नेकपाको तल्ला कमिटी एकताले गति लिएन

2018-06-20

काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कोे तल्ला पार्टी कमिटीहरूको एकता प्रक्रियाले गति लिन सकेको छैन । एकताका लागि भन्दै सातै प्रदेशसहित प्रवासको कार्यदल बनाए पनि कतिपय कार्यदलको बैठकसमेत बस्न सकेको छैन । तीनवटा प्रदेश र प्रवास कार्यदलको मात्रै बैठक बसेको छ । सबै कार्यदलमा चार–चार सदस्य छन् । प्रदेश कार्यदललाई पार्टी र जनवर्गीय संगठनको प्रदेश कमिटी, जिल्ला कमिटीको तथ्यांक संकलन गरी केन्द्रीय सचिवालयमा बुझाउनुपर्ने जिम्मा छ ।

तत्कालीन एमाले र माओवादी केन्द्र एक भएर नेकपा गठन भएपछि प्रदेश र जिल्लामा राख्ने नेता, पार्टी क्रियाशील सदस्य र पार्टी कार्यालयको व्यवस्था गर्नुपर्नेछ । नयाँ बन्ने प्रदेश कमिटी बढीमा एक सय ७५ सदस्यीय र जिल्ला कमिटी एक सय २५ सदस्यीय राख्ने निर्णय भइसकेको छ । तत्कालीन दुवै पार्टीका संगठनलाई समायोजन गर्दै प्रदेश र जिल्ला कमिटीमा अध्यक्ष, सचिव र सचिवालय बनाउनुपर्नेछ ।

कार्यदलको म्याद नाघेकै १५ दिन भयो
नेकपाका अध्यक्षद्वय केपी ओली र प्रचण्डले पार्टी तथा जनवर्गीय संगठनको प्रदेश कमिटी, जिल्ला कमिटीको तथ्यांक संकलन गरी केन्द्रीय सचिवालयमा बुझाउन १५ दिनको म्याद तोकेर ७ जेठमा निर्देशन दिएका थिए । तर, म्याद सकिएको १५ दिन बितिसक्दा पनि अधिकांश कार्यदलको औपचारिक बैठकसमेत बस्न नसक्दा एकता प्रक्रिया अघि बढ्न सकेको छैन ।

जिल्ला कमिटीको संख्या बढाउन माग
प्रदेश कार्यदलका सदस्यहरूले जिल्ला कमिटी सानो भएको भन्दै संख्या बढाउन माग गरेका छन् । ‘प्रदेश कमिटीभन्दा जिल्ला कमिटी सानो भयो भन्ने छ,’ नेता मणि थापाले भने, ‘पार्टीका माथिल्लो कमिटीभन्दा तल्ला कमिटीहरू ठूलो हुँदै जानुपर्नेमा सानो हुँदै गएको देखियो ।’ जिल्ला कमिटी एक सय २५ सदस्यबाट बढाउन माग भएको छ । एकतामा सबैलाई समट्नुपर्ने भएकाले जिल्ला कमिटी बढाउन माग गरिएको नेतृ अष्टलक्ष्मी शाक्यले बताइन् । ‘हामीले भर्खर पार्टी एकता गरेका छौँ,’ उनले भनिन्, ‘आउनुपर्ने नेताहरू जिल्ला कमिटीमा छुट्ने देखिएकाले संख्या बढाउनुपर्छ ।’ शनिबारको पहिलो स्थायी समिति बैठकमा समेत नेताहरूले जिल्ला कमिटी बढाउन माग गरेका थिए । जिल्ला कमिटी बढाउन माग भएकाले पनि एकता प्रक्रिया अझै धकेलिने देखिन्छ ।

प्रवास कार्यदल निर्देशका बनाउँदै
नारायणकाजी श्रेष्ठ, विन्दा पाण्डे, युवराज कार्की र टेकबहादुर पाठक रहेको प्रदेश कार्यदलको बैठक १ असारमा काठमाडौंमा बस्यो । नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा प्रवास निर्देशिका बनाउने, प्रवासमा संगठनिक संरचना व्यवस्थित बनाउने विषयमा छलफल भयो । दुवै पार्टीको तथ्यांक संकलनको काम पनि सुरु गरिएको छ ।

पार्टी कमिटी एकताको कार्यादेश
– प्रदेश र जिल्ला संगठन कमिटी गठन गर्न अध्यक्ष, सचिव
र सदस्यहरूको नामावलीसहितको प्रस्ताव तयार गर्ने ।

– प्रदेश तथा जिल्ला संगठन कमिटीको सचिवालय गठन गर्न
कमिटीको कुल सदस्य संख्याको बढीमा एकतिहाइ नामावलीसहितको प्रस्ताव तयार गर्ने ।
– प्रदेश संगठन कमिटी गठनसम्बन्धी प्रस्तावमा केन्द्रीय कमिटीका
सदस्यहरूको नाम समावेश नगर्ने ।
– कमिटीका लागि पदाधिकारी तथा सदस्यहरूको छनोट गर्दा वरिष्ठता, क्षमता र एकताको भावनालाई आधार बनाउने ।
– प्रदेश तथा जिल्ला संगठन कमिटीको कार्यालय निर्धारण गर्ने ।
– उपरोक्तबमोजिमको सिफारिस वा निर्णय गर्दा तत्कालीन दुई पार्टीका सम्बन्धित कमिटीमा रहेकाहरूको राय–सुझाब लिने ।

एकताका लागि कुन प्रदेशमा के–के भयो ?

प्रदेश १ : छलफलसमेत भएन
प्रदेश १ मा भीम आचार्य, राम कार्की, शेरधन राई र सावित्रीकुमार काफ्ले कार्यदलमा छन् । प्रदेश कार्यदलको औपचारिक बैठक पनि बस्न नसकेको सदस्य काफ्लेले बताए । केही दिनभित्रै बैठक बस्ने उनले बताए ।

प्रदेश २ : बैठक आज
प्रदेश २ को कार्यदलमा सत्यनारायण मण्डल, विश्वनाथ साह, नागेन्द्र चौधरी र प्रभु साह छन् । अहिलेसम्म औपचारिक बैठक बस्न नसकेको यो प्रदेशमा बुधबारका लागि बैठक बोलाइएको विश्वनाथ साहले बताए ।

प्रदेश ३ : नियमावली पर्खिंदै
अष्टलक्ष्मी शाक्य, अग्निप्रसाद सापकोटा, काशीनाथ अधिकारी र नारायण दाहाल सदस्य रहेको प्रदेश ३ कार्यदलले भने औपचारिक बैठक गरिसकेको छ । तर, प्रदेशदेखि जिल्ला कमिटी सानो बनाउने निर्देशन केन्द्रबाट भएकाले सबैलाई समेट्न गाह्रो पर्ने हुँदा अगाडि बढ्न गाह्रो भएको अष्टलक्ष्मी शाक्यले बताइन् । पार्टीको विधान र नियमावली नबन्दा पनि अगाडि बढ्न समस्या भएको उनको भनाइ छ ।

प्रदेश ४ : तथ्यांकसहित सुझाब लिँदै
किरण गुरुङ, हितराज पाण्डे, जगत विश्वकर्मा र हरि अधिकारी रहेको कार्यदलको पहिलो बैठक २३ जेठमै बसेको हो । बैठकले काम छिटो सकाउन किरण गुरुङलाई अध्यक्ष र हितराज पाण्डे सचिव बनाएर काम गरिरहेको छ । जिल्लाको काम सजिलो बनाउन हरेक जिल्लामा पाँच–पाँचजना हुने गरी जिल्ला कार्यदल बनाएर तथ्यांकसहित सुझाब लिइरहेको सदस्य हरि अधिकारीले बताए ।

प्रदेश ५ : जनवर्गीय संगठनको तथ्यांक संकलन
प्रदेश ५ मा शंकर पोखरेल, मणि थापा, दलबहादुर राना र गणेशमान पुन कार्यदलमा छन् । २५ असारमा बुटवलमा कार्यदलको पहिलो बैठक बसेको मणि थापाले बताए । तीनपटक बैठक बसिसकेको कार्यदलले जिल्लामा हुने विभिन्न कार्यक्रममा एउटै पार्टी भई समन्वय गरेर जान दिर्नेशन दिइसकेको छ । दुवै पार्टीका जनवर्गीय संगठन र सदस्यको तथ्यांक संकलन पनि गरिएको थापाले बताए ।

कर्णाली प्रदेश : अनौपचारिक छलफलमै सीमित
प्रदेश ६ मा युवराज ज्ञवाली, जनार्दन शर्मा, यामलाल कँडेल र मायाप्रसाद शर्मा कार्यदलमा छन् । अनौपचारिक छलफल मात्र गरेको कार्यदलका सदस्य युवराज ज्ञावलीले बताए । ‘कार्यदलको पहिलो बैठक काठमाडौंमा बस्ने भन्ने थियो,’ ज्ञावलीले भने, ‘कार्यदलका सदस्य जनार्दन शर्मा चीन भ्रमणमा जानुभएकाले केही दिन ढिला हुने भयो ।’ नियमावली नहुँदा सांगठनिक रूपमा व्यवस्थापन गर्न कठिन भएको पनि उनको भनाइ छ ।

प्रदेश ७ : औपचारिक बैठक बस्ने तयारीमै बिते दिन
प्रदेश ७ मा भीम रावल, लेखराज भट्ट, कर्ण थापा र लक्ष्मीदत्त जोशी कार्यदलमा छन् । अनौपचारिक छलफल भए पनि औपचारिक छलफल हुन नसकेको कार्यदलका सदस्य लेखराज भट्टले बताए । केही दिनभित्रै कार्यदलको बैठक बस्ने उनले बताए ।


नयाँ पत्रिका




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ