एक वर्षमा भारतबाट १८ अर्बको बिजुली आयात

2018-05-16

काठमाडौं- स्वदेशमा उत्पादित बिजुलीले मुलुक उल्यालो बनाउन नपुगेपछि चालू आर्थिक वर्षको १० महिनामा १५ अर्ब २१ करोड रुपैयाँको बिजुली आयात गरिएको छ । यो तथ्यांकअनुसार मासिक १ अर्ब ५२ करोड रुपैययाँको बिजुली आयात भएको देखिन्छ । चालू आर्थिक वर्ष सकिन अझै दुई महिना बाँकी छ।

दुई महिनाका लागि थप ३ अर्ब ४ करोडको बिजुली आयात गर्नुपर्ने हुन्छ । यस आधारमा चालू आवमा कुल १८ अर्ब २५ करोड रुपैयाँको बिजुली आयात हुने देखिएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए । दैनिक रुपमा भारतबाट करिब ५ करोड ७ लाखरुपैयाँको बिजुली आयात भइरहेको छ ।चालू आवको १० महिनामा १ अर्ब ९३ करोड युनिट बिजुली भारतबाट आयात गरिएको जानकारी प्रवक्ता अधिकारीले दिए । उनका अनुसार चालू आवका बाँकी दुई महिना सकिँदासम्म करिब २ अर्ब युनिट बिजुली आयात हुने देखिन्छ ।

‘चालू आर्थिक वर्षको अन्त्यसम्म १८ अर्ब रुपैयाँको हाराहारीमा भारतबाट बिजुली आयात हुने अनुमान छ,’ प्राधिकरणका प्रवक्ता अधिकारीले भने, ‘यो गत आवको भन्दा बढी हो ।’गत आवमा १४ अर्ब रुपैयाँभन्दा बढीको बिजुली आयात भएको थियो । एक मेगावाट बिजुली उत्पादन गर्न करिब १८ करोड रुपैयाँ लाग्ने अनुमान छ । यो हिसाबले भारतबाट चालू आवमा बिजुली किनेको पैसाले एक सय मेगावाटसम्मको आयोजना निर्माण गर्न सकिन्छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले तीन वर्षभित्र मुलुकलाई बिजुलीमा आत्मनिर्भर बनाउने घोषणा गरेका छन् । अघिल्लो साताको मंगलबार साता ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रको वर्तमान अवस्था र भावी मार्गचित्र (श्वेत पत्र) जारी गर्दै उनले २०७५ देखि २०८५ सम्मको अवधिलाई ऊर्जा तथा जलस्रोत दशक घोषणा गरेका थिए । सोही कार्यक्रममा उनले तीन वर्षभित्र मुलुकलाई बिजुलीमा आत्मनिर्भर हुने घोषणा गरेका हुन् । तर, बिजुलीमा आत्मनिर्भर हुन अझै लामो समय लाग्ने ऊर्जाविद् बताउँछन् । २०७५ सालको अन्त्यसम्म चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी आयोजनाबाट बिजुली उत्पादन हुने र त्यसले बर्खा याममा बिजुली पर्याप्त हुने भए पनि अत्मनिर्भर भने हुन नसकिने ऊर्जाविद्को ठम्याइ छ।

प्राधिकरणले भारतबाहेक स्वदेशी आयोजनाबाट बिजुली खरिद गरेर लोडसेडिङ अन्त्य त गरेको छ तर, परनिर्भरता भने तत्काल हटाउन सक्ने सम्भावना देखिएको छैन् । २०७३ सालको लक्ष्मीपूजाका दिनदेखि बिजुलीको पहुँच पुगेका स्थानका सर्वसाधारणले उज्यालो पाएका छन् । प्राधिकरणले औद्योगिक क्षेत्रमा हुँदै आएको लोडसेडिङ पनि गत सोमबारदेखि अन्त्य भएको घोषणा गरेको छ । भारतबाट आयात हुने बिजुलीको परिणामसँगै मूल्य पनि बढेको छ।

भारतले गत चैत १४ देखि ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनबाट आयात भइरहेको बिजुलीमा प्रतियुनिट ६० पैसा मूल्य बढाएको थियो । भारतले प्रतियुनिट ३ रुपैयाँ ६० पैसा भारु (५.७६ रुपैयाँ) मा दिँदै आएको बिजुलीको भाउ बढाएर ३ रुपैयाँ ९८ पैसा भारु (६.३६ रुपैयाँ) बनाएको थियो । भारतले ६ महिनाका लागि उक्त दरमा उपलब्ध गराए पनि त्यसपछि पाँच प्रतिशत वृद्धि हुने सम्झौता प्राधिकरणले गरेको छ । यसले आगामी वर्ष चालू आवमा भन्दा बढी रुपैयाँको बिजुली भारतबाट आयात गर्नुपर्ने निश्चित छ । प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनमार्फत १२० मेगावाट बिजुली आयात गर्दै आएको छ ।

प्राधिकरणले भारतबाट व्यापारिक रुपमा, विद्युत् आदानप्रदान सम्झौता (पावर एक्सचेन्ज) र महाकाली सन्धिअन्तर्गतको बिजुली ल्याइरहेको छ । भारतबाट व्यापारिक रुपमा ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनमार्फत र अन्य स्थानबाट पावर एक्सचेन्जअन्तर्गत बिजुली आइरहेको छ । दुई मुलुकबीचको पावर एक्सचेन्च कमिटी (पिइसी) ले तय गरेको मूल्यका आधारमा प्राधिकरणले भारतको बिहार, उत्तरप्रदेश र उत्तराखण्डबाट बिजुली आयात गर्छ । १३२, ३३ र ११ केभी प्रसारण लाइनबाट आयात हुने बिजुलीको मूल्य प्रतियुनिट भारतीय रुपैयाँ क्रमशः ५.५५ (८.८८ रुपैयाँ), ६ (९.६ रुपैयाँ) र ६.४५ (१०.३२ रुपैयाँ) छ ।

 

नागरिकबाट




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ