शरणार्थी ठगी प्रकरण : उजुरीकर्ताको सङ्ख्या बढ्दै, लेनदेनको अडियो प्रहरीमा

2023-05-08

काठमाडौँ - नक्कली परिचयपत्र बनाएर अमेरिका जान पाउने आशामा ठगिनेहरूको सङ्ख्या बढ्दै छ । ठगीमा संलग्न मोरङ घर भएका केशव दुलालसहित ४ जना पक्राउ परेसँगै पीडितहरूले उपत्यका अपराध अनुसन्धान कार्यालयमा धमाधम जाहेरी दिइरहेका छन् ।

हालसम्म उजुरीकर्ताको सङ्ख्या १ सय ४५ पुगेको छ । शुक्रवार सम्ममा १ सय ४५ जनाले उजुरी दिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख (एसएसपी) डा. मनोज केसीले रातोपाटीलाई जानकारी दिए । डा. केसीले भने, ‘उजुरकर्ता अझै बढ्न सक्छन् ।’

केशव दुलालसहितका आरोपीहरुबिरुद्ध सुरुमा ८१ जनाले उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिएका थिए । सो उजुरीपछि प्रहरीले ४ जनालाई पक्राउ गरेको थियो । शरणार्थीको परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोपमा चैत १२ मा प्रहरीले केशव दुलाल, पाँचथरका टङ्क गुरुङ र ललितपुर घर भएका सानु भण्डारीलाई पक्राउ गरेको थियो । चैत १५ मा मोरङ घर भएका सागर राई पक्राउ परे । सागर मोरङको पथरी शनिश्चरे नगरपालिका स्थित वडा नम्बर–१० को पूर्व अध्यक्ष हुन् । सागरले अमेरिका जान चाहनेहरूसँग उठाएको पैसा मध्ये ७ लाख रुपैयाँ भुटानी अधिकारवादी नेता टेकनाथ रिजाललाई बुझाएको बयान दिएका छन् ।

शरणार्थी परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा आफूहरू ठगिएको भन्दै पीडितहरूले २०७९ जेठ १८ मा पहिलो पटक प्रहरीमा जाहेरी दिएका थिए । उजुरी परेपछि सो प्रकरणमा उच्च पदस्थहरू नै संलग्न भएको भन्दै अरोपीहरुले आफूलाई पक्राउ गर्नबाट रोकाएका थिए ।

आरोपीहरूले अहिलेसम्म ४० करोड ठगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । पक्राउ परेका मध्ये टङ्क कुमार गुरुङसँग जिल्ला सरकारी वकिल कार्यालयले बयान लिएको छ । ललितपुर धापाखेल स्थित आफ्नै घरमा होटेल चलाउने गुरुङले आफू योजनामा संलग्न नभएको र ‘सम्पर्क सूत्र’को रूपमा मात्रै काम गरेका बयान दिएका छन् । टङ्क गुरुङ पाँचथरका स्थानीय हुन् ।

लेनदेनको अडियो प्रहरीमा

दाङ घर भएका सन्देश शर्मा सो ठगीको मुख्य योजनाकार रहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् । अमेरिका जाने आशामा पैसा बुझाएका एक जना पीडित र सन्देश शर्माको बिचमा भएको अडियो कुराकानी प्रहरीले फेला पारेको छ । पीडितसँग सन्देश शर्माले भनेका छन्, ‘मैले नेता र मन्त्री पत्नीलाई पैसा बुझाएको छु, मसँग रेकर्ड छ ।’

अमेरिकामा मान्छे पठाउन नसके रकम फिर्ता माग्दा शर्माले भनेका छन्, ‘गरिदिने मान्छेलाई पैसा दिएका छौँ, समिति बनाउने बार्गेनिङ गरेर हामीसँग नै खाइरहेका छन्, नियतवश प्रमुख जिल्ला अधिकारीको सरुवा गरेर काम लम्ब्याउन खोजिँदै छ ।’

पीडितहरूले नै प्रहरीलाई सो अडियो बुझाएका हुन् । अडियोमा उल्लेखित नामसँग आरोपीहरूको सम्पर्क स्थापित भएमा उनीहरू पनि अनुसन्धानको दायरामा आउने बताइएको छ ।




थप समाचार


नागरिकता विधेयकमाथि परामर्श गर्दै राष्ट्रपति

नागरिकता विधेयकमाथि परामर्श  गर्दै राष्ट्रपति

काठमाडौं - करिव साढे सात महिनादेखि शीतल निवासमा अलपत्र नागरिकता विधेयकमाथि राष्ट्रपति रामचन्द्र पौडेलले कानूनी परामर्श थालेका छन् । आफ्नो सन्देशसहित एक पटक फर्काएको विधेयक प्रतिनिधिसभा ...

पार्टी नेतृत्व प्रति गगनको आक्रोश : ''अब त अति भयो "

पार्टी नेतृत्व प्रति गगनको आक्रोश : ''अब त अति भयो

काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मन्त्री छनोटमा आपत्ति जनाएका छन्। कांग्रेसबाट ९ जना मन्त्री बन्दा आफूलाई उपेक्षा गरिएपछि महामन्त्री थापाले असन्तुष्टि जनाएका हुन् ...

टुकुचा खोला विवाद : उच्च अदालतले दिएको अन्तिम फैसलामा के छ ?

टुकुचा खोला विवाद : उच्च अदालतले दिएको अन्तिम फैसलामा के छ ?

काठमाडौँ - उच्च अदालत पाटनले काठमाडौँको कमलादी र हात्तीसार क्षेत्रमा भूमिगत गरिएको टुकुचा खोला नै भए पनि खोलामाथिको सम्पत्ति व्यक्तिगत सम्पत्ति ठहर गरेको छ । न्यायाधीशहरू ...




ट्रेन्डिङ