2024-01-01 |
विश्वव्यापी तेल उत्पादक राष्ट्रहरुको साझा संस्था ओपेकमा आबद्द रहेका अल्जेरिया र साउदी अरेबिया जस्ता मध्य पूर्व र उत्तर अफ्रिका लगायत धेरै तेल र ग्यास धनी देशहरूले आफ्नो अर्थतन्त्रलाई विविधीकरण गरेर तेलमा निर्भरता घटाउने नीतिहरू घोषणा गरेका छन् वा लागू गरेका छन्। अर्थतन्त्रको संकुचन तथा विश्व भू राजनैतिक तरलता,द्वन्द इत्यादी कारणबाट तेलको मूल्यमा समय समयमा आउने उतारचढाव र विश्वव्यापी वातावरणीय प्रदुषणका कारणले गर्दा विश्व साझा मंचहरुको नीति बहसमा इन्धन उर्जा खपत तथा उत्पादनमा विविधीकरणलाई अग्रस्थानमा राखिएको छ।धेरै जीवाश्म ईन्धन उत्पादक राष्ट्र तथा निर्यातकर्ताहरूले विविधीकरणको आवश्यकता बुझेका छन्, यधपी थोरैले मात्र सफलतापूर्वक नयाँ नवीकरणीय उर्जाका क्षेत्रमा वृहत लगानी वृद्धि गरेका छन्।
तेल उत्पादक तथा निकासी गर्ने सम्पूर्ण राष्ट्रहरुको इन्धन व्यापार बाट आर्थिक अवस्थामा भएको सुधार र आयमा भएको वृद्धिबाट इन्धन उर्जा व्यापारको विविधीकरण अन्तर्गत तुलनात्मक रुपमा नयाँ नवीकरणीय उर्जा प्रविधि अँगाल्ने, नवप्रवर्तन गर्नको लागि पूर्ण आत्मविश्वास वा प्रोत्साहन पूर्ण रुपमा वृद्धि भएको पाइदैन। तर केही राज्य-स्वामित्व भएका तेल कम्पनीहरूले आफ्नो मुख्य गतिविधिहरू र व्यापार विविधिकरणका दक्षताहरू अभिवृद्धि गर्न प्रयत्नशील रहेका छन्।अर्थात यसमा मिश्रीत प्रयास भने जारी नै छ।
आजको द्रुत रूपमा परिवर्तन भइरहेको विश्वव्यापी ऊर्जा परिदृश्यमा, विश्वव्यापी तेल उत्पादक तथा वितरक कम्पनीहरूले मिश्रित उर्जाको उपयोग र सो परिवर्तन अनुकूलन गर्न रणनीतिक विविधीकरणको माध्यमबाट आवश्यक नीति तर्जुमा तथा निश्चित समयावधी भित्र लक्ष्य प्राप्ति गर्न रणनैतिक रुपमा कार्य अघि बढाएको पाइन्छ।
विश्वले स्वच्छ ऊर्जा स्रोतहरू र दिगो अभ्यासहरू अबलम्बन गर्न विभिन्न नीतिगत व्यवस्था अबलम्बन गर्दा, परम्परागत तेल उत्पादन राष्ट्रहरुले आर्थिक रुपमा सबल रहन र दिगो भबिष्यको लागि मिश्रित उर्जाको सान्दर्भिक क्षेत्रमा लगानी विस्तार गरीरहेको पाइन्छ।
विश्वव्यापी रणनीति:
विश्वव्यापी रुपमा इन्धनको प्रयोगको कारणले वातावरण संरक्षण, अनवीकरणीय पेट्र्र्रोलियमको समुचित प्रयोग र कार्बन उत्सर्जन लगायतका नकारात्मक प्रभावहरू उत्पन्न भएको र विश्वव्यापी जलवायु परिवर्तनको सबैभन्दा ठूलो कारक मानिएको छ।
जिवाष्म इन्धनको प्रयोगलाइ स्थानीय वायु प्रदूषणमा प्रमुख योगदानकर्ता मानिएको र हरित गृह ग्यास उत्सर्जनमा नकारात्मक वातावरणीय असर सृजना गरेको कारणले युरोपेली संघले ब्रसेल्समा भएको ऊर्जा र यातायात मन्त्रीहरूको शिखर सम्मेलनमा यो प्रस्तावलाई अनुमोदन गरेपछि पोल्याण्डको विरोधको बाबजुद सन् २०३५ देखि नयाँ पेट्रोल र डिजेल कारको बिक्रीमा प्रतिबन्ध लगाउन सहमत भएको छ।
तत् मुलुकहरुले नविकरणीय उर्जा,विध्युतिय सवारी साधन र हाइड्रोजन इन्धनबाट संचालन हुने सवारी साधनको उत्पादनमा जोड दिने किसिममा नीति तथा कार्यक्रमहरु घोषणा गरेको देखिन्छ । विश्वव्यापी रुपमा न्यूक्लियर र नवीकरणीय उर्जाका स्रोतहरू सजिलै उपलब्ध हुन थालेपछि, विश्वले जीवाश्म ईन्धनहरूबाट द्रुत रूपमा टाढा जान आवश्यक रहेको मत दिनानुदिन वृद्धि हुदै गएको समेत पाईन्छ।
यस्तै परिवेशमा हाम्रो छिमेकी मुलुकको इन्धन कम्पनी इन्डियन आयल कर्पोरेशनले व्यापार विविधिकरण तथा स्वच्छ उर्जा तर्फको यात्राका लागि नवीकरणीय उर्जामा लगानी विस्तार गरेको पाईन्छ । इन्डियन आयल कर्पोरेशनको मार्च २०२२ सम्मको नवीकरणीय ऊर्जाको स्थापित क्षमता कुल २३७.४२ मेगावाट रहेको छ,जसमा १६७.७ मेगावाट वायु उर्जा उत्पादन तथा ६९.८२ मेगावाट सौर्य फोटोभोल्टिक (PV) उर्जा उत्पादन रहेको छ ।
साथै आइओसीले आगामी १० वर्षमा पेट्रोकेमिकल, हाइड्रोजन र इलेक्ट्रिक मोबिलिटीमा ठूला परियोजना निर्माण गर्ने क्रममा आफ्नो रिफाइनिङ र इन्धन व्यापारमा रणनीतिक योजना विस्तार गरेको छ।आइओसीले भविष्यमा निर्माण गर्ने वा मौजुदा सबै रिफाइनरी तथा हाइड्रोजन उत्पादन तथा विस्तार परियोजनाहरूमा इन्धनबाट संचालन हुने पावर प्लान्ट स्थापना नगरी यसको सट्टा सौर्य ऊर्जा जस्ता नवीकरणीय स्रोतहरूबाट विद्युत उत्पादन गरी २५० मेगावाट बिजुली प्रयोग गर्ने लक्ष्य सार्वजनिक गरेको छ।आइओसीको राजस्थानमा रहेको ७२.३ मे.वा वायु उर्जा परियोजनाबाट उत्पादन भएको विद्युत मथुरा रिफाइनरीमा ल्याई सोही विद्युतलाई इलेक्ट्रोलाइसिस मार्फत हरित हाइड्रोजन उत्पादन गर्ने रणनीति बनाएको छ।यो निर्माण पश्चात आइओसीको प्रथम हरित हाइड्रोजन उत्पादन केन्द्र हुनेछ। यसका साथै आइओसीले भारतका पेट्रोलियम कम्पनीहरू (IOC, HPCL, BPCL आदि) ले हरित हाइड्रोजनको उत्पादनका लागि पाँचवटा पाइलट परियोजनाहरू तय गर्ने तयारी गरेका छन्।
आइओसीको रिफाइनरी विविधीकरण योजनाहरू अन्तर्गत पाइलट परियोजनाको रुपमा गुजरात रिफाइनरी लगायत अन्य महत्वपूर्ण प्रशोधन केन्द्रहरुमा हाइड्रोजन इन्धन उत्पादन तथा वितरण सुविधाको उत्पादन गर्ने महत्वकांक्षी योजना सार्वजनिक गरेको छ। भविष्यमा जिवाश्म इन्धन र हाइड्रोजन इन्धन वा दुवै प्रकारको बढ्दो मागको लागि पुर्व तयारी पुरा गर्ने लक्ष्य राखेको छ।
नवीकरणीय उर्जा विकासका लागि इन्डियन आयल कर्पोरेशन लिमिटेड (आईओसी) ले इन्डियन आयल-एनटीपीसी ग्रीन एनर्जी प्रालि सँग लगानी योजना समेत स्वीकृत गरेको छ। दुवै कम्पनीले सहायक कम्पनी एनटीपीसी ग्रीन एनर्जी लिमिटेड (एनजीईएल) सँगको ५०-५० संयुक्त उपक्रममा भारतमा आईओसीका रिफाइनरीहरूको चौबीसै घण्टा (आरटीसी) Round the Clock उर्जा आवश्यकताहरू पूरा गर्न $१९९.३ मिलियन लगानी विस्तार गरेको छ । साथै इन्डियन आयल कर्पोरेशन र NPTC विच संयुक्त उपक्रमहरुमा विभिन्न सौर्य उर्जा उत्पादन तथा वितरण गर्ने कार्यको लागि व्यापक लगानी विस्तार सम्झौता सम्पन्न भएको छ।
गत वर्ष, आईओसीले आफ्नो हाइड्रोजन-स्पाइक्ड सीएनजी, वा एच-सीएनजी, प्लान्टको उद्घाटन गरी भारतीय पेट्रोलियम मन्त्रालयले इन्धनको रूपमा एच-सीएनजी प्रयोग गरेर बसहरूको ट्रायल परिक्षण समेत शुरू गरीसकेको छ। एच-सीएनजी इन्धनको रूपमा प्रयोग गर्ने सवारी साधनहरूको कार्बन उत्सर्जन स्तरमा उल्लेख्य गिरावट आएको पाइन्छ। यसको उत्पादन लागत परम्परागत भौतिक मिश्रण भन्दा लगभग २२ % सस्तो हुने प्रक्षेपण गरीएको छ।भारतले नवीकरणीय ऊर्जा र स्वच्छ ऊर्जा अबलम्बन गर्ने प्रयासमा आगामी पाँच वर्षभित्र पेट्रोलमा २०% इथानोल मिश्रण गर्ने लक्ष्य अगाडि ल्याएको छ।
नवीकरणीय ऊर्जा लगानी :
विश्वव्यापी तेल उत्पादन तथा प्रशोधन कम्पनीहरु ExxonMobil, Shell, र BP जस्ता प्रमुख अन्तर्राष्ट्रिय तेल कम्पनीहरूले नवीकरणीय ऊर्जा परियोजनाहरूमा महत्त्वपूर्ण लगानी गरेका छन्। यी कम्पनीहरूले इन्धनको परम्परागत प्रयोगलाइ घटाउदै स्वच्छ उर्जाका विकल्पहरू अबलम्बन गर्ने र कार्बन फुटप्रिन्ट घटाउने महत्त्वलाई लागु गरेका छन। तत् कम्पनीहरुले सौर्य र वायु जस्ता नवीकरणीय ऊर्जा क्षेत्रमा परियोजना निर्माणलाइ तिब्रता दिने लक्ष्य राखेका छन्।
विद्युतीय सवारी साधन (EV) पूर्वाधार :
विद्युतीय सवारी साधनको बढ्दो लोकप्रियतालाई मनन गर्दै, तेल उत्पादक तथा प्रशोधन गर्ने कम्पनीहरूले EV पूर्वाधारमा विविधीकरण गर्दैछन्। टोटल र शेभरन जस्ता कम्पनीहरूले विद्युतीय गतिशीलताको बढ्दो मागलाई समर्थन गर्न चार्जिङ स्टेशनहरू र प्रविधिहरूमा व्यापक लगानी गरिरहेका छन्। यो रणनीतिक कदमले विश्वव्यापी वातावरणीय लक्ष्यहरूसँग तालमेल गर्ने र स्वच्छ उर्जा प्रयोग गरी वातावरणीय प्रभाव न्यून गर्ने लक्ष्य राखेको पाइन्छ।
कार्बन क्याप्चर र भण्डारण (CCS):
धेरै विश्वव्यापी तेल कम्पनी तथा राष्ट्रहरूले आफ्नो वातावरणीय प्रभावलाई कम गर्न,जिवाश्म इन्धनको प्रयोग बाट उत्सर्जन भएको कार्बन क्याप्चर र भण्डारण प्रविधिहरू निर्माण गर्ने कार्यलाइ तिब्रता दिएका छन्। Equinor र ConocoPhillips जस्ता कम्पनीहरूले कार्बन डाइअक्साइड उत्सर्जनलाई वायुमण्डलमा प्रवेश गर्नबाट रोक्ने परियोजनाहरूमा लगानी गरिरहेका छन्। यसले तेल कम्पनीहरूलाई इन्धनको रुपमा हाइड्रोकार्बन प्रयोग गरीरहदाको अवस्था प्रति समेत वातावरणीय दिगोपनप्रति प्रतिबद्धता प्रतिविम्बित गर्दछ।नेट-शून्य भविष्यको लागि वातावरणलाई डीकार्बोनाइज गर्न गरिएको लगानीले वातावरणीय प्रभाव न्यूनीकरण र दिगो उर्जा उपयोगमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने देखिएको छ।इन्धन उत्पादन तथा प्रसोधनमा अग्रणी विश्वका पाँच ठूला एकीकृत निजी क्षेत्रका तेल र ग्यास कम्पनीहरू - Shell, BP, TotalEnergies, ExxonMobil र Chevron - साथै UAE को सरकारी स्वामित्वको तेल कम्पनी ADNOC, ग्लोबल कार्बन क्याप्चर एण्ड स्टोरेज इन्स्टिच्युटका सदस्य रहेका छन।यसबाट वातावरणीय दिगोपन तथा आयमा विविधिकरण हुनेछ।
उदाहरणको रुपमा ब्रिटिश पेट्रोलियम (BP) द्वारा इन्डोनेसियाको पश्चिम पपुवा प्रान्तमा कार्बन क्याप्चर, युटिलाइजेशन र भण्डारण (CCUS) परियोजना निर्माणको शुरुवात भएको छ। इन्डोनेसियाको पहिलो कार्बन भण्डारण परियोजनामा १.८ गिगाटनसम्म कार्बन डाइअक्साइड भण्डारण गर्ने क्षमता रहने छ।यसको निर्माणबाट कार्बन नियन्त्रणमा महत्वपूर्ण टेवा पुर्याउने देखिन्छ।
नेपाल आयल निगमको परिदृश्य:
नेपाल दक्षिण एसियाको भूपरिवेष्ठित राष्ट्र भएकाले मुख्यत: देशको पूर्वी, दक्षिण र पश्चिम भाग भारतसँग जोडिएकाले विभिन्न पेट्रोलियम पदार्थको आपूर्ति र वितरणका लागि भारतमा निर्भर रहनुपर्छ।नेपालमा कच्चा तेलको अन्वेषणको सम्भावना अझै सम्भव भएको छैन।त्यसैले सम्पूर्ण राष्ट्रिय माग आयातबाट मात्रै पूर्ति हुन्छ।निगमको व्यापारिक गतिविधिको शुरुवातदेखि नै भारतको प्रमुख राष्ट्रिय कम्पनी इन्डियन आयल कर्पोरेशन लिमिटेड (IOC) सँग विशेष र दीर्घकालीन आपूर्ति व्यवस्था सम्झौता मार्फत पेट्रोलियम पदार्थ आयात गर्ने गरिएको छ।
इन्धन व्यापारमा एकाधिकार प्राप्त निगमले नेपालको ऊर्जा परिदृश्यको बदलिदो सन्दर्भमा अद्वितीय चुनौती र अवसरहरूको सामना गर्नुपर्ने देखिन्छ। यसका लागि व्यापार विविधीकरणको सिद्धान्त प्रासंगिक रहने निश्चित छ।
पेट्रोलियम पदार्थको व्यापारमा एकाधिकार प्राप्त निगमको ब्यापारमा थप विविधिकरण गर्दै समय सापेक्षिक रुपमा अल्पकालीन रुपमा अन्य बैकल्पिक व्यापारका आधारमा निगमको बार्षिक आम्दानिमा बृद्धि समेत हुने गरी अन्य पेट्रोलियम पदार्थ जस्तै ल्युब, बिटुमिन,मोबिल जस्ता पदार्थहरुको आयात भण्डारण तथा बिक्रि वितरण गर्न यस साथै उक्त कारोबारमा निगम समेत संग्लन हुने गरी आयात तथा विक्री वितरण कार्यविधि,उद्येश्य थप वा नयाँ कानुन तर्जुमा गरी निगमलाइ अघि बढाउनु अत्यावश्यक रहेको छ भने दिर्घकालिन रुपमा नवीकरणीय उर्जाका श्रोतहरुको लगानी विस्तार गर्दा निगमको बार्षिक आयमा बृद्धि भई एकल बस्तुमा मात्र ब्यापार केन्द्रित नहुने र यसले कर्मचारीहरुलाई समेत थप जिम्मेवारी प्रदान हुने देखिन्छ ।
निगमले बदलिदो विश्व परिवेशमा आफ्नो अल्पपकालीन तथा दीर्घकालीन नीति तर्जुमा गरी परम्परागत इन्धन व्यापार प्रणालीबाट आफुलाई परिष्कृत गर्दै स्वच्छ हरित उर्जा तर्फको पहलमा आफुलाई नीतिगत तथा संस्थागत रुपमा अघि नबढाए केही बर्ष पछी यसको अस्तित्वमा प्रश्न आउने त् होइन भन्ने आशंका विद्यमान रहेको छ। निगमले आफ्नो अस्तित्व रक्षा र देशको इन्धन आपूर्तिको प्रणालीमा आफुलाइ अब्बल सावित गर्न देहाय बमोजिमका क्षेत्रमा आफ्नो प्रवेश सुनिश्चित गर्नु अत्यावश्यक देखिएको छ।
नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी : विश्वव्यापी रुपमा वा बिशेषत भारतीय समकक्षहरू जस्तै, निगमले नवीकरणीय ऊर्जाको महत्त्वलाई नीतिगत तथा संस्थागत व्यवस्था गरी नेतृत्व लिने गरी अघि बढ्नुपर्ने देखिन्छ। निगमको व्यापार विविधिकरणको मोडालिटी विस्तार गर्दै कानुनी व्यवस्था गरी सौर्य र वायु उर्जा परियोजनाहरूमा लगानी विस्तार गर्नु जरुरी देखिएको छ। यसले नेपालको ऊर्जा मिश्रणलाई विविधीकरण गर्न र परम्परागत जीवाश्म इन्धनमा निर्भरता घटाउने प्रयासमा योगदान पुर्याउने र निगम समेत बहु व्यापार मार्फत आर्थिक रुपमा सबल बन्न सक्नेछ।
जलविद्युतमा लगानी विविधिकरण:
दीर्घकालीन रणनीति अनुसार हरित उर्जा र दिगो वातावरणीय विकासको दिशामा प्रशंसनीय कदमका रूपमा निगमले आफ्नो व्यापारिक उद्येश्य तथा मौजुदा कानुनी व्यवस्थामा परिमार्जन गर्दै सहायक कम्पनी मार्फत वा अन्य सार्वजनिक निकाय सँगको संयुक्त उपक्रममा जलविद्युत विकासको लगानीमा मा विशेष ध्यान केन्द्रित गर्दै परम्परागत जीवाश्म इन्धनबाट हरित ऊर्जा पहलमा परिवर्तन गर्न महत्वपूर्ण कदम चाल्नु अत्यावश्यक देखिएको छ।निगमको यो परिवर्तनले नेपाल सरकारको जलवायु परिवर्तनसँग लड्ने विश्वव्यापी प्रयाससँग सामान्जस्यता कायम हुने र नेपाललाई नवीकरणीय ऊर्जामा अग्रणी राष्ट्रको रूपमा पनि राख्न विशेष योगदान पुग्न सक्दछ।जीवाश्म इन्धनको व्यापक प्रयोगबाट उत्पन्न वातावरणीय चुनौतिहरूलाई स्वीकार गर्दै निगमले जलविद्युतको सम्भावनालाई स्वच्छ र प्रचुर मात्रामा ऊर्जाको स्रोतको रूपमा स्वीकार गर्नु पर्दछ। नेपाल नदी र जलस्रोतको धनी छ, जसले कार्बन फुटप्रिन्ट कम गर्ने राष्ट्रको लागि जलविद्युतलाई प्राकृतिक विकल्प बनाएको छ सोको समुचित प्रयोगका निम्ति समेत निगमको प्रवेश अत्यावश्यक देखिएको छ।
बिटुमिन तथा ल्युब आयल उत्पादन तथा विक्रीवितरण:
नेपालमा हाल सडक, पुल र विमानस्थल लगायतका पूर्वाधार विकासमा उल्लेखनीय बृद्धि भइरहेको छ।बिटुमिन सडक निर्माणमा एक महत्वपूर्ण अवयवको रुपमा रहने हुनाले गुणस्तरीय बिटुमिन आयात तथा विक्रीवितरण गर्न सके सुरक्षित र मजबुत सडक सञ्जाल विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याउन सकिने देखिन्छ।
देश भित्र नयाँ सडक संजालको निर्माण,रणनैतिक महत्वका ठुला सडक आयोजनाको निर्माण,प्रादेशिक तथा क्षेत्रीय सडक संजालको निर्माणको लागी बिटुमेनको माग बढ्दो हुनेछ। यी पूर्वाधार आवश्यकताहरू पूरा गर्न निगमले आफूलाई उच्च गुणस्तरको बिटुमेनको भरपर्दो आपूर्तिकर्ताको रूपमा स्थापित गर्न सक्छ।पेट्रोलियम पदार्थको एकाधिकार रहेको निगमले इन्डियन आयल कर्पोरेसनको व्यापारिक सम्झौता मुताविक नै उत्पादक कम्पनी सँग सोझै खरिद गरी बिटुमिनको कारोवारमा संलग्न हुन् सक्दछ।उच्च गुणस्तरको बिटुमिन सडक निर्माणका लागि अत्यावश्यक रहने हुदा संस्थागत व्यवस्था गरी निगमले बल्क तथा खुद्रा रुपमा सो पदार्थको विक्री वितरण गर्दा निगमको कारोवार तथा आयमा वृद्धि हुने देखिन्छ।यसको आयात तथा भण्डारण साथै विक्री वितरणको लागि हाल मौजुदा भौतिक संरचना तथा मानवीय जनशक्ति प्रयोग गर्न सकिन्छ।
साथै नेपालमा भइरहेको सहरीकरण र औद्योगीकरण, सडकमा निजी र व्यावसायिक दुबै सवारी साधनको बढ्दो संख्याले ल्युब आयलको माग बढाउनेछ ।थप सवारी साधन र मेसिनरी प्रयोगमा ल्याइएपछि निगमको ल्युब आयल उत्पादन तथा विक्री वितरणका लागि आकर्षक बजार हुन् सक्ने देखिन्छ यसका लागि निगमले विभिन्न प्रकारका सवारी साधन र औद्योगिक मेशीनरीहरुका लागि विभिन्न प्रकारका ल्युब आयल उत्पादन वा विक्री वितरण मार्फत थप फाइदा लिन सक्ने देखिन्छ।
यी क्षेत्रहरूमा रणनीतिक रूपमा अगाडी बढी निगमले बिटुमिन र ल्युब आयलको बढ्दो बजारमा आफ्नो प्रभुत्व कायम गर्न सक्छ, जसले संस्थाको दिगो भविष्य तथा विकास सुनिश्चित गर्दै उपभोक्तालाई कम मूल्यमा गुणस्तरीय सेवा प्रवाह गरी समेत योगदान पुर्याउँन सक्दछ।
हाइड्रोजन इन्धनको विकास तथा लगानी: विश्वव्यापी रुपमा हाल हरित इन्धनको रुपमा हाइड्रोजन इन्धन परम्परागत जीवाश्म इन्धनहरूको एक शशक्त विकल्पको रुपमा चित्रित गरिएको छ।निगमले कानुनी तथा नीतिगत स्पष्टता माग गरी सरकारी स्तरबाट नै यसको व्यवसायीक अध्ययन तथा उत्पादन कार्यको लागि भबिष्यमा निगमको नेतृत्व रहने गरी संस्थागत व्यवस्था हुन् जरुरी देखिएको छ।
EV चार्जिंग स्टेशन निर्माण तथा संचालन: हाल दिनानुदिन वृद्धि हुदै गएको विद्युतीय सवारी साधनको आयात तथा संचालनलाई समेत ध्यानमा राखेर निगमका तर्फबाट सरकार एवं अन्य सरोकारवालाहरू निकाय जस्तैः विद्युत प्राधिकरणसँग सहकार्य गरी आफ्नो स्वामित्वको विक्री केन्द्र तथा निगमका आधिकारिक विक्री केन्द्रहरुमा चार्जिंग स्टेशन निर्माण गर्ने योजना कार्यान्वयन गर्नु आवश्यक रहेको छ। आफ्ना विक्रेताहरुकहाँ स्थापना गरिने चार्जिंग स्टेशन निर्माण सम्बन्धमा विक्रेता तथा निगमको साझेदारी रहने गरी संयुक्त लगानीमा सो निर्माण गर्न सकिन्छ । निगमले स्पष्ट नीतिगत व्यवस्था गरी स्थानको प्रयाप्तता रहने गरी नयाँ स्थापना हुने विक्रीस्थल वा साविकका स्थानबाट ठाउसारी हुने विक्रेताकहाँ प्रथम चरणमा सो स्टेशन निर्माण कार्य अगाडि बढाउँन जरुरी देखिएको छ।
अनुसन्धान र विकासमा लगानी :
ऊर्जा क्षेत्रमा प्राविधिक विकासको अग्रपङ्क्तिमा रहन जैविक इन्धनको अनुसन्धान र विकासका लागि स्रोतको विनियोजन गरी निगमले लाभ लिनु अत्यावश्यक देखिएको छ।
निष्कर्ष:
ईन्धन उर्जाको रुपमा प्रयोग भइरहेको पेट्र्र्रोलियम पदार्थको प्रयोगलाई निरुत्साहित गर्दै यसलाई पूर्णरुपमा विस्थापन गर्नु अहिले विश्वकै एक कठिन र चुनौतीपूर्ण मुद्दाको रुपमा रहेको छ। विश्वव्यापी ऊर्जा परिदृश्य परिवर्तन हुँदै जाँदा, तेल उत्पादन राष्ट्र तथा कम्पनीहरूले दिगो वृद्धि हासिल गर्नका लागि आफ्नो व्यवसाय विविधीकरणको महत्त्वलाई अङ्गीकार गरेका छन । यसमा नवीकरणीय ऊर्जालाई अँगाल्ने, विद्युतीय सवारी साधनको पूर्वाधार विकास गर्ने र दिगो अभ्यासहरू अपनाउने रणनीति समावेश गरिएको छ। विश्वव्यापी रुपमा भएका यी पहलहरूले वातावरणीय जिम्मेवारीप्रति सबैको प्रतिबद्धता मात्र देखाउँदैनन् यी कम्पनीहरूलाई गतिशील बजारमा व्यापार विविधिकरणको लागि महत्वपूर्ण अवसर समेत सृजना गराएको छ। विश्वव्यापी प्रचलनहरूबाट प्रेरणा लिएर र स्थानीय परिस्थितिहरू अनुरूप रणनीतिहरू तर्जुमा गर्दै विश्वभरका तेल कम्पनीहरूले ऊर्जा भविष्यको लागि मार्ग प्रशस्त गर्दै छन् जुन थप विविध, लचिलो र दिगो रहेको छ। यसबाट प्रेरणा लिदै निगम समेत अघि बढ्न जरुरी देखिन्छ।
बदलिदो विश्वव्यापी उर्जा परिदृश्यमा, निगमको व्यापार विविधीकरण रणनीति प्रतिस्पर्धी र थप विकसित हुन् महत्वपूर्ण देखिन्छ। दिगो र स्वच्छ ऊर्जाको प्रयोग सम्बन्धि विश्वव्यापी प्रवृतिहरूसँग पङ्क्तिबद्ध हुदै निगमले परिवर्तनशील ऊर्जा प्रतिमानमा आफूलाई उभ्याउन सक्दछ। विश्वले स्वच्छ र दिगो अभ्यासहरू तर्फ आफुलाई उभ्याउदै गर्दा, निगमको रणनीतिक व्यापार विविधीकरणले उर्जा व्यापारको दिगो भविष्यको सफलतालाई आकार दिन र आर्थिक र वातावरणीय दिगोपनका फराकिलो लक्ष्यहरूमा योगदान पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्नेछ।
(लेखक, नेपाल आयल निगम लिमिटेडमा कार्यरत हुनुहुन्छ)
नेपालमा आम जनमानसमा निकै परिचित र कहलिएका डाक्टरको नाम हो भगवान कोइराला । उनले गरेको उपचारबाट नयाँ जीवन पाएकाहरु त उनलाई साक्षात भगवान् नै मान्दछन् ...
वैशाख ३० गतेको स्थानीय निकायको चुनावले नेपालमा राजनीतिक माहोल तताएको छ। राजनीतिक दलहरुले गरिरहेका घरदैलो, सामाजिक संजाल र संचार माध्यमहरुमा यसको चर्चाले राजनीतिमा चासो नभएका ...
"Karl Heinrich Marx was a German philosopher, economist, historian, sociologist, political theorist, journalist and socialist revolutionary. Born in Trier, Germany, Marx studied law and philosophy ...