पार्टी नेतृत्व प्रति गगनको आक्रोश : ''अब त अति भयो "

2023-05-08

काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मन्त्री छनोटमा आपत्ति जनाएका छन्। कांग्रेसबाट ९ जना मन्त्री बन्दा आफूलाई उपेक्षा गरिएपछि महामन्त्री थापाले असन्तुष्टि जनाएका हुन् । उनले धेरै पटक प्रतिरोध गर्न खोजेको तर पार्टीको जिम्मेवारीमा रहेको सम्झिएर मौन रहेको, पार्टीभित्रै मत र अडान राखेको तर अहिले अति भएको बताए ।

आइतबार फेसबुकमा उनले लेखेका छन्,"कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ । त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडे, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो !"

कांग्रेस सभापति शेरबहादुर देउवा निकट ६ जना मन्त्री बन्दा नेता शेखर कोइराला पक्षका ३ जना मन्त्री बने । महामन्त्री थापाले सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परिवारलाई मन्त्री बनाउन चाहेका थिए । तर कांग्रेसका ९ जना मन्त्री सरकार पुग्दा महामन्त्री गगन थापा पनि ‘पावर एक्सरसाइज’भन्दा बाहिर रहे । पुस १० मा बनेको एमाले नेतृत्वको गठबन्धनबाट भत्काएर कांग्रेसलाई सत्तामा कमब्याक गराउन निर्णायक भूमिका खेलेका थापा मन्त्री छनोटमा प्रभावहीन बने ।

मन्त्री छनोटमा सभापति देउवा र नेता शेखर कोइरालाको दोहोरो उपेक्षा भोग्नु परेको उनको गुनासो छ । चैत १७ मा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी भयो । खड्का उपप्रधान तथा रक्षा, प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग र सीता गुरुङ सहरी विकास मन्त्री नियुक्त भए ।

वैशाख ३ मा एनपी साउद परराष्ट्रमन्त्री भए भने वैशाख २० मा उपसभापति धनराज गुरुङ कानुन, मोहन बस्नेत स्वास्थ्य र डिगबहादुर लिम्बु खेलकुद मन्त्री बने । आइतबार कांग्रेसका सुरेन्द्र आचार्य महिला तथा बालबालिका मन्त्रीको जिम्मेवारीसहित सरकारमा सामेल भएका छन् । विभिन्न चरणमा गरी देउवाले प्रचण्ड नेतृत्वको सरकारमा आफू निकट ६ र नेता शेखर कोइराला निकट ३ जनालाई मन्त्री बनाए ।

उपसभापति खड्का, नेता महत, साउद, रिजाल, बस्नेत र गुरुङ देउवा पक्षीय हुन् भने अर्का उपसभापति गुरुङ, जिल्ला सभापति लिम्बु र नेता आचार्य कोइराला निकट मानिन्छन् । आचार्य राष्ट्रपति रामचन्द्र पौडेलका नातेदार पनि हुन् । आचार्यलाई मन्त्री बनाउनुको पछाडि राष्ट्रपति पौडेलको भूमिका रहेको कांग्रेस वृत्तमा चर्चा छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ