फोरम र राजपाबीच दूरी बढ्दै, राजपा फोरमसँग यसकारण सशंकित !

2018-06-03


काठमाडौं - संघीय समाजवादी फोरम नेपालको सत्तारोहणसँगै प्रदेश २ मा सहयात्रा गरिरहेका राष्ट्रिय जनता पार्टी र संघीय फोरमबीच दूरी बढेको छ। राजपाका नेताहरूले फोरम मधेसका मुद्दा छाडेर सरकारमा गएको आरोप लगाएका छन्।

राजपा भने तत्काल सरकारमा जाने सम्भावना छैन। सरकारमा जान राजपाले रेशम चौधरीको रिहाइ हुनुपर्ने र संविधान संशोधन हुनुपर्ने शर्त राखेको छ। सरकारले संविधान संशोधन गर्ने प्रतिबद्धता जनाएकै आधारमा फोरम सरकारमा गएको राजपाका नेताहरूको भनाइ छ। आफूहरू त्यसरी सरकारमा नजाने पनि उनीहरूले बताएका छन्। राजपा अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले संघीय फोरमले संघर्षको मैदान छाडेको आरोप लगाए। उनले भने, ‘सरकारमा गएर फोरमले सघर्षको मैदान छाडयो। हामी संघर्षमै छौँ।’ संविधान संशोधन नभएसम्म आफ्नो पार्टी सरकारमा नजाने उनले प्रष्ट पारे। फोरम सरकारमा गएको विषयमा उनले भने, ‘फोरमले मुद्दा छाडेर सरकारमा गयो वा मुद्दासहित सरकारम गयो यो हाम्रो चासोका विषय होइन। तर हामी मधेसको मुद्दा छाडेर सरकारमा जान सक्दैनौँ।’

संघीय फोरमका प्रतिनिधिसभाका सांसद डा. सुरेन्द्र यादवले राजपासँगको गठबन्धन प्रदेश २ मा मात्र रहेको बताउँदै भने, ‘राजपा र हामी फरक फरक पार्टी हौँ। राजपासँग हाम्रो सहयात्रा प्रदेश २ मा मात्र भएको हो ।’ राजपा पनि सरकारमा आउन चाहेको उनले बताए। फोरमका एक पदाधिकारीले भने फोरम सरकारमा गएपछि राजपा अत्तालिएको प्रतिक्रिया दिए । उनले भने, ‘राजपा पनि सरकारमा जान चाहन्थ्यो। सरकारले राजपालाई सरकारमा सहभागी नबनाई फोरमलाई सरकारमा लगेपछि राजपा अत्तालिएको हो।’

प्रदेश २ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले फोरम नेतृत्वको सरकारलाई दिदै आएको समर्थन फिर्ता लिने गरेपछि राजपाका नेताहरू फोरमसँग सशंकित हुन थालेका हुन्। फोरम र राजपा सम्मिलित वर्तमान सरकार ढालेर नेकपा र फोरम मिलेर नयाँ सरकार निर्माण गर्ने चाल हुन सक्ने आशंका राजपाका नेताको छ। तैपनि बिहीबार बसेको फोरम पदाधिकारी र संसदीय दलको संयुक्त बैठकले प्रदेशमा राजपासँगको सहयात्रा कायमै राख्ने निर्णय गरेको थियो। राजपाका महासचिव केशव झाले भने, ‘हाम्रो शुभकामना छ, फोरम सरकारमा गएर संविधान सशोधन गराउन सफल होस्।’ फोरम सरकारमा जानुअघि सरकारमा जानेबारे फोरमका अध्यक्ष उपेन्द्र यादवले राजपाका नेताहरूसँग औपचारिक/अनौपचारिक कुनै सल्लाह, सुझाव नमागेको राजपाका नेताहरूले बताएका छन। राजपाका एक शीर्ष नेताले भने, ‘प्रदेश २ मा सँगै चुनाव लड्यौँ । सरकार पनि बनायौँ तर फोरम राजपालाई थाहा नै नदिई सरकारमा गयो।’

स्रोतका अनुसार सरकारमा जाने विषयमा राजपामा दुईवटा धारणा आएका छन्। राजपाका अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र सदस्यद्वय महेन्द्र यादव र अनिल झा संविधान संशोधन नभई सरकारमा जान नसकिने अडानमा छन् भने राजेन्द्र महतो र शरतसिंह भण्डारी सरकार जान लचिलो देखिएका छन्। केही दिनअघि प्रधानमन्त्री केपी ओली र राजपाका अध्यक्ष मण्डलका सदस्यबीच भएको संयुक्त छलफलमा पनि राजपाका दुईओटा धारणा आएका थिए। स्रोतका अनुसार ठाकुर, यादव र झाले संविधान संशोधन नभई पार्टी सरकारमा जान नसकिने बताएका थिए भने महतो र भण्डारीले सरकारले संविधान संशोधन गर्ने ग्यारेन्टी गरेमा सरकारमा जान सकिने धारणा राखेका थिए। त्यसो त, प्रधानमन्त्रीले राजपाका नेताहरूसँग संयुक्त छलफल गर्नुअघि राजपाका अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरसँग पनि एकदुई पटक छुट्टै कुराकानी गरेका थिए। तर सरकारमा जाने बारेमा राजपाको दुईवटा लाइन आएपछि प्रधानमन्त्रीको लागि राजपा भन्दा फोरम सहज भएको स्रोतको भनाइ छ।

 

नागरिक




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ