एमाले-माओवादी एकताको घोषणा आज, यस्तो छ तयारी !

2018-05-17

काठमाडौं - एमाले–माओवादीले दुवै पार्टी संरचना विघटन गर्दै नेपाल कम्युनिस्ट पार्टीको नाममा एकीकृत पार्टीको औपचारिक घोषणा गर्ने भएका छन्। दुवै पार्टीका केन्द्रीय समिति बैठकले पार्टी एकता अनुमोदन गरेपछि बिहीबार नै निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्ने तयारी भएको हो। राष्ट्रिय सभा गृहमा संयुक्त पत्रकार सम्मेलन गरी एकीकृत पार्टीको औपचारिक घोषणा गर्ने तयारी छ।

एमाले अध्यक्ष तथा प्रधनमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार भएको छलफलले एकताका लागि सहमति जुटाएपछि बिहीबार नै एकताको औपचारिक घोषणा गर्न दुवै दल तयार भएका हुन्।

बुधबार एमाले स्थायी समिति र माओवादीको केन्द्रीय कार्यालयको विस्तारित बैठकले पार्टी एकता गर्ने दुई अध्यक्षबीच भएको समझदारीलाई अनुमोदन गरेको छ।

‘जनमत र देशको आवश्यकताका आधारमा एमालेसँग पार्टी एकता गर्ने र दुवै पार्टीका अध्यक्षबीच भएका समझदारीलाई हाम्रो केन्द्रीय कार्यालयको विस्तारित बैठकले अनुमोदन गरेको छ,’ माओवादी केन्द्रको बैठकपछि वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले अन्नपूर्णसँग भने।

दुई अध्यक्ष (ओली र दाहाल)बीच बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलले सम्मानजनक एकता न्यायोचित र समानताको सिद्धान्तका आधारमा गर्ने समझदारी बनेको थियो। सो सहमतिअनुसार दुवै पार्टी विघटनपछि बन्ने एकीकृत पार्टीको केन्द्रीय समिति ४ सय ४१ सदस्यीय बन्नेछ।

अन्तरिम विधान बनाउन गठित कार्यदलले दिएको प्रतिवेदनको संख्यामा १ सय ४२ संख्या थप गरेर दुई अध्यक्षले नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति ४ सय ४१ सदस्यीय बनाउने समझदारी गरेका थिए।

एकीकृत पार्टीको केन्द्रीय समितिमा एमालेका तर्फबाट २ सय ४१ र माओवादीका तर्फबाट २ सयको संख्यामा नेताहरू पर्नेछन्। माओवादीले केन्द्रीय समितिमा समानताका आधारमा एकता हुनुपर्ने भन्दै बराबरीको अडान लिएपछि संख्या बढाउन एमाले तयार भएको हो।

कार्यदलले २ सय ९९ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव एकता संयोजन समिति बैठकमा पेश गरेको थियो।

पार्टी नाम : नेपाल कम्युनिस्ट पार्टी

मार्गनिर्देशक सिद्धान्त : मार्क्सवाद–लेनिनवाद

कार्यदिशा : समाजवादउन्मुख जनताको जनवाद (महाधिवशेनमा छलफलका लागि )

एकीकृत पार्टी केन्द्रीय समिति : ४४१ (एमाले २४१, माओवादी २००)

स्थायी समिति : ४३ (एमाले २५, माओवादी १८)

पोलिटब्यूरो समितिः नरहने

आजै निर्वाचन आयोगमा दर्ता : दुवै पार्टी विघटनको घोषणा गर्दै आयोगमा दर्ता बिहीबार नै हुने

पत्रकार सम्मेलन : राष्ट्रिय सभा गृहमा पत्रकार सम्मेलन गरी पार्टी एकताको औपचारिक घोषणा गर्ने

एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले अधिकतम विषयमा कुरा मिलेकोले अब दुवै पार्टीका संरचना विघटन गरेर नयाँ एकीकृत पार्टी बिहीबार नै घोषणा हुन लागेको बताए।

‘भोलि (बिहीबार) बिहान पार्टी एकता संयोजन समिति बैठक बसेर यसको औपचारिक निर्णय हुन्छ, त्यसपछि केन्द्रीय समिति बैठकले संयोजन समिति बैठकको निर्णयलाई अनुमोदन गर्ने काम हुन्छ,’ पाण्डेले अन्नपूर्णसँग भने, ‘एकताको अधिकतम कुरामा हामीबीच सहमति भइसकेको छ। सम्भव भएसम्म बिहीबार नै निर्वाचन आयोगमा एकीकृत पार्टी दर्ता हुन्छ।’

एकीकृत पार्टीको नाम नेकपा, मार्ग निर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद मात्रै राख्ने सहमति ७ फागुनमै दुई पार्टी शीर्ष नेता सम्मिलित एकता संयोजन समितिले गरिसकेको थियो।

एकीकृत पार्टीमा दुई अध्यक्ष रहने, स्थायी समति ४३ सदस्यीय बन्ने, पोलिटब्युरो समितिको व्यवस्था नगर्ने सहमति पनि दुई अध्यक्षबीच भएको छ। स्थायी समितिमा एमालेका २५ र माओवादीका १८ जना नेता रहनेछन्।

त्यस्तै एकीकृत पार्टीको चुनाव चिन्ह एमालेले प्रयोग गदै आएको सूर्य चिन्ह नै हुनेछ। चुनाव चिन्हका विषयमा पहिले माओवादीले सहमति जनाएको थिएन। माओवादीद्वारा सञ्चालित १० वर्षे ‘जनयुद्ध’लाई परिवर्तनकारी आन्दोलन निर्माणका लागि उल्लेखनीय भूमिका निर्वाह गरेको रूपमा दस्तावेजमा स्वीकार गर्ने समझदारी भएको छ।

माओवादी प्रवक्ता पम्फा भुसालले पार्टी एकता टुंगिएको बताउदै बिहीबार नै एकता गरेर जाने दिशामा पुगिएको बताइन्। ‘पार्टी एकता निष्र्कषमा पुगेको छ। भोलि (बिहीबार) नै पार्टी एकता संयोजन समितिले निर्णय गरेपछि सम्भवतः पार्टी एकताको घोषणा हुन्छ,’ भुसालले भनिन्।

बिहीबार बिहान ८ बजे मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवसमा एमालेले बल्खुमा आयोजना गरेको मदन–आ िश्रत स्मृति दिवसमा माल्यार्पण गर्न दुवै दलका नेताहरू पुग्नेछन्। श्रद्धाञ्जली कार्यक्रममा ओली–दाहाल दुवै नेताले सम्बोधन गर्ने र बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा एकता संयोजन समितिको बैठक बस्ने तय भएको छ।

एकता संयोजन समिति बैठकले बिहीबार नै दुवै पार्टी अध्यक्षबीच भएको समझदारीलाई अनुमोदन गर्ने, दुवै कार्यदलले दिएका राजनीतिक प्रतिवेदन सझुावसहित पारित गर्ने र एकताको औपचारिक घोषणा गर्ने निर्णय गर्ने एमालेका एक नेताले बताए।

उनका अनुसार एकता संयोजन समितिको निर्णयपछि एमाले केन्द्रीय समिति बैठक र माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठकले पार्टी एकतालाई अन्तिम पटक आ–आफनो पार्टीमा अनुमोदन गराउँदै पार्टी विघटन भएको निर्णय गर्नेछन्।

पार्टी विघटनको घोषणा लगत्तै दुवै पार्टीका शीर्ष नेताहरू प्रधानमन्त्री निवास बालुवाटारमा जम्मा भई बिहीबार नै निर्वाचन आयोग पुगी नयाँ एकीकृत पार्टी नेपाल कम्युनिस्ट पार्टीको नाम दर्ता गराउने तयारी गरिएको छ।

‘बालुवाटारबाट हामी बिहीबार नै निर्वाचन आयोग पुगेर एकीकृत पार्टी दर्ता गराउछौं,’ एमालेका ती नेताले भने।

निर्वाचन आयोगमा एकीकृत पार्टी दर्तापछि साँझ राष्ट्रिय सभा गृहमा पार्टी एकताको औपचारिक घोषणा हुनेछ।

बुधबारको एमाले बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले देश, जनता, पार्टी र आम कार्यकर्ताको भावना र निर्वाचनमा आम मतदाताको मागअनुसार एमाले र माओवादीबीच पार्टी एकता हुन लागेको बताएका थिए।

उनले पार्टी एकताको काम सकिएको र मात्र घोषणा गर्ने काम बाँकी राखिएको जानकारी गराएका थिए। सोही समयमा दाहाल निवास खुमलटारमा बसेको माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठकमा पनि दाहालले पार्टी एकताका सैद्धान्तिक, सांगठानिक सबै विषयमा दुई अध्यक्षबीच समझदारी जुटेको र एकता अनिवार्य भएको बिफ्रिङ गरेका थिए।

 


अन्नपुर्णबाट




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ