प्रधानमन्त्रीदेखि कलाकारसम्मले गराए विद्यार्थी भर्ना , कसले कसलाई पढाउने जिम्मा लिए ?

2018-04-16

काठमाडौं - विद्यालयबाहिर रहेकालाई विद्यार्थीलाई विद्यालय ल्याउने अभियानमा प्रधानमन्त्री केपी ओली नै सक्रिय भएका छन् । विद्यालय उमेर समूहका बालबालिकालाई विद्यालयमा ल्याउन प्रधानमन्त्रीदेखि मन्त्री, सांसदसम्मले एक–एक विद्यार्थी पढाउने जिम्मेवारी लिएका छन् । प्रधानमन्त्री ओलीले मुगुका ठिन्लेसाँबु लामाको स्वेच्छिक अभिभावकत्व ग्रहण गरेका छन् । आर्थिक र अन्य अवस्था कमजोर रहेका बालबालिका विद्यालयबाहिर रहेकाले प्रधानमन्त्री र मन्त्रीहरूले अभिभावकत्व ग्रहण गरेका हुन् ।

बालबालिकालाई विद्यालय ल्याउन प्रधानमन्त्रीको नेतृत्वमा विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियानका क्रममा मन्त्रीहरूले समेत अभिभावकत्व ग्रहण गरेका हुन् । १ वैशाखमा प्रधानमन्त्री तथा मन्त्रीहरूले विद्यालय बाहिर रहेका विद्यालय उमेर समूहका बालबालिकालाई जिम्मा लिएर भर्ना गरेका हुन् । कर्णाली प्रदेशका मुख्यमन्त्री, सांसद तथा मन्त्रीहरूले समेत अभिभावकत्व ग्रहण गरेका छन् । बालबालिकालाई विद्यालय ल्याउन सरकारले ‘एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचको सुनिश्चितता र सिकाइमा स्थायित्व’ भन्ने नाराका साथ प्रधानमन्त्रीको नेतृत्वमा भर्ना अभियान सञ्चालन गरिएको हो । कलाकारहरूसमेत भर्ना अभियानमा जुटेका छन् ।

अनिवार्य शिक्षा ऐनअघि नै विद्यालय
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले अनिवार्य शिक्षा ऐन आउनुअघि नै सबैलाई विद्यालय ल्याउन खोजेको बताए । त्यसका लागि विद्यालय उमेर समूहका तर, विद्यालय बाहिर रहेका बालबालिकालाई अभिभावकत्व ग्रहण गरेर विद्यालयमा ल्याउने पोखरेलले बताए । बालबालिका भर्ना गरेर विद्यालयमा टिकाउन खोजेको उनको भनाइ छ । उनले यो वर्ष भर्ना गरेका बालबालिकालाई विद्यालयमा निरन्तरता दिने काम सरकारले गर्ने बताए । उनले समताको सूचीमा रहेकालाई अभिभावकत्व ग्रहण गरेर विद्यालयमा ल्याउन आग्रह गरेका छन् ।

अभिभावकत्व ग्रहण गर्नेले के गर्नुपर्छ ?
आर्थिक अवस्था निकै कमजोर भएका र शारीरिक रूपमा अस्वस्थ भएका बालबालिका विद्यालय बाहिर छन् । बालबालिकालाई विद्यालयमा ल्याउन सरकारले अभिभावकत्व ग्रहण र अभिभावकलाई सहायता कार्यक्रमको नीतिसमेत लिएको छ । स्वेच्छिक अभिभावकत्व ग्रहण गर्नेले न्यूनतम स्टेसनरी, पोसाक र दिवाखाजाको व्यवस्था गर्नुपर्नेछ । विपन्न, गरिब, सीमान्तकृत, लोपोन्मुख वा पिछडिएका वर्ग र समुदायका बालबालिकाको अभिभावकत्व ग्रहण गर्न सरकारले आह्वान गरेको छ ।

आधारभूत तहमै सवा तीन लाख विद्यालय बाहिर
सरकारी तथ्यांकअनुसार अहिले आधारभूत तह (कक्षा ८ सम्म) अध्ययन गर्ने उमेरका सवा तीन लाख बालबालिका विद्यालयको पहुँचबाहिर छन् । शिक्षा विभागका निर्देशक केशव दाहालका अनुसार आधारभूत तहमा तीन लाख १३ हजार २८९ बालबालिका विद्यालयबाहिर छन् । कक्षा १–५ सम्म अध्ययन गर्ने उमेर समूहका ८८ हजार दुई सय ६ बालबालिका विद्यालय बाहिर छन् ।

माथिल्लो तहमा भने विद्यालय उमेर समूहका बालबालिका विद्यालय नजाने समस्या झनै धेरै छ । विगतमा भन्दा विद्यालय बाहिर रहने विद्यार्थीको संख्या केही घटेको छ । संविधानले नै आधारभूत तह ९कक्षा ८ सम्म०लाई अनिवार्य र निःशुल्क घोषणा गरेको छ । शिक्षा मन्त्रालयले समेत केही जिल्लामा अनिवार्य शिक्षा कार्यक्रम पाइलटिङको रूपमा लागु गरेको थियो । तर, सोही तहमै लाखौँ बालबालिका विद्यालय बाहिर रहँदा धेरै चुनौती थपिएको विज्ञ बताउँछन् ।

सबैभन्दा बढी समस्या तराईमा
सबैभन्दा बढी तराईमा विद्यालय उमेर समूहका बालबालिका विद्यालय बाहिर छन् । प्रदेश २ मा मात्र एक लाखभन्दा बढी बालबालिका विद्यालय बाहिर रहेका छन् । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले तराई मधेसका जिल्लामा धेरै बालबालिका विद्यालय बाहिर भएकाले त्यसका लागि सहयोग गर्न आग्रह गरेका छन् । धेरै समस्या भएकाले भर्ना अभियानका क्रममा प्रधानमन्त्री सिरहामा जाने कार्यक्रम छ । ५ वैशाखलाई भर्ना अभियानको विशेष दिनका रूपमा सरकारले मनाउँदै छ ।

कसले कसको लिए जिम्मा ?
प्रधानमन्त्री केपी ओलीले मुगुका ठिन्लेसाँबु लामा, रक्षामन्त्री ईश्वर पोखरेलले सूर्यदेवी रोकाया र पुस्कर रोकाया, शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कार्मासाङ्जिन लामा, पर्यटनमन्त्री रवीन्द्र अधिकारीले पुन्नबहादुर कुमाल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गुल्मीकी अस्मिता परियार, प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अभिषेक नेपाली र शिखा जिरेल (दोलखा)को अभिवाकत्व लिएका छन् । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरोज नेपाली, प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले नम्रता राना तथा सभामुख अर्जुनबहादुर थापाले गंगा रोकाया र जमुना रोकाया, पूर्वसभामुख सुवास नेम्वाङले विनिता नेपाली, पूर्वमन्त्री जनार्दन शर्माले सन्तोष भियाल र कांग्रेस नेता गगन थापाले रसिका श्रेष्ठ (बूढानीलकण्ठ)को अभिभावकत्व ग्रहण गरेका छन् ।


नयाँ पत्रिकाबाट




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ