यसरी हुन्छ बैंकिङ क्षेत्रमा अपराध ! यसले अर्थतन्त्रलाई के असर गर्छ ?

2018-05-26

काठमाडौँ - बैंकिङ कसुर तथा सजय ऐन ०७३ को परिच्छेद २ अनुसार अनधिकृत रूपमा रकम निकाल्ने वा भुक्तानी दिने, अनधिकृत रूपमा खाता खोल्ने, विद्युतीय माध्यमको प्रयोग गरी भुक्तानी लिने वा दिने, अनधिकृत रूपमा कर्जा लिने वा दिने पर्छन् । कर्जाको दुरुपयोग, बैंकिङ स्रोतसाधन र सम्पत्तिको दुरुपयोग, कागजात वा खाता बही सच्याई किर्ते वा जालसाजी गरी नोक्सानी गर्ने, बढी, कम वा गलत मूल्यांकन तथा वित्तीय विवरण तयार गर्ने, अनियमित आर्थिक तथा वित्तीय करोबार गर्ने पनि बैंकिङ कसुरअन्तर्गत पर्छन् ।

थापा एन्ड ब्रदर्स कन्स्ट्रक्सका सञ्चालक ललितपुर महालक्ष्मी–९ लामाटारका ३९ वर्षीय विमल पौडेल र हिमाल कलेज अफ मेडिकल साइन्सका सञ्चालक रौतहट हथियाही–९ का ३० वर्षीय मीर महमुद व्यवसाय गर्ने क्रममा भेट भए । दुवैबीच घनिष्टता बढ्यो । यहीक्रममा व्यवसाय गर्न भन्दै महमुदले पौडेलसँग ५ करोड ८ लाख ४ हजार ८ सय रुपैयाँ मागे । वचन हार्न नसकेपछि पौडेलले मागेजति रकम दिए । तर, पछि फिर्ता गरेनन् । पटक–पटकको जोडबलपछि महमुदले ५ करोड ८ लाख ४ हजार ८ सय रुपैयाँ चेक काटिदिए । उत्साहित हुँदै पौडल बैंक पुगे । तर, खातामा रकम नै थिएन ।

असन बस्ने महेन्द्र शाही र भारत घर भई मैतीदेवीमा व्यवसाय गर्ने सुशील शर्माबीच व्यवसाय गर्नेक्रममै भेट भयो । शाहीले मोबाइल व्यापार गर्थे । शर्मा भने कपडा व्यापारी । दुवैबीच घनिष्टता बढ्यो । यहीक्रममा शर्माले शाहीसँग पटक–पटक गरी ४० लाख रुपैयाँ लिए । तर, फिर्ता गर्नेक्रममा शर्मा बेपत्ता भए । खोजतलासपछि शर्मा बल्लतल्ल भेटिए । झोक्किएका शाहीले रकम मागे । यसपटक पनि उनले रकम दिएनन् । बदलामा एक करोड १५ लाख रुपैयाँको चेक दिए । शाही चेक साट्न बैंक पुगे । तर, खातामा रकम थिएन ।

चितवन पिठुवा–२ का प्रकाश मिश्र र द वल्र्ड भिजन प्रालिका अध्यक्ष संगम राईबीच व्यवसायकै क्रममा भेट भयो । दुईबीच घनिष्टता बढ्यो । राईले व्यवसायका लागि भन्दै मिश्रसँग १ करोड ३३ लाख रुपैयाँ लिए । ३५ दिनका लागि भन्दै उनले लिएको रकम फिर्ता गरेनन् । पछि बल्ल चेक दिए । तर, उनको खातामा रकम थिएन ।

महानगरीय प्रहरी परिसर काठमाडौंमा महिना दिनयता दर्ता भएका चेक बाउन्सका प्रतिनिधि घटना हुन् यी । वित्तीय अपराधका घटना प्रत्येक दिन करिब २० वटा दर्ता हुने गरेका छन् । परिसरको तथ्यांकअनुसार गत साउनदेखि माघसम्म ७ महिनामा चेक बाउन्सका १ सय ३० वटा मुद्दा दर्ता भए । पछिल्लो २ महिनामा यो संख्या बढेर झन्डै ४ सय ५० पुगेको छ । पछिल्लो डेढ महिनामा मात्रै चेक बाउन्सका ३ सय २० मुद्दा दर्ता भए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार प्रत्येक दिन एक करोड ५० लाखदेखि दुई करोड रुपैयाँसम्मका चेक बाउन्सका उजुरी परिसरमा दर्ता हुन्छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहन थापाले भने, ‘चेक बाउन्सका मुद्दा बढेका छन् । प्रत्येक दिन कम्तीमा २० वटा मुद्दा चेक बाउन्सका हुन्छन् । त्यो रकम जोड्दा प्रत्येक दिन २ करोड पुग्छ ।’

काठमाडौंमा बढ्दै बैंकिङ अपराध
काठमाडौंमा विगतका ४ वर्षभन्दा पछिल्लोे १० महिनाको बैंकिङ अपराध साढे ५ गुणाले बढेको छ । बिगो रकम १ सय ५० गुणाले बढेको छ । बैंकिङ अपराधअन्तर्गत चेक बाउन्सदेखि बैंकिङ फ्रडसम्मका घटना पर्छन् । ठूला प्रकृतिका बैंकिङ अपराध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले हेर्छ । साना प्रकृतिका वित्तीय अपराधसम्बन्धी प्रहरी कार्यालय हेर्दै आएको छ । साना प्रकृतिका अपराधअन्तर्गत अधिकांश चेक बाउन्सका मुद्दा छन् ।

महानगरीय प्रहरी आयुक्त कार्यालयको तथ्यांकअनुसार गएको ४ वर्षमा काठमाडौंमा मात्रै ५३ वटा बैंकिङ अपराधसम्बन्धी मुद्दा दर्ता भएका थिए । बिगो २ करोड ९९ लाख ७८ हजार ७ सय रुपैयाँ मात्रै थियो । पछिल्लो १० महिनाको अवधिमा काठमाडौंमा मात्रै ४ सय ५० वटा बैंकिङ अपराधका मुद्दा दर्ता भए । यसको बिगो मात्रै ४ अर्ब ५० लाख रुपैयाँ छ ।

उपत्यकाका भक्तपुुर र ललितपुरमा भने काठमाडौंको तुलनामा बैंकिङ अपराध कम छन् । विगतका ४ वर्षमा भक्तपुरमा बैंकिङ अपराध ९ वटा मात्रै थिए । यस वर्षको साढे आठ महिनामा ५ वटा मात्रै बैंकिङ अपराध भएका छन् । ललितपुरमा विगतका ४ वर्षमा भएका बैंकिङ अपराध सम्बन्धी मुद्दाको तथ्यांक नै छैन । पछिल्लो साँढे आठ महिनामा भने १५ वटा बैंकिङ अपराधसम्बन्धी मुद्दा दर्ता भएका छन् ।

बढ्दै बैंकिङ संगठित आर्थिक अपराध
२ चैतमा तत्कालीन एपेक्स बैंकको १ अर्ब ५० करोड ९६ लाख ३३ हजार ९ सय ४८ रुपैयाँ घोटला भएको तथ्य सार्वजनिक भयो । मर्जरको फाइदा उठाउँदै बैंककै कर्मचारीको मिलेमतोमा घोटाला गरिएको थियो । जसमा १ सय २८ कर्मचारीको मिलेमतो थियो । सिआइबीले घटनाको अनुसन्धान ग-यो । यसक्रममा बैंकको एक सय २८ खातामाथि अनुसन्धान भएको थियो । जसमा बैंकका सञ्चालकदेखि कर्मचारीसम्म दोषी देखिए । त्यसमध्ये २१ पक्राउ परिसकेका छन् । बाँकी एक सय ७ अभियुक्त फरार छन् ।

घटना सार्वजनिक गर्दै सिआइबीका तत्कालीन प्रमुख डिआइजी पुस्कर कार्कीले भनेका थिए, ‘नेपालमा संगठित रूपमा बैंकको यति ठूलो रकम घोटला गरिएको यो पहिलो घटना हो ।’ करिब दुई महिनाको गहन अनुसन्धानपछि सिआइबीले २८ वैशाखमा पाटनस्थित विशेष सरकारी वकिल कार्यालयमा फाइल पेस गरेको छ । मुद्दा ३१ वैशाखामा पाटनस्थित उच्च अदालतको वाणिज्य इजलासमा पेस भएको छ ।

सिआइबीले दरबारमार्ग र लोकन्थली शाखाको ८५ वटा फाइलमाथिको अनुसन्धान मात्रै सकेको छ । इटहरी शाखा कार्यालयको ३३, सुर्खेत शाखा कार्यालयको ७ र बाँके शाखाको १३ वटा फाइलमाथि अनुसन्धान बाँकी छ । यसक्रममा सिआइबीले अभियुक्तविरुद्ध अदालतमा ९६ करोड ७७ लाख ५८ हजार ३ सय ९० रुपैयाँ बिगो रकम दाबी गरेको छ । बाँकी भने अनुसन्धानपछि मात्रै बिगो रकम निर्धारण हुनेछ । घटनाको अनुसन्धानमा जुटेका सिआइबीका डिएसपी श्याम ओलियाले संगठित प्रकृतिको आर्थिक अपराध अनुसन्धान गर्न जुटिरहेको बताए । उनी भन्छन्, ‘संगठित तवरले हुने आर्थिक अपराध अनुसन्धान जटिल हुन्छ । यसले निकै समय लिन्छ । एपेक्स बैंक घोटालाको हकमा पनि यही भएको हो । तर, अनुसन्धान गर्न असम्भव भने छैन । विदेशबाट हुने आर्थिक अपराधका हकमा भने निकै कानुनी जटिलता छन् । त्यसको असर अपराध अनुसन्धानमा परेको छ ।’

८ वर्षमा साढे ३४ अर्बको आर्थिक अपराध, ५७ प्रतिशतभन्दा बढी बैंकिङ
ठूला प्रकृतिका आर्थिक अपराधको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गर्छ । सिआइबीमा प्राप्त विगत आठ वर्षदेखिको तथ्यांकअनुसार मुलुकभर ३४ अर्ब ३० करोड ११ लाख ५५ हजार ५ सय ९९ रुपैयाँको आर्थिक अपराध भएका छन् । त्यसमध्ये १९ अर्ब ६९ करोड ४६ लाख ६० हजार २ सय ८० रुपैयाँ बैंकिङ अपराधअन्तर्गतका छन् । तथ्यांक हेर्दा कुल आर्थिक अपराधको ५७.४१ प्रतिशत बैंकिङ अपराध हुने गरेको देखिन्छ ।

सिआइबीका तत्कालीन प्रवक्ता एसपी जीवन श्रेष्ठले बैंकिङ कसुरअन्तर्गतका अपराध बढेको बताए । उनले भने, ‘बैंकिङ अपराधसम्बन्धी ठूलो अपराध मात्रै सिआइबीले हेर्छ । हामीसँग भएका तथ्यांक विश्लेषण गर्दा बैंकिङ कसुरअन्तर्गतका अपराध बढेको देखिन्छ । कतिपय केस सिआइबीले स्थानीय प्रहरीलाई हेर्न जिम्मा दिन्छ । त्यसको डाटा भने हामीसँग हुँदैन ।’

बैंकिङ अपराधले विश्वास हराउँछ

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले बढ्दै गएको बैंकिङ कसुरले बैंकप्रतिको विश्वासमा कमी ल्याएको बताए । उनले भने, ‘सम्पूर्ण ट्रान्जेक्सन बैंकमार्फत गर्नु भनिएको छ । तर, बैंकमै अपराध भएपछि बैंकप्रति मान्छेको विश्वास हराउँछ । बैंकमा रकम जम्मा हुँदैन । यसले तरलता अभाव बढाउँछ । अन्त्यमा अर्थतन्त्रमा नै समस्या निम्त्याउँछ ।’

काठमाडौंमा बैंकिङ अपराध
मुद्दा
चार वर्षमा –५३ मुद्दा
१० महिनामा –४५० मुद्दा
वृद्धि –८.४९ गुणा

बिगो रकम
चार वर्षमा –२ करोड ९९ लाख ७८ हजार ७ सय रुपैयाँ
दश महिनामा –४ अर्ब ५० करोड रुपैयाँ

वृद्धि –१५०.१० गुण

४० प्रतिशत प्रहरी बैंकिङ अपराध छानबिनमा
गम्भीर प्रकृतिका अपराध अनुसन्धानमा लाग्नुपर्ने काठमाडौं प्रहरीको अधिकांश समय पछिल्ला दिन ‘चेक बाउन्स’का उजुरी छानबिनमा बित्ने गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले ‘चेक बाउन्स’का उजुरी छानबिन गर्न सिंगो प्रहरीको ४० प्रतिशत शक्ति लागेको बताए । उनले भने, ‘पछिल्ला दिन ‘चेक बाउन्स’का उजुरी बढेका छन् । उजुरी परेपछि अनुसन्धान गर्नैपर्छ । यसले गम्भीर प्रकृतिका अपराध अनुसन्धानलाई समेत प्रभावित तुल्याएको छ ।’

तथ्यांकमा बैंकिङ अपराध
 आठ वर्षमा आर्थिक अपराध –३४ अर्ब ३० करोड
 आठ वर्षमा बैंकिङ अपराध –१९ अर्ब ६९ करोड
 बैंकिङ अपराधको हिस्सा –५७.४१ प्रतिशत

चढ्दै आर्थिक अपराधको दर
नेपाल प्रहरीको तथ्यांकअनुसार संगठित प्रकृतिका आर्थिक अपराध प्रत्येक दुई वर्षमा २८.७ प्रतिशतका दरले वृद्धि भएको देखिन्छ ।

आव ०७०/७१ र ०७१/७२ मा मुलुकभर ५ हजार २ सय १६ संगठित प्रकृतिका आर्थिक अपराधका घटना भएका थिए । यो संख्या बढेर आव ०७२/७३ र ०७३/७४ मा ७ हजार तीन सय १६ पुग्यो । तथ्यांक हेर्दा अघिल्लो दुई वर्षको तुलनमा पछिल्लो दुई वर्षको आर्थिक अपराध दुई हजार १ सयले धेरै छ ।

आव ०७४–७५ को पुससम्मको तथ्यांक हेर्दा मुलुकभर संगठित प्रकृतिका आर्थिक अपराध २ हजार २७ वटा भएको देखिन्छ । यसलाई आधार मान्दा प्रत्येक दिन मुलुकभर संगठित प्रकृतिका ११ वटा आर्थिक अपराध हुने गरेको देखिन्छ । यही दरमा आर्थिक अपराध भए आव ०७४–७५ मा संगठित प्रकृतिका आर्थिक अपराध मात्रै ४ हजार ५४ वटा पुग्नेछ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी शैलेश थापाले मुलुकमा आर्थिक अपराधका घटना बढेको बताए ।

उनले भने, ‘आर्थिक अपराधका घटना प्रत्येक वर्ष बढ्ने गरेको सही हो । पहिले आर्थिक प्रकृतिका अपराध प्रहरीले हेर्दैनथ्यो । त्यसैले उजुरी कम आउथे । अहिले आर्थिक अपराध प्रहरीले हेर्छ । त्यसो हुँदा पनि दर बढेको हो । अर्को पछिल्लो दिनमा हुने जति पनि अपराध छन् त्यो इकोनोमिक मोटिभबाट भएको देखिन्छ । यसो हुँदा पनि बढ्न पुगेको हो ।’

उपभोक्तावादी समाजका कारण आर्थिक अपराध बढ्यो : एसएसपी शैलेश थापा

आर्थिक अपराध किन बढेको होला ?
विगतका दिनमा आर्थिक अपराधका अनुसन्धान नेपाल प्रहरीको दायराभित्र पर्दैनथ्यो । देवानी मुद्दाअन्तर्गत यसलाई अदालतले नै हेथ्र्यो । पछिल्ला दिनमा यसको क्षेत्र फेरिएको छ । यस्ता अपराध नेपाल प्रहरीले हेर्ने गरेको छ । यसका लागि नेपाल प्रहरीले विज्ञ टोलीको नेतृत्वमा विभिन्न पिलर नै खडा गरेको छ । यसकारण पनि दर बढेको हो । अर्को पछिल्ला दिनमा हुने अपराधको उद्देश्य अर्थसँग जोडिएको छ । किनकि समाज उपभोक्तवादी भएको छ । यस्तो समाजमा अर्थ नै सबै थोक हो । यसको प्राप्तिका लागि मानिसले अपराधको बाटो रोज्ने गर्छन् । त्यसो हुँदा पनि यस्ता अपराध बढेको हुनुपर्छ ।

आर्थिक अपराध अनुसन्धानमा कत्तिको जटिलता छ ?
अन्यभन्दा आर्थिक अपराध फरक प्रकृतिको हो । यस्ता अपराध गर्न बुद्धि चाहिन्छ । बुद्धि भएकाहरूले गर्ने अपराध संगठित हुन्छ । त्यसो हुँदा यो जटिल अवश्य पनि छ । पछिल्ला दिनमा इ–कमर्सको प्रयोग बढी भएका छन् । अपराधीले यसैलाई तारो बनाउने गरेका छन् । साइबर अपराध यसैको रूप हो । यसमा टेक्नोलोजीको प्रयोग हुन्छ । त्यसो हुँदा यस्ता अपराध अनुसन्धान गर्न जटिल छ । तर, असम्भव भने देखिँदैन । यस्ता अपराध अनुसन्धानमा केही कानुनी जटिलता भने छ । त्यसको निराकरण गर्न जरुरी छ ।

यसले अर्थतन्त्रलाई असर गर्छ ?
आर्थिक अपराध अर्थसँग सम्बन्धित छ । यस्ता अपराधले मुलुकको अर्थतन्त्रसँग पार्न सक्ने र पारेको असर सम्बन्धमा भने हामीले अध्ययन गरेका छैनौँ । प्रहरीले अपराध अनुसन्धान मात्रै गर्छ । त्यसो हुँदा यसबाहेकको जानकारी हामीसँग हुँदैन ।

 

नयाँ पत्रिका




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ