नेकपाको सम्पत्ति तीन अर्ब, कहाँ कति ?

2018-07-02

काठमाडौं - सत्तारुढ दल नेकपासँग अचल सम्पत्ती मात्रै कम्तीमा तीन अर्ब रहेको देखिएको छ। तत्कालीन एमाले र माओवादीका नाममा देशभरि रहेको जमिन, भवन, कार्यालय आदिको चलनचल्ती मूल्य तीन अर्बभन्दा बढी हुने देखिएको हो। नेकपासँग काठमाडौंमा मात्रै करोडौं मूल्यका ५ ओटा भवन छन् भने भारतको उत्तमनगरमा समेत एक करोडभन्दा बढी मूल्य पर्ने जग्गा रहेको छ।

पूर्ववत् दुवै पार्टीका नाममा रहेका चल-अचल सम्पत्ति एकीकृत पार्टीको नाममा ल्याउने नेकपाको पहिलो केन्द्रीय समितिको निर्णयका आधारमा अहिले दुवैतर्फका चल-अचल सम्पत्तिको तथ्यांक संकलन गर्ने काम भइरहेको नेकपा केन्द्रीय सदस्य तथा ७ नम्बर प्रदेशका कार्यदल सदस्य कर्र्णबहादुर थापाले बताए।

‘दुवै पार्टीका चल-अचल सम्पत्ति नेकपाको नाममा ल्याउने केन्द्रीय समितिको निर्णयका आधारमा अहिले त्यस्तो सम्पत्तिको लगत संकलनको काम प्रदेशस्तरमा पार्टी एकीकरण गर्न गठित कार्यदलले गरिरहेको छ,’ थापाले अन्नपूर्णसँग भने, ‘त्यस्तो सम्पत्तिको लगत हामीले हाम्रो प्रदेशमा भने करिब सकेका छौं।’

चलअचल सम्पत्तिको अहिले लगत संकलन गर्ने र तल्लो तहसम्म पार्टी एकता भएसँगै त्यसलाई नेकपाको नाममा स्थानान्तरणको काम हुने उनले बताए।

काठमाडौं उपत्यकाभित्रै नेकपाका ठूला भवन, कार्यालय र जग्गा रहेका छन्। पेरिसडाँडामा पूर्वमाओवादीको मजदुर संगठनको नाममा रहेको २ रोपनी जग्गामा बनेको दुईवटा भवन, पूर्वएमालेको बल्खुमा नौ रोपनी एक आना जग्गा र त्यसमा रहेको भूकम्पले भत्काएको भवन, पुतलीसडकमा मनमोहन मजदुर भवनको नाममा जिफन्टको कार्यालय रहेको जग्गा र भवन, ललितपुर च्यासलमा तुल्सीलाल स्मृति प्रतिष्ठान भवन र काठमाडौं रानीबारीमा पुष्पलाल प्रतिष्ठानको नाममा रहेको भवन छन्।

पार्टीको चलअचल सम्पत्तिको लगत राख्ने काममा पूर्वएमाले व्यवस्थित देखिएको छ भने माओवादीको लगत तथ्यांक लथालिंग रहेको पाइएको छ। पूर्वमाओवादीमा जिल्ला तहमा पार्टीका नाममा चलअचल सम्पत्ति के-कति छ भन्ने विवरण समेत केन्द्रीय कार्यालयसँग छैन।

पूर्वएमालेले भने दुई वर्षअघि पार्टी प्रचार विभागले युवा संघका तत्कालीन महासचिव निरज आचार्यको नेतृत्वमा सम्पत्तिको लगत संकलनको काम गरेको थियो। उक्त विवरण एमाले मुखपत्र ‘नवयुग’ले समेत प्रकाशित गरेको थियो।

‘केन्द्रीय प्रचार विभागको आग्रहमा दुई महिनाजति लगाएर मैले सम्पत्ति विवरणको लगत संकलन गरेको थिएँ, त्यो नै अहिलेसम्म पार्टीको आधिकारिक सम्पत्ति विवरण हो,’ नेकपा नेता आचार्यले अन्नपूर्णसँग भने, ‘त्यसबेलाको किनबेचको मूल्यसहित हामीले पार्टीको सम्पत्ति विवरण तयार पारेका थियौं।’

तत्कालीन एमालेका ६६ जिल्ला कमिटीसँग आफ्नै भवन छन्। कतिपय नगर-गाउँ कमिटीका पनि आफ्नै भवन छन्। तिनै भवनबाट पार्टीले दैनन्दिन कार्यालय सञ्चालन गर्दै आएका छन्। उसको भारतको नयाँदिल्लीस्थित उत्तमनगरमा समेत १ करोडभन्दा बढी मूल्यको जग्गा छ। पार्टीको भारत प्रवास कमिटीले खरिद गरेको उक्त जग्गा अहिले प्रवासमा काम गर्ने तीन नेताका नाममा रहेको तथ्यांक केन्द्रीय कार्यालयसँग छ।

कैलालीको अत्तरियामा रहेको जग्गा भने नेकपाले बिक्री गर्ने योजना बनाएको छ। करिब ४ करोड मूल्यमा उक्त स्थानमा रहेको जग्गा बिक्री गरेर ७ नम्बर प्रदेशको व्यवस्थित कार्यालय बनाउने योजनामा नेकपा रहेको केन्द्रीय सदस्य कर्णबहादुर थापाले बताए। ‘अत्तरियाको जग्गा बिक्री गरेर भव्य र व्यवस्थित प्रदेश कार्यालय बनाउने गरी बिक्रीको तयारी थालिएको छ’, थापाले भने।

पूर्वमाओवादीको भने काठमाडौं पेरिसडाँडामा रहेको दुई रोपनी जग्गामा रहेको केन्द्रीय कार्यालय मजदुर संगठन ‘अन्टुफ’को नाममा छ। बैंकमा राखिएको उक्त जग्गा बैंकमार्फत् निखनेर माओवादीकै मजदुर संगठनले किनेको थियो।

पेरिसडाँडासँगै जोडिएको थप १२ आना जग्गा पनि माओवादीको नाममा छ। सरकारले जग्गा उपलब्ध गराएपछि बबरमहलमा पार्टीनिकट कर्मचारी संगठनले आफ्नै लागतमा भवन बनाएको छ।

त्यस जग्गाबाट पनि माओवादीको मजदुर संगठन र पार्टीले समेत विभिन्न बैंकबाट पटक-पटक ऋण लिएको देखिएको छ। विभिन्न बैंक र वित्तीय संस्थामा गरी १३ करोड ऋण लिएको देखिन्छ। पेरिसडाँडास्थित कार्यालय ममर्तका लागि थप १ करोड ३५ लाख ऋण लिएको तथ्यांक तत्कालीन माओवादीसँग छ।

माओवादीले जिल्ला तहमा भने सहिद स्मृति प्रतिष्ठानका नाममा जग्गा किनेको थियो। ती जग्गामा भवन समेत बनेका छन्।

 


अन्नपुर्ण




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ