नेविसंघको महाधिवेशन विवाद, देउवाले बोलाए दुवै पक्ष

2018-07-21

काठमाडौँ - कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको विवाद मिलाउन सभापति शेरबहादुर देउवाले दुवै पक्षलाई छलफलका लागि बोलाएका छन् । सभापति देउवाले शनिबार दिउँसो ४ बजे विवाद मिलाउन पार्टीका असन्तुष्ट पक्षका शीर्ष नेता र नेविसंघका अध्यक्ष, असन्तुष्ट विद्यार्थी नेतालाई बोलाएका हुन् ।नेविसंघ संस्थापन र असन्तुष्ट पक्षले छुट्टाछुट्टै महाधिवेशनको मिति घोषणा गरेपछि विवाद चर्किएको हो । दुवै पक्षले साउन अन्तिम साता महाधिवेशन तोकेका छन् ।

सभापति देउवाले शनिबारको बैठकमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालाई बोलाएका छन् । देउवानिकट स्रोतले भन्यो, ‘एकताबद्ध रूपमा अधिवेशन गर्न सभापतिले दुवै पक्षका शीर्ष नेता र विद्यार्थी नेतालााई बोलाउनुभएको छ ।’११औँ महाधिवेशनमा कृष्णप्रसाद सिटौला पक्षलाई मिलाएपछि संस्थापन पक्षले अध्यक्ष र सिटौला पक्षले महामन्त्री पाएको थियो । तर, महाधिवेशनको एक वर्ष पुग्दा नपुग्दै सिटौला पक्षधर संस्थापनसँग असन्तुष्ट बन्न पुगे । नेता रामचन्द्र पौडेल पक्षका नेताहरू पनि संस्थापन पक्षसँग असन्तुष्ट छन् । जसको असर नेविसंघमा पनि देखिएको छ ।

आ–आफ्नै दाबी
नेविसंघका अध्यक्ष नैनसिंह महरले अघिल्लो वर्ष नै महाधिवेशन मिति तोकिसकेको बताए । ‘हामीले अघिल्लो वर्ष नै २३ देखि २७ साउनसम्म १२औँ महाधिवेशन तोकेका हौँ,’ महरले नयाँ पत्रिकासित भने, ‘१ सय ५१ केन्द्रीय समितिमा अर्को पक्षले ५३ जनाभन्दा बढी सदस्यको हस्ताक्षर पु¥याउन सकेका छैनन् । तर, महाधिवेशनको मिति तोक्यौँ भनेर हल्ला गरिरहेका छन् ।’

असन्तुष्ट पक्षले महाधिवेशनको पक्षमा रहेको दाबी गरे पनि आधिकारिक ठाउँमा आएर बहुमत पुष्टि गर्न नसकेको उनको आरोप छ । उनले भने, ‘उनीहरूको बहुमत भएको भए संघको आधिकारिक फोरममा आएर बहुमतले निर्णय गराएको भए भइहाल्थ्यो नि ।’ आफूले सबै पक्षलाई मिलाएर लान विधानसम्मत रूपमा मनोनयन गर्नेदेखि संगठनको काम गरेको उनको भनाइ छ । नेविसंघमा ३२ वर्षमाथिकाले निर्वाचनमा सहभागी हुन नपाउने भएपछि अर्को पक्षले बखेडा झिकिरहेको बताए ।

अध्यक्षले मनोमानी गरे
असन्तुष्ट पक्षले २३ देखि २५ साउनका लागि महाधिवेशन बोलाएको छ । असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका कुन्दन काफ्लेले संस्थापन पक्ष विधानअनुसार नचलेकाले महाधिवेशन तोक्नुपरेको बताए । ‘अध्यक्षले विधानमै नभएको व्यवस्थामा टेकेर आफूखुसी मनोनयन गर्ने, सल्लाहकार बनाउने काम गरे’ काफ्लेले भने, ‘मनोनीत गरेपछि केन्द्रीय समितिबाट अनुमोदन गर्नुपर्ने हो तर, गरेनन् । यसकारण हामीले आफैँ १२आैँ महाधिवेशनको मिति तोक्यौँ ।’

कसले मिलाउँछ नेविसंघको विवाद
११औँ महाधिवेशनका लागि विवाद मिलाउने निर्देशक समितिमा डा. प्रकाशशरण महत थिए । यसपटक पनि उनले नै विवाद मिलाएर महाधिवेशन गराउन अग्रसरता लिइरहेका छन् । सहमहामन्त्री डा. प्रकाशशरण महतले सहमतिका आधारमा अगाडि बढाउने प्रयास स्वरूप सभापतिले छलफलमा बोलाएको जानकारी दिए । ‘जो अध्यक्ष हो । महाधिवेशन उसैले गराउने हो,’ महतले नयाँ पत्रिकासँग भने ।

तरुण दलको विरोध प्रदर्शन
नेपाल तरुण दलले सरकारको कार्यशैली अधिनायकवादी र लोकतन्त्र विरोधी भएको भन्दै विरोध प्रदर्शन गर्ने भएको छ । शनिबार दिउँसो पौने १ बजे दलले माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्न लागेको हो । सरकारको कार्यशैली अधिनायकवादी हुँदै गएको भन्दै दलको माउ पार्टी कांग्रेसले संसद्देखि सडकसम्म सरकारविरुद्ध विरोध प्रदर्शन गर्ने नीति लिएपछि तरुण दलले पनि विरोध प्रदर्शन गर्न लागेको अध्यक्ष जितजंग बस्नेतले जानकारी दिए ।

 

नयाँ पत्रिका




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ