अपांगता भएकाले पढ्न नपाउने ? जसलाई प्रधानमन्त्री र मन्त्रीले नै सकेनन भर्ना गराउन

2018-04-16

काठमाडौं - प्रधानमन्त्री केपी ओली, शिक्षामन्त्री गिरिराजमणि पोखरेललगायत उच्च अधिकारीले शनिबार मुगुका १५ बालबालिकालाई विद्यालय भर्ना गराएर यस वर्षको भर्ना अभियान सुरु गरे । शिक्षा कार्यालय मुगुले १६ बालबालिका (नौ छात्र र सात छात्रा) लाई भर्ना गराउन राराताल किनारमा भेला पारेको थियो । तीमध्ये एक थिए, छायानाथ धारा नगरपालिका–६ का अपांगता भएका सात वर्षीय पुन्नबहादुर कुलाल ।

प्रधानमन्त्री र मन्त्रीले १५ जनालाई पायक पर्ने विद्यालयमा भर्ना गराए । ६ वर्षीया थिल्नेसाङ तामाङलाई प्रधानमन्त्री ओलीले बुद्ध माविमा भर्ना गरे । छात्राको अभिभावकत्व ग्रहणको पुस्तिकामा हस्ताक्षर गर्दै उनले तामाङलाई पोसाक र पुस्तकसमेत प्रदान गरे । प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि बुद्ध माविमै छेरिङ छोन्तोम लामालाई भर्ना गराइन् । तर, कार्यक्रममा ल्याइएका कुलाललाई कसैले भर्ना गर्न सकेनन् । कारण थियो, अपांगता । अपांगता भएका विद्यार्थीलाई पढाउने विद्यालय मुगुमा छैन ।

विद्यालयमा उनलाई आवश्यक पर्ने संरचना नभएकाले भर्ना गर्न नसकिएको शिक्षामन्त्री पोखरेलले बताए । कक्षा १ देखि ८ सम्म विद्यालयबाहिर रहेका ३ लाख १३ हजार विद्यार्थीमध्ये कर्णाली प्रदेशमा मात्रै २२ हजार छन् । विद्यार्थी भर्ना गर्नुपर्ने सन्देश दिन प्रधानमन्त्री आफैंले अभियान सुरुवात गरेका हुन् ।

प्रधानमन्त्री स्वयंले नेतृत्व गरेको ‘विद्यार्थी भर्ना अभियान–२०७५’ ले अपांगता भएका विद्यार्थीलाई भने सम्बोधन गर्न सकेन । नयाँ वर्षको पहिलो दिन मुगुको राराबाट सुरु ‘एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँच सुनिश्चितता र सिकाइमा स्थायित्व’ अभियानमै ठेस लागेको शिक्षामन्त्री पोखरेलले स्विकारे । ‘पहिलो दिनमै मुगुमा समस्या आयो,’ मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘भर्ना गर्न ल्याइएका बच्चामध्ये एक जना फरक क्षमता भएको अर्थात् अपांगता भएका थिए । अपांगता भएकै कारण उनलाई साधारण विद्यालयमा भर्ना गर्न सकिएन । यसबारे प्रधानमन्त्रीज्यूसँग छलफल भएको छ ।’ मुगुमा अपांगता भएका बच्चा भर्ना गर्न नसकेपछि सुर्खेत झरेर यस्ता बच्चालाई कसरी विद्यालयसम्म पुर्‍याउने भन्ने विषयमा प्रधानमन्त्रीसहितको टोलीमा छलफल भएको उनले बताए । शिक्षा मन्त्रालयले ‘अपांगता भएका व्यक्तिका लागि समावेशी शिक्षा नीति, २०७३’ ल्याएको छ । विशेष शिक्षा सञ्चालनसम्बन्धी निर्देशिका समेत छ ।

नीतिको पहिलो उद्देश्य अपांगता भएका बालबालिकाका लागि गुणस्तरीय शिक्षाका अवसरमा समतामूलक पहुँच सुनिश्चित गर्ने, दोस्रो अपांगता भएका नागरिकका लागि आवश्यकताअनुकूल गुणस्तरीय, जीवनोपयोगी, सीपमूलक र रोजगारमूलक शिक्षाको अवसर प्रदान गर्ने तथा अपांगता भएका नागरिकका लागि जीवनपर्यन्त निरन्तर शिक्षाको व्यवस्था गर्ने छ । अपांगता भएका हरेक बालबालिकाका लागि सबै तहमा क्षमता र योग्यताका आधारमा निस्शुल्क शिक्षाका अवसर खुला गरिने नीतिमा उल्लेख छ ।

तर, देशभरका अपांगता भएका बालबालिकालाई विद्यालयसम्म पुर्‍याउन सकिएको छैन । मुलुकभरि दृष्टिविहीन, बहिरा तथा सुस्तश्रवण र बौद्धिक अपांगता भएका विद्यार्थीका लागि ३ सय ८० स्रोत कक्षा, ३२ विशेष विद्यालय र २२ एकीकृत विद्यालय सञ्चालनमा रहेको मन्त्रालयले जनाएको छ । प्रारम्भिक बाल शिक्षादेखि माध्यमिक तहसम्म विभिन्न किसिमका अपांगता भएका ७४ हजार ८ सय २९ विद्यार्थी अध्ययनरत रहेको मन्त्रालयको दाबी छ ।

मन्त्री पोखरेलले शिक्षा ऐन आठौं संशोधन गर्दा अपांगता भएका विद्यार्थीका समस्या सम्बोधन गर्न विशेष शिक्षाको व्यवस्था गरिएको बताए । ‘नेपालको सन्दर्भमा यस्तो समस्या भएका बच्चाको पठनपाठन सामान्यखालको विद्यालयमा भर्ना गरेर हुन सक्दैन,’ मुगुमै नयाँ खालका समस्या अगाडि आएको बताउँदै उनले भने, ‘हामी चाँडै तिनीहरूका बारेमा छलफल गर्छौं । अहिलेकै भर्ना अभियानसँग जोडेर देशभरमा यस्ता बालबालिका कति समेटिएका छन्, कति समेटिएका छैनन्, लेखाजोखा गर्नेछौं ।’


कान्तिपुरबाट




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ