ट्रम्प–किम बहुप्रतीक्षित शिखर वार्ता सिंगापुरमा सुरू

2018-06-12

एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीचको बहुप्रतीक्षित शिखर वार्ता आज सिंगापुरमा सुरू भएकाे छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको उपस्थितिमा यी दुई नेताबीच स्थानीय समयअनुसार बिहान ९ बजे भेट भएकाे हाे । त्यसपछि दुवै नेता वान टु वान वार्ताका लागि बस्नेछन्, जहाँ दोभासेबाहेक अरू कसैलाई पनि प्रवेशका लागि अनुमति दिइएको छैन ।

वार्तापछि उत्तर कोरियाली प्रतिनिधिमण्डल २ बजेअघि नै प्योङयाङ फर्कने कार्यक्रम छ । ट्रम्प पनि आजै अपराह्न अमेरिका फर्कने कार्यक्रम छ । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले वार्ताको प्रशंसा गर्दै अमेरिकासँग नयाँ सम्बन्ध सुरु भएको उल्लेख गरेको छ ।

आइतबार सिंगापुरका विदेशमन्त्री भिभियन बालाकृषणले ट्रम्प र किमसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । उनका अनुसार दुवै नेता वार्ता सफल हुनेमा आशावादी छन् । दुवैको आत्मविश्वास उच्च देखिएको बालाकृषणले बताए । उत्तर कोरियाली प्रतिनिधिमण्डल र अमेरिकी राष्ट्रपति ट्रम्प छुट्टाछुट्टै होटेलमा बसेका छन् ।

तर, होटेलको दूरी नजिक छ । उनीहरूबीच होटेल सेन्टोसामा भेटवार्ता हुनेछ । सिंगापुरको मुख्य टापुबाट केही पर रहेको पर्यटकीय गन्तव्यमा यो होटेल छ । अमेरिकी राष्ट्रपति ट्रम्पले ट्विट गर्दै आफू भेटका लागि निकै उत्साहित रहेको बताएका छन् ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले परमाणु निशस्त्रीकरण अमेरिकाको पहिलो सर्त रहेको बताए । उनले यसको बदलामा उत्तर कोरियालाई आवश्यक पर्ने सुरक्षा प्रत्याभूति अमेरिकाले उपलब्ध गराउने बताए । उनले उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम पूर्ण रूपमा बन्द नगरेसम्म नाकाबन्दी कायमै रहने जनाए । कोरियाली प्रायद्वीपमा झन्डै ६ दशकदेखि जारी द्वन्द्व अन्त्य गर्दै शान्ति स्थापना गर्ने दिशामा यो भेटवार्ता कोसेढुंगा बन्ने अपेक्षा गरिएको हो ।

प्रचलित मान्यताविपरीत उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले अहिले किमको भ्रमणलाई लिएर समाचार बनाइरहेको छ । यसअघि कुनै पनि कार्यक्रम सम्पन्न भइसकेपछि मात्रै सरकारी सञ्चारमाध्यमले त्यस विषयमा जानकारी दिने गरेको थियो ।

रोडोङ सिनमुन पत्रिकामा प्रकाशित सम्पादकीयमा नयाँ युगका परिवर्तित मागहरूलाई सम्बोधन गर्न नयाँ सम्बन्ध फलदायी हुने उल्लेख छ । सम्पादकीयमा लेखिएको छ, ‘कुनै देशको हामीसँग विगतमा तिक्ततापूर्ण सम्बन्ध थियो भने पनि यदि उसले हाम्रो सार्वभौमिकताको सम्मान गर्छ भने हामीले वार्ताबाट समाधान निकाल्नुपर्छ ।’

दशकौँदेखि उत्तर कोरियाले अमेरिकालाई शत्रु मान्दै आएको छ । राजधानी प्योङयाङमा अमेरिकाविरोधी संग्रहालयहरूसमेत छन् ।

डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा विजयी भएपछिका १८ महिना यी दुई देशका प्रमुख नेताबीच उतारचढावपूर्ण सम्बन्ध रह्यो । ट्रम्पले राष्ट्रपति बन्नुअघि नै आफ्नो चुनावी सभाका दौरान किमसँग वार्ता गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । तर, कार्यकाल सम्हालेको पहिलो वर्ष किमसँग उनको सम्बन्ध निकै चिसो रह्यो । उत्तर कोरियाले अन्तर्राष्ट्रिय समुदायको बेवास्ता गर्दै लगातार ब्यालेस्टिक क्षेप्यात्र परीक्षण ग-यो ।

त्यसयता अमेरिकी राष्ट्रपतिको पहलमा संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथिको प्रतिबन्धलाई थप कडा बनायो । यद्यपि, उत्तर कोरियाले आफ्नो परम्परागत सहयोगी तथा छिमेकी चीनबाट सहयोग पाएको थियो । रुष्ट देखिएका ट्रम्पले अमेरिकालाई चेतावनी दिइरहेको खण्डमा उत्तर कोरियालाई नै ध्वस्त बनाइदिने चेतावनी दिए । किमले ट्रम्पलाई ‘मनोरोगी’ र ‘बूढो’ भन्न भ्याए । सन् २०१७ को सेप्टेम्बरमा उत्तर कोरियाले छैटौँपटक आणविक परीक्षण गर्‍यो ।

त्यसको छोटो समयमै किमले अमेरिकासम्म पुग्न सक्ने मिसाइलहरू आफ्नो देशसँग रहेको भन्दै आणविक शक्तिसम्पन्न राष्ट्र बनाउने आफ्नो मिसन पूरा भएको घोषणा गरे । सन् २०१८ को सुरुवाती समय निकै फरक रह्यो । विन्टर ओलम्पिकलाई अवसरका रूपमा उपयोग गर्दै उत्तर कोरियाले दक्षिण कोरियासँग कूटनीतिक सम्बन्ध सुधार्‍यो । गत मार्चमा शिखर वार्ताका लागि किमले पठाएको निमन्त्रणालाई ट्रम्पले स्विकारेपछि दुई देशबीचको सम्बन्ध नयाँ मोडमा पुगेको हो ।

साझा एजेन्डा
परमाणु निशस्त्रीकरण नै यो वार्ताको प्रमुख एजेन्डा हो । अमेरिकाको चाहना उत्तर कोरिया आणविक हतियारविहीन राष्ट्र बनोस् भन्ने हो । तर, उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम अन्त्य गरेको खण्डमा त्यसको बदलामा अमेरिकासँग के माग्छ भन्ने विषय स्पष्ट छैन । किमले उत्तर कोरियाको अर्थतन्त्र उकास्न आफ्नो ध्यान केन्द्रित रहेको बताएका छन् ।

त्यसैले उनको चाहना अन्तर्राष्ट्रिय लगानी र नाकाबन्दी अन्त्य हो । उनले के समझदारी गर्छन् वा अमेरिकालाई कुनै वाचा गर्न लगाउँछन् भन्ने विषय स्पष्ट छैन । सिंगापुरमा हुने यही भेटले सबै समाधान निकाल्ने अपेक्षा अमेरिकाको छैन । राष्ट्रपति ट्रम्पका अनुसार अहिले अवस्था बुझ्न भेटवार्ता भएको हो र यो प्रक्रिया चल्दै जानेछ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ