३०१ औं पृथ्वी जन्मजयन्तीका सन्दर्भमा राष्ट्रिय एकीकरणबारे थप कुरा !

2023-01-12
नारायण शर्मा

सर्वप्रथम वर्तमान नेपाल राष्ट्र निर्माणको लागि जग बसाल्ने तत्कालीन राजा पृथ्वीनारायण शाहप्रति उनको ३०१औं जन्मजयन्तिका सन्दर्भमा श्रद्धासुमन ! पृथ्वी जयन्तीलाई विगत डेढ दसकयता राष्ट्रिय एकता दिवसको रुपमा न मनाउने र सरकारी विदा पनि नदिने तत्कालीन सरकारको अपमानजनक निर्णय र आफ्नै सरकारसमेतका पछिल्ला सरकारहरुद्वारा त्यसै निर्णयलाई निरन्तरता दिने गल्तीलाई सच्चाउने आँट वर्तमान प्रचण्ड नेतृत्वको सरकारले गरेको छ । आज पृथ्वीनारायण शाहको पुनर्मूल्याङ्कन गरी सरकारी र जनस्तरबाट समेत भव्यतापूर्वक पृथ्वीजयन्ति तथा राष्ट्रिय एकता दिवस मनाउने र त्यसका लागि आज सार्वजनिक विदा समेत दिने निर्णय गर्ने माओवादीका केन्द्रीय अध्यक्ष प्रचण्ड र उहाँको नेतृत्वको वर्तमान नेपाल सरकारप्रति पनि हार्दिक बधाई !

वास्तवमा देस बनाउन र बढाउनको लागि विगतदेखि वर्तमानसम्मका, राजादेखि रैतीसम्मका, राजनीतिज्ञदेखि कूटनीतिज्ञ र सर्वसाधारणसम्मका, शासकदेखि शासितसम्मका, कमान्डर-कमिसारदेखि योद्धा-सिपाहीसम्मका, परिकल्पनाकार र योजनाकारदेखि अवलम्बनकर्ता र कार्यान्वयनकर्तासम्मका अझ भनौं अमीरदेखि फकीरसम्मका र मुख्यत: आम जनसमुदायको भूमिका रहेको हुन्छ । हामी सच्चा देसभक्त र जनवादीहरुले देस बनाउन बलिदान र योगदान गर्ने ती सबैको भूमिकाको यथोचित मूल्यांकन गर्नु र सो अनुसार तिनलाई सम्झना, सम्मान र सलाम गर्नुपर्छ । यसो गर्नुपनि राष्ट्र निर्माण, सुदृढ र सबल पार्नु नै हो ।

आजको नेपाल राष्ट्र निर्माणका योजनाकार र पहलकर्ता नायक हुन् तत्कालीन गोर्खाली राजा पृथ्वीनारायण शाह । यद्यपि उनीभन्दा पहिले वर्तमान नेपालको सरहदभित्रका विभिन्न भूभागहरुमा विभिन्न समयमा विभिन्न राजाहरुले नेपालको प्रारम्भिक खाका कोर्दै राज्य गरेका थिए तथापि वर्तमान नेपालको चार किल्लाभित्र मुख्यरुपले क्रमशः गोपाल वंशी, किरात वंशी र लिच्छवि वंशी राजाहरुले कैयौं शताब्दीसम्म राज्य गरेर वर्तमान नेपालको राम्रो घडेरी तयार गरिदिएका थिए । नेपाल निर्माणका सन्दर्भमा उनीहरुको योगदानलाई पनि स्मरण, सम्मान र सम्बोधन गर्नु उचित, आवश्यक र न्यायपूर्ण हो, जो हामीले गर्नैपर्छ ।

तरपनि पछिल्लो समयमा गोरखा हुँदै नेपालका राजा बनेका पृथ्वीनारायण शाहलाई नै वर्तमान नेपालको एकीकरण कर्ता राष्ट्र निर्माताको रुपमा मान्यता दिनुमा केही खास कारणहरु छन् । प्रथमतः उनी एक सामान्य राजा मात्र नभै एक दूरदर्शी, महान् स्वप्नदर्शी र महत्त्वाकांक्षी साहसी योद्धा पनि थिए । द्वितीय, त्यतिबेला नेपालमा विद्यमान बाइसी र चौबीसी गरी चार दर्जनभन्दा बढी ससाना कविलाई प्रकारका राज्यहरुलाई आर्थिक रुपमा बाँच्न कठिन भैरहेको थियो । काठमाडौं उपत्यकामा मात्रै पनि कान्तिपुर (काठमाडौं), पाटन (ललितपुर), भादगाउँ (भक्तपुर) र कीर्तिपुर गरी चार राज्यहरु थिए र उनीहरुबिच आपसमा वैमनस्य र झैझगडा भैरहेका थिए । त्यसैले यी सबै ससाना राज्यहरुलाई आपसमा मिल्नु-मिलाउनु पर्ने र एक आत्मनिर्भर र शक्तिसम्पन्न राष्ट्र बन्न-बनाउन पर्ने एक ऐतिहासिक आवश्यकता भैसकेको थियो ।

तृतीय, त्यतिनै बेला बृटिश साम्राज्यवादीहरुले इष्ट इन्डिया कम्पनीको नामबाट कलकत्ताबाट राज्य बिस्तार गर्दै हालको पूरै इन्डिया, पाकिस्तान र वांग्लादेशको भूभागलाई आफ्नो कब्जामा लिइसकेको थिए । त्यतिबेला बृटिश साम्राज्यमा घाम कहिले अस्ताउँदैनथ्यो ! भन्नुको अर्थ त्यो यति ठुलो साम्राज्य भएको थियो कि बेलायती साम्राज्य पृथ्वीको आधा भूभागभन्दा बढीजस्तै भएर जुनसुकै बेला पनि कुनै न कुनै भागमा घाम लागिरहन्थो । बेलायतको पछिल्लो योजना अनुसार आक्रमणको तारो यो सुन्दर प्राकृतिक रमणीय पहाडी राज्य नेपाल मुख्यत: काठमाडौ उपत्यका बनेको थियो । नेपालका पहाडी राज्यहरु आफैमा विभिन्न प्राकृतिक श्रोत-साधन र सम्पदाले सम्पन्न थिए भने काठमाडौं उपत्यका त झन् कलाकौशल र साँस्कृतिक सम्पदाले समेत सुसज्जित एक विकसित सभ्यता र समृद्धिसहित अघि बढेको थियो । त्यसमाथि आधुनिक मुद्राको निर्माणसहित कृषि, उद्योग र बन्दव्यापारको विकास गर्दै लिच्छविकालदेखि नै चीन-तिब्बतसम्म व्यापार गर्दै आएर स्वर्णयुगको स्तरमा पुगेको थियो । अङ्ग्रेजहरुले आफ्नो विश्व लुट्ने महाभियान अन्तर्गत दक्षिण कब्जा गरिसकेपछि उनीहरुको योजना उत्तरमा रहेको विशाल र सम्पन्न चीन-तिब्बतमाथि पनि कब्जा जमाई विश्वविजय गर्दै चरम ब्रह्मलूट मच्चाउनु थियो । त्यसका निम्ति उत्तरको बाटोमा रहेका नेपाल सरहदभित्रका ससाना पहाडी राज्यहरु खासगरी काठमाडौं उपत्यकाका ४ राज्यहरु र तिनका चारैदिशाका सबैजसो राज्यहरु कब्जा गर्ने र उत्तरतिर पस्ने बेलायती साम्राज्य विस्तारको गुरुयोजना थियो । त्यो गुरुयोजनालाई परास्त नगरे आफ्नो गोरखा राज्य पनि अतिक्रमणमा पर्ने र नबँच्ने देखेपछि यी सम्पूर्ण पहाडी राज्यहरुलाई एकीकरण नगरी हुँदैन भन्ने कुरा नेपालका अन्य बाईसी-चौबीसी राजाहरुभन्दा पहिले राम्रोसँग तत्कालीन राजा पृथ्वीनारायण शाहले बुझे ! यसैक्रममा उनले काठमाडौं उपत्यकाको भ्रमण गरे र त्यहाँको सुन्दरता, विकास र समृद्धि देखेपछि उनमा नैसर्गिक रुपमै रहेको महत्त्वाकाङ्क्षाको सानो बीउ काठमाडौं उपत्यकाजस्तो सुन्दर नगरीको राजा बन्ने ठुलो महत्त्वाकाङ्क्षाका रुपमा विकसित भयो । यसरी बृटिश साम्राज्यवादीहरुले भारत कब्जागर्दै नेपालका काठमाडौं उपत्यकासहित सबै पहाडी राज्यहरु कब्जा गरी चीन-तिब्बत समेत कब्जा गर्ने दाउ गरिरहेका बेला अङ्ग्रेजहरुबाट आफ्नो गोरखा राज्य सुरक्षित गर्नको लागि पनि वर्तमान नेपालको सरहदभित्र रहेका राज्यहरुलाई एकीकृत गर्नु पृथ्वीनारायण शाहका निम्ति ऐतिहासिक बाध्यता नै बन्न गयो ।

यसरी हेर्दा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुमा मुख्य तीन कारणहरुले काम गरेको देखिन्छ । प्रथम, अङ्ग्रेजहरुबाट आफ्नो राज्य बचाइराख्नको लागि; द्वितीय, एउटा ठूलो र शक्तिशाली राज्यको ठूलो र शक्तिशाली राजा बन्ने महत्त्वाकाङ्क्षा पूरा गर्नको लागि र तृतीय, राज्य संचालन गर्न कठिनाइ बेहोरिरहेका र आपसमा झैझगडा गर्दै जेनतेन बाँचिरहेका ससाना राज्य र तिनका राजाहरुको आर्थिक, राजनीतिक र मनोवैज्ञानिक समस्या हल गर्नको लागि । यिनै कारण र उद्देश्यले साम्राज्यवादी अङ्ग्रेजहरुको अधीनमा पर्नुअघि उनले नेपाल एकीकरण गरी एक बृहत्, सबल र अव्वल राज्य निर्माणको महाभियान थालेको देखिन्छ । यी तीन कुराहरुको सुसंयोजन ठिक समयमा गरेर ऐतिहासिक पहल गर्दै युद्धको नै नेतृत्व समेत गरेका र त्यसैको परिणाम र पूर्णता अहिलेको नेपाल भएको हुनाले पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणकर्ता र राष्ट्र निर्माता भनिएको र मानिएको हो । उनलाई राष्ट्र नायक अनि राजाहरुका पनि राजा अर्थात् महाराजा र महाराजाहरुका पनि राजा अर्थात् बडा महाराजा भनिएकोमा पनि राजा हुनु एउटा कारण हो भने युद्धद्वारा आन्तरिक रुपमा विभिन्न राज्यहरुलाई मिलाउंदै एकीकरण गरी विशाल नेपाल निर्माण गरेर बाह्यरुपमा त्यत्रो बेलायती साम्राज्यवादको अधीनमा पर्नबाट सिङ्गो नेपाललाई बचाउनु अर्को महत्वपूर्ण कारण हो ।


जहाँसम्म यो पृथ्वीनारायण शाहले शुरु र मूलतः सफल गरेको राज्य एकीकरणलाई यो समग्र एकीकरण होइन, यो त भौगोलिक एकीकरण मात्र हो भन्ने तर्क छ, त्यो तर्क अपूर्ण, एकाङ्गी र मनोगत नै छ । यसरी नै यो एकीकरण अर्थात् वर्तमान नेपाल निर्माणको अभियानलाई पृथ्वीनारायणको गोरखा राज्य विस्तारको लागि विस्तारवादी र साम्राज्यवादी अतिक्रमण भन्ने तर्कहरु पनि छन्, ती तर्कहरु त विस्तारवाद र साम्राज्यवादको अर्थ र मर्म नै नबुझ्ने पूर्वाग्रही र प्रतिशोधी मानसिकताबाट ब्युत्पन्न भएका अभिव्यक्ति हुन् । खासमा भन्ने हो भने यस्ता तर्कहरुका पछाडि हिजो नेपाललाई पृथ्वीनारायण शाह र वीर नेपाली जनताकै कारण निल्न नसक्ने बृटिश साम्राज्यवादी र हाल नेपाललाई टुक्राएर कमजोर पारी एक एक गरी सिक्किमलाई जस्तै खाने भारतीय विस्तारवादी शासक-शोषक वर्गको हात रहेको छ । हिजो नेपालको अस्तित्वलाई नामेट पार्न खोजेकोमा बाधक बनेका पृथ्वीनारायण शाहलगायतका नेपाली देसप्रेमी राजाहरु र तमाम देसभक्त नेता-कार्यकर्ता र जनसमुदायहरुलाई बदलास्वरुप आज उनीहरुले बदनाम गर्ने, विभाजन गर्ने र विस्थापित गर्ने उपक्रम चलाइरहेका छन् । यसरी नै बृटिश उपनिवेशबाट मुक्त भएपछि नेपाल निल्ने दाउ हेर्दै नेपालमाथि अनेक तिगडम र हस्तक्षेप गर्दै आएपनि विशेषत: राजा-महाराजाहरुकै कारण असफल हुनुपरेको अनुभूति गर्दै आएका भारतीय विस्तारवादी शासकवर्गले आज पनि नेपालको अस्तित्व नामेट पारेर एकातिर आफ्नो पुरानो प्रतिशोध साँध्ने षड्यन्त्र अन्तर्गत नेपाल निर्माता पृथ्वीनारायण शाह लगायत मुख्य संरक्षणकर्ता शासक महेन्द्रलाई सकेसम्म बदनाम गरे-गराएका छन् भने वीरेन्द्रलाई त झन् वंशै विनासहुने गरी हत्या गराए भने ज्ञानेन्द्रलाई पनि ५ बुँदे सहमतिको विपरीत सत्ताबाट हट्ने अवस्थामा पुराउनमा समेत जनयुद्ध र जनआन्दोलनको भूमिकासँगै भारतलगायतका शक्तिकेन्द्रहरुले पनि हस्तक्षेप गरेको छर्लङ्ग नै छ ।

यो समग्र सन्दर्भमा पृथ्वीनारायण शाह र उनको नेपाल एकीकरण गर्ने जस्तोमहत्त्वपूर्ण योगदानलाई अवमूल्यन गर्दै यो एकीकरण भौगोलिक मात्र हो भन्दै एकीकरणको दौरानमा र त्यसयता पनि भए-गरेका जातीय, सामुदायिक, सांस्कृतिक र भावनात्मक सम्मान र एकताका सत्प्रयास र सत्कर्महरुलाई पनि ओझेलमा पार्नु किमार्थ ठिक होइन । यो कुरा बेग्लै हो कि राष्ट्र निर्माण, संरक्षण र सम्बर्द्धनजस्ता महाभियानरुपी युद्ध, आन्दोलन र अभियानहरुमा केही अवान्छित, अपृय, अनहोनी र अमानवीय घटना र दुर्घटनाहरु हुन्छन् ! जान-अनजानमा केही कमीकमजोरी र गल्तीहरु पनि हुन्छन र भएका पनि छन् तर ती सामान्यतया स्वाभाभिक र क्षम्य वा बढीमा आलोच्यसम्म हुन्छन् र छन् नै ! हाम्रो माओवादी जनयुद्धका क्रममा पनि त्यस्ता घटना भए, जस्लाई हामीले यही रुपमा ग्रहण गरेकाछौं र समग्र देसले नै गर्नुपर्छ पनि भन्छौं ।

आज कतिपयले त्यतिबेला पृथ्वीनारायणले अन्य जाति, भाषा, संस्कृति आदिको पहिचान र सम्मान गरेको भए र नेपाल सरहदभित्रका सबै शासकहरुसंग सहमति गरेर बृटिश कम्पनी सरकारसँग लडेको भए उन्लाई महान् भन्न सकिने तर्क गरेको पनि पाइन्छ । यो तर्क आफैमा कि त मनोगत हो कि पूर्वाग्रही हो । नेपालमा त्यतिबेला यो कुरा असम्भवजस्तै थियो तैपनि बृटिश साम्राज्यवादीहरु ईशाई धर्म प्रचार गर्ने बहानामा नेपालमा पसेर यहाँका कमजोर कडीहरु पत्ता लगाई नेपालमाथि आक्रमण गर्दैछन् भन्ने थाहा पाएपछि र कतिपय नेपालभित्रकै शासकहरुले कम्पनि सरकारको दलाली गर्दै आफूहरूलाई बचाइदिन रोइकराइ गरेको समेत पृथ्वीनारायण शाहले सुइँको पाएपछि बृटिश साम्राज्यवादीहरुलाई अर्थात् फिरङ्गीहरुलाई सके एसियाबाटै न सके गंगा नदीपार पठाउनुपर्छ भन्ने सोंचेर विभिन्न राज्यका राजपरिवारसँग बिबाह गर्ने, मित लगाउने आदि जे गरेर हुन्छ सकेसम्म आपसी मेलमिलापद्वारा आफ्नो शक्ति बढाउँदै गएको देखिन्छ । यसरी नै यातायात र संचारको कुनै सुविधा नभएको त्यो बेलामा पनि बाइसी-चौबिसी राज्यका राजारजौटाहरुलाई भेला गरेर सहमति गरी बृटिशहरुलाई संयुक्त रुपमा लखेट्नु पर्थ्यो भन्ने तर्क पनि अस्वाभाविक नै हो । यसो गर्नु अहिले भने जत्तिकै सहज र सम्भव कहाँ हुन्थ्यो र ? त्यसै गरौं भनेको भए माझीले सल्लाह गर्दा गर्दै गाउँ डुबेजस्तै पनि त हुन सक्थ्यो !? के थाहा ? आज चालिस-पचास बर्षसम्म एउटै लक्ष-उद्देश्य लिएर हिंडेका र भिडेका सर्वोच्च चेतना र सिद्धान्तले सुसज्जित भनिएका २-४ जना कम्युनिस्ट नेताहरुमा त राष्ट्रका अहं मुद्दामा समेत सहमति हुन सक्तैन भने त्यति बेला त्यस्तो सहमति त काल्पनिक मात्र हुन्थ्यो ।

यसैगरी पृथ्वीनारायण र पछिल्ला शासकहरुले पनि जनसमुदायहरुलाई जातीय, भाषिक, धार्मिक, सांस्कृतिक पहिचान र सम्मान नदिएकै र आफ्नै भाषा, धर्म र संस्कृति मात्र जबर्जस्ति लादेकै पनि कसरी भन्ने हो र ? जबकि पृथ्वीनारायण स्वयंले देसको नाम गोरखा नराखेर नेपाल राखे, राजधानी आफ्नो जन्मस्थल र राज्यस्थल गोरखामा नराखेर काठमाडौं उपत्यका ल्याए, कैयौं नेवारी सांस्कृतिक पर्वहरुलाई राष्ट्रिय पर्वको रुपमा मान्यता दिई राजाबाटै तिनको सम्मान र उद्घाटन गर्ने गरे, कैयौं मठमन्दीर र सांस्कृतिक अनुष्ठानहरुमा मगरहरुलाई पूजारी राख्ने गरे । महिलाहरुको सम्मानको प्रतीकस्वरुप कुमारी मन्दीर बनाउने, देवीको सम्मान दिई कुमारी पूजारी राखेर पूजाआजा गराउने र जात्रा नै चलाउने गरेको पाइन्छ । यति मात्र होइन, देसलाई सबै जातको फूलबारी भने ! यति कुरा त्यतिबेला भन्नु त ठुलो कुरा हो, जो कुरा आज पौने तीन सयबर्ष यता हामीले भन्न थालेका छौं ! द्वन्द्ववादी दृष्टिले हेर्दा यी सकारात्मक कामहरु पनि देखिनुपर्ने हो जस्तो लाग्छ तर विडम्बना खालि बृटिश साम्राज्यवादी लेखक वा शासक वा हारे-भागेका योद्धा-छद्मयोद्धाहरुले पृथ्वीनारायण शाह लगायतका नेपालका शासक-योद्धाहरुलाई लान्छित गर्दै लेखिएका इतिहासलाई हेर्ने र पत्याउने तर पृथ्वीनारायण शाहकै दिव्योपदेश नामक राज्य संचालनका नीति, योजना र कार्यक्रमले भरिएको चातुर्दिक दृष्टिले पूर्ण आधिकारिक दस्तावेजमा लेखिएका र सो अनुसार गरिएका कामकुराहरुलाई अनदेखा वा अनलेखा गर्ने हाम्रो चिन्तन र दृष्टिकोण नै औपनिवेशिक दास मानसिकतामा आधारित छ भन्नुपर्ने बाध्यता आइलाग्छ जो आफैमा अत्यन्त दुखद विडम्बना हो ।

जहाँसम्म पृथ्वीनारायणले विभिन्न जात-जातिका जनसमुदायहरुको विश्वास र परिचालन गरेनन्, त्यसैले जनताको साथ-समर्थन नपाई गरिएको एकीकरण राष्ट्रिय होइन र हुन सक्तैन बरु यो त फौजी बलमा गरिएको जबर्जस्ति अतिक्रमण मात्र थियो भन्ने अर्को तर्क छ, त्यो पनि शुरुमा पृथ्वीनारायण स्वयंले आफ्नै रैती दमाई जातिको बिसे नगर्चीसँग युद्धमा अर्थ व्यवस्थापनबारे लिएको सल्लाहबाट मात्र पनि खण्डित हुन्छ । त्यतिले मात्र पुग्दैन नै भन्ने हो भने पनि त्यतिबेला निकै निम्न, हेय र तुच्छ जाति भनिएका कामी, सार्की, गाइने आदिजस्ता दलित जातिका मानिसहरुमध्ये हातहतियार निर्माण गर्ने भूमिका जसवीर कामीले, अंग्रेजसँगको युद्धमा उनीहरुलाई बाटो न बताइदिंदा मारिएर शहीदै बनेर पनि सहयोग पुराएका बाङ्गे सार्की र जनतालाई गीत-संगीतका माध्यमबाट जागरुक बनाउँदै एकीकृत पार्ने योगदान गरेका मनिराम गाइनेका भूमिका र योगदान-बलिदानबारेको इतिहासले पनि यो तर्कको पूरै खन्डन गर्दछ ।

उपरोक्त विश्लेषणबाट यो पुष्टि हुन्छ कि कतिपय परिस्थितिजन्य, कतिपय अनुभवजन्य र कतिपय स्वभावजन्य कमी-कमजोरीका बावजुद पृथ्वीनारायण शाहको राज्य एकीकरण र वर्तमान नेपाल निर्माण कार्य ऐतिहासिक आवश्यकता र महत्ताको महान् कार्य थियो । त्यसैले उनको र नेपाल एकीकरण र निर्माणकार्यको सही मूल्यांकन गरिनुपर्छ । यही सही मूल्यांकन गरेर नै पृथ्वीनारायण शाहको ३०१औं जन्म-जयन्ति राष्ट्रिय एकता दिवसका रुपमा मनाउने गरिंदै गरेको यो अवसरमा नेपाल निर्माणका महानायकप्रति पुन: शब्दश्रद्धासहित यो कुराको चर्चाको यहीं बिट मार्ने अनुमति चाहन्छु ।

२०७९ पौष २८
रानीवुँ ललितपुर ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ