ने उल्लेख छ । महाधिवेशनबाट नेतृत्वमा समझदारी नभए चुनावी विकल्पबाट चयनको विकल्प पनि खुला गरिएको सचिवालयका एक नेताले बताए ।

 


नयाँ पत्रिका




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ