पोखरा महानगरको बजेट ५ अर्ब ६५ करोड

2018-06-21

पोखरा - क्षेत्रफलका हिसाबले देशकै सबैभन्दा ठूलो महानगर पोखरा लेखनाथ महानगरपालिकाले आगामी आर्थिक वर्ष ०७५\०७६ का लागि ५ अर्ब ६५ करोडको बजेट ल्याउने भएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडलले केन्द्र सरकार, प्रदेश सरकारबाट आउने विभिन्न प्रकारका अनुदान, आन्तरिक स्रोत र राजस्वमार्फत प्राप्त हुने रकमबाट बजेटको व्यवस्थापन हुने बताए ।

संघीय सरकारबाट उपलब्ध हुने ससर्त अनुदान १ अर्ब २० करोड ४२ लाख, समानीकरण अनुदान ६१ करोड ४४ लाख, प्रदेश सरकारबाट प्राप्त हुने ससर्त अनुदान २ करोड ७४ लाख, राजस्व बाँडफाँडबाट प्राप्त रकम, एकीकृत सम्पत्ति कर, घरबहाल कर, विज्ञापन, कवाडी निकासी र घरजग्गा रजिस्ट्रेसनलगायत स्रोतबाट रकम जुटाइने महानगरका कर शाखा प्रमुख छवि शर्माले बताए ।

महानगरका प्राथमिकता
महानगरपालिकाको तेस्रो नगर सभा १० असारमा सुरु हुँदै छ । नगर सभामा प्रस्तुत गर्ने नीति, कार्यक्रम, योजना र बजेटको तयारीका क्रममा महानगर छ । महानगरको आगामी नीति तथा कार्यक्रममा स्मार्ट सिटीका लागि पूर्वाधार निर्माण, महानगरपालिका र कार्यालयको भौतिक सुधार, विद्युतीय सुशासन, भौतिक पूर्वाधार, कृषिको आधुनिकीकरण, विद्युतीय तार अन्डरग्राउन्ड, मोनोरेलमार्फत सात ताल जोड्ने योजना र फोहोरमैला व्यवस्थापनलगायत योजना प्राथमिकतामा पर्ने पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार विभिन्न पाँचवटा समिति बनाएर नीति, कार्यक्रम र बजेट निर्माणको काम भइरहेको छ । महानगर सभा पोखरा सभागृहमा हुने वरिष्ठ कानुन अधिकृत नारायण शर्माले जानकारी दिए ।

मेयरद्वारा सुझाब माग
मेयर मानबहादुर जिसी ‘स्मार्ट सिटी’ बनाउने घोषणा गरेरै निर्वाचनमा होमिएका थिए । १ वर्षको कार्यकाल आशातीत सफल बन्न नसकेको उनी बताउँछन् । कानुन र जनशक्ति अभाव तथा भएका जनशक्ति पनि क्षमतावान् नहुँदा काम गर्न नसकिएको उनले बताएका छन् ।

महानगर तेस्रो महानगर सभाको तयारीमा छ । यही तयारीका क्रममा मेयर जिसीले बुधबार कास्कीबाट संघीय संसद् र प्रदेश संसद्मा प्रतिनिधित्व गर्ने सांसदसँग अब महानगरले लिने नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने विषयमा सुझाब मागेका छन् ।

सांसदले विगतमा मेयर जिसीले निर्वाचनका वेला जनतासँग गरेका प्रतिबद्धता, पार्टीको घोषणापत्रमा उल्लेख भएका विषयवस्तु सबैलाई ध्यान दिन आग्रह गरे । उनीहरूले स्मार्ट सिटीको पूर्वाधारलाई प्राथमिकता दिएर नीति, कार्यक्रम, योजना र बजेट बनाउन सुझाब दिए ।

सांसदका सुझाब

संघीय सभाका सांसद खगराज अधिकारी
विजयपुर खोलामा पुल थप्नुपर्छ र चौडाइ ४ लेनको बनाउनुपर्छ । बाइपास सडक बनाएर पोखराको ट्राफिक जामलाई घटाउने योजना महानगरपालिकाले ल्याउनुपर्छ ।

प्रदेश सांसद कृष्ण थापा
चुनावी घोषणापत्रमा समेटिएका योजनालाई पूरा गर्ने गरी बजेट ल्याउनुपर्छ । पोखराका डाँडाकाँडालाई ग्रिन सिटीका रूपमा विकास गर्नुपर्छ ।

प्रदेश सांसद दीपक कोइराला
साबिकको लेखनाथ नगरपालिकाका बासिन्दालाई महानगरको अनुभूति हुने गरी योजना ल्याउनुपर्छ । तालहरूको संरक्षणका लागि गुुरुयोजना आवश्यक छ ।

प्रदेश सांसद मनबहादुर गुरुङ
विजयपुरको किनारैकिनार सडक बनाउनुपर्छ । पोखरालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्छ ।

प्रदेश सांसद विन्दुकुमार थापा
पोखराले भू–उपयोगर जल–उपयोग नीति ल्याउनुपर्छ ।

सार्वजनिक जग्गाको संरक्षण गर्नुपर्छ ।

 


नयाँ पत्रिका




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ