मुख्यमन्त्री शाहले रेशम चौधरीको घरमै पुगेर दिए जेलमुक्त गराउने आश्वासन

2023-02-12

कैलाली - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले टीकापुर घटनाको मुख्य अभियुक्तका रूपमा जेलजीवन बिताइरहेका नागरिक उन्मुिक्त पार्टीका संरक्षक रेशम चौधरीका परिवारलाई भेट गरेका छन्।

शुक्रबार साँझ मुख्यमन्त्रीको पदभारग्रहण गरेको भोलिपल्ट शनिबार कैलालीको जानकी–९ जगतपुरस्थित चौधरीको घरमै पुगेर परिवारका सदस्यालाई भेटघाट गरेका मुख्यमन्त्री शाहले रेशम लगायतकालाई जेलमुक्त गराउन आफू लागिपर्ने आश्वासन दिए।

उनले उक्त घटनालाई राजनीतिक रुपमा नै समाधान खोजिनुपर्ने बताए। रेशम चौधरीकी ६८ वर्षीया आमा सुनफीदेवी चौधरीबाट आशीर्वाद लिँदै मुख्यमन्त्री शाहले भने, “म पनि तपाईँको छोरा हो। चिन्ता नलिनुहोला। रेशम जीलाई छुटाउने म अथक प्रयास गर्ने छु।”

मुख्यमन्त्री शाहलाई आशिर्वाद दिँदै सुनफीदेवीले भने, “आफूले सानो छँदा खेलाएको स्मरण गर्दै आफ्नो छोरा रेशमलाई पनि जेलबाट छुटाएर यसरी नेता भएर आएको देख्न मन छ।” मुुख्यमन्त्री शाहले रेशमलाई जेलमुक्त गराउन आफूले सक्दो पहल गर्ने रेशमका सहोदर भाइ प्रकाश चौधरीलाई आश्वासन दिए।

टीकापुरको घटनाले सामाजिक सद्भावमा ठेस् पुगेको उनको भनाइ थियो। मुख्यमन्त्री शाहले भने, “टीकापुर घटनाले यस क्षेत्रको हरेक कोणबाट बदनाम गर्ने काम भइरहेको छ। वर्षौदेखि मिलेर बसेको समाजमा फाटो ल्याउने काम भइरहेको छ। अब त्यो तपाईँ हामी सबैले बुझ्नुपर्छ। सबै सजग हुनुपर्छ।”

मुख्यमन्त्री शाहले शनिबार नै नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष सङ्घीय सांसद रञ्जिता श्रेष्ठसँग भेटवार्तासमेत गरेका छन्। टीकापुरस्थित सिदार्थ होटलमा भएको घेटघाटमा वर्तमान राजनीतिक घटनाक्रमको बारेमा छलफल भएको मुख्यमन्त्रीका सचिवालय प्रमुख रामबहादुर विष्टले बताए।

शाहले मुख्यमन्त्री भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्छ। जसका लागि २७ सांसदको समर्थन चाहिन्छ। यसअघि नेकपा (एमाले) नेतृत्वको सरकार नागरिक उन्मुक्तिले साथ नदिएपछि एक महिनामै ढलेको थियो। शाहले विश्वासको मत पाउने दाबी गरिरहनु भएको छ। उच्चस्तरीय भेटघाटको लागि मुख्यमन्त्री शाह शनिबार नै काठमाडौं गएका छन्।

मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्र एक जना सांसदको समर्थन पाउने विश्वास व्यक्त गर्दै आएका छन्। सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका उपसभामुखबाहेक नौ, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र स्वतन्त्र एकजना सांसद छन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ