यस्तो बन्ने भयो नयाँ एमाले, महाधिवेशन मंसिर १० देखि बुटवलमा

2021-10-04

काठमाडौं - नेकपा एमालेको प्रथम विधान महाधिवेशन सम्पन्न भएको छ। शुक्रबारदेखि सुरु भएको महाधिवेशन तीन दिनसम्म चलेको थियो। पहिलो दिन प्रस्तुत अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्तावमाथि उठेका प्रश्नहरुको आइतबार तीनै जनाले जवाफ दिएका थिए। जवाफपछि महाधिवेशनमा प्रस्तुत गरिएका तीनवटै प्रतिवेदन पारित गरिएको छ।

प्रतिवेदनहरुमाथि छलफलका लागि शुक्रबारै १० वटा समूह गठन गरिएका थिए। ती समूहमा शनिबार बिहान साढे ८ बजेदेखि छलफल भएको थियो। सोही दिन दिउँसोको पूर्ण सत्रमा समूहका अध्यक्षले समूह छलफलको निष्कर्ष रिपोर्टिङ गरेका थिए। शनिबार ५ र आइतबार ५ समूहका अध्यक्षले रिपोर्टिङ गरेका हुन्।

आइतबार पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएपछि पौडेलले आफ्नो प्रतिवेदनमाथि उठेका प्रश्नका जवाफ दिएका थिए। उनले एमालेको पदाधिकारीको संख्या १५ पुर्‍याइने बताए। शुक्रबार उनले प्रस्तुत गरेको प्रस्तावमा यो संख्या १३ मात्रै थियो। अब एमालेमा अध्यक्ष १ जना, वरिष्ठ उपाध्यक्ष १ जना, उपाध्यक्ष ४ जना, महासचिव १ जना, उपमहासचिव १ जना र सचिव ७ जना हुनेछन्।

त्यस्तै, उनले ७० वर्षे प्रावधानको पनि व्याख्या गरेका छन्। यसअघि ७० वर्षे प्रावधान अपनाइएको र त्यसलाई निरन्तरता दिइएको भए पनि पछिल्लो समय फरकफरक व्याख्या हुँदै आएको थियो। । 'कुनै पनि कमिटीको कार्यकारी पदमा ७० वर्ष पूरा नहुँदासम्म उम्मेदवार हुन पाउने र कार्यकालको बीचमा ७० वर्ष पूरा भएमा सो कार्यकाल भरी आफ्नो पदमा रहेर कार्य गर्न पाउने खालको व्यवस्था गर्नुपर्छ', पौडेलले भने।

प्रथम विधान महाधिवेशनबाट विभिन्न कमिटीमा रहने सदस्य संख्या पनि टुंगो लगाएको छ। अब एमालेको केन्द्रीय कमिटीमा २२५ जना, स्थायी कमिटीमा ४५ जना, अनुशासन आयोगमा १५ जना (अध्यक्ष, उपाध्यक्ष र सचिवसहित), निर्वाचन आयोगमा १५ जना (अध्यक्ष, उपाध्यक्ष र सचिवसहित), लेखा आयोगमा १५ जना (अध्यक्ष, उपाध्यक्ष र सचिवसहित) हुनेछन्। त्यस्तै, प्रदेश कमिटीमा ५० जना आधार संख्या र सो प्रदेशका प्रत्येक निर्वाचन क्षेत्रबाट पाँच जनाको दरले थप सदस्य रहनेछन्। जिल्ला कमिटीमा पनि आधार संख्या ५० र १ निर्वाचन क्षेत्र बराबर थप १५ जना रहनेछन्। पालिका कमिटी पनि आधार संख्या ५० र एउटा वडा बराबर थप ५ जना सदस्य रहनेछन्। वडा कमिटी ३१ सदस्यीय हुनेछ।

एमालेले आफ्नो लोगो पनि परिवर्तन गरेको छ। यसअघि एमालेमा सूर्य चिह्नभित्र अंग्रेजी अक्षरमा 'सीपीएन युएमएल' लेखिएको र आयतकारभित्र हँसिया हथौडा सहितको लोगो थियो। सूर्य चिह्नभित्र रातो पृष्ठभूमि थियो। नयाँ लोगोमा भने सूर्य चिह्नभित्र सुनौलो रङको हँसिया हथौडा छ। सूर्य चिह्नभित्रको पृष्ठभूमि भने रातो नै यथावत् छ।

महासचिव पोखरेलले आफूले प्रस्तुत गरेको प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदै जनताले पत्याएकाहरु नेता मात्रै कम्युनिस्ट पार्टीको नेतृत्वमा पुग्न सक्ने बताए। 'विधान महाधिवेशनको हलमा म विश्वास दिलाउन चाहन्छु। कम्युनिस्ट पार्टीका जुनसुकै तहका नेताहरु, जनतामा स्थापित भएका, जनताले चिनेका, जनताले पत्याएका, जनताको नजरमा स्थापित भएका व्यक्तिहरु नै कम्युनिस्ट पार्टीको नेतृत्वको जिम्मेवारीमा पुग्न सक्छन्', उनले भने, 'त्योभन्दा फरक ढंगले कहीँ थोपरेर, कसैको नातागोताको आधारमा, कहीँ भनसुनको आधारमा, प्रलोभनका आधारमा नेता बनाउने कुरा हुँदैन।'

उनले पार्टीलाई व्यवस्थित गर्न विचारमा एकरुपमा हुन जरुरी रहेको बताए। 'पार्टी विचारमा एकरुपता हुनुपर्छ। विचारमा एकरुपता भएन भने पार्टी पार्टी जस्तो हुँदैन, स्वार्थ समूह हुन्छ भन्ने आशयबाट जुन कुरा आएको छ, त्यो अत्यन्तै मननयोग्य छ,' उनले भने।

अध्यक्ष ओलीले पनि आफ्नो राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिए। उनले सधैंजस्तो विपक्षीहरुमाथि प्रहार गरे, आफ्नो बढाइचढाइ गरे र कार्यकर्ताहरुलाई भरोसा दिलाए। 'मैले व्यक्तिगत रुपमा होइन, एमालेको अध्यक्षको रुपमा भन्दैछु। मलाई लाग्छ, बहुमतमा पुर्‍याएर, मधुकैटभले हल्लाउन नसक्ने सुदृढ स्थितिमा पुर्‍याएर छोड्नेछु', उनले भने।

महाधिवेशनस्थलमा ब्यानरदेखि पानीको बोतलमा समेत ओलीलाई प्राथमिकता दिइएकोमा भइरहेको आलोचनालाई पनि उनले खण्डन गरे। 'नेकपा एमालेको महाधिवेशनमा ब्यानर देखिएको रे, झन्डा देखियो रे, अलिक तामझाम देखियो रे, नेतृत्वको विरुद्धमा होइन समर्थनमा कार्यकर्ता बोलेको देखियो रे। अनि छाती पिट्छन् विरोधीहरु। यो हाम्रा विरुद्धको हमलाको विभिन्न रुप हो। हामी व्यक्तिपूजक होइनौं। मूर्तिपूजक होइनौं। हामी धर्मान्धतामा विश्वास गर्दैनौं', उनले भने।

महाधिवेशनले १६ वटा समसामयिक प्रस्तावहरु पनि पारित गरेको छ। महाधिवेशन हलमा अध्यक्ष मण्डलका तर्फबाट सदस्य रघुजी पन्तले प्रस्तुत गरेका समसामयिक प्रस्तावहरु पारित भएको हो। ‘यो महाधिवेशन अनेकौं प्रतिकूलताका बीचमा पनि करिब साढे तीन वर्ष सरकारको नेतृत्व गरेर राजनीतिक द्वन्द्वहरुलाई अन्त्य गर्ने, संविधान र संघीयता कार्यान्वयन गर्ने, राष्ट्रियतालाई सुदृढ र राष्ट्रिय स्वाभिमानलाई उचो पार्ने, रणनीतिक महत्वका पूर्वाधार लगायत विकास निर्माणलाई तीव्रता दिने र सामाजिक न्यायलाई सुनिश्चित गर्ने जस्ता महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोमा केपी शर्मा ओलीको नेतृत्वको पूर्ववर्ती सरकारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ। अदालतको परमादेशद्वारा सरकारबाट बाहिरिनु परे पनि जनादेशका माध्यमबाट पुनः राज्यको नेतृत्वमा पुनरागमन गर्दै समृद्धि र रुपान्तरणको अभियानलाई निरन्तरता दिने संकल्प गर्दछ’, पारित प्रस्तावमा भनिएको छ।

महाधिवेशनले डा विजय सुब्बाको अध्यक्षतामा १५ सदस्यीय निर्वाचन आयोग सर्वसम्मतिले गठन गरेको छ। जसमा महेश नेपाल, सानुराज पोखरेल, बाबुराम दाहाल, कुन्साङ लामा, रिता सिम्खडा, रञ्जु ठाकुर, भरत पोखरेल, टंक उप्रेती, सुमित्रा बिसी, पवित्रा निरौला, केवालाल चौधरी, विमला विश्वकर्मा र हिमकला गैरे सदस्य छन्।

ओलीले अन्तिममा समापन सम्बोधन गरेसँगै महाधिवेशन समापन भएको हो। उनले पौने दुई महिनाभित्र अर्को महाधिवेशन (राष्ट्रिय महाधिवेशन) गर्ने बताए। त्यसको उद्घाटन सत्रमा अर्को अभूतपूर्व ढंगको मानवसागर नेपालको सन्दर्भमा दुनियाँले देख्ने उनले बताए। उनले पार्टीको दशौं महाधिवेशन बुटवलमा हुने पनि सुनाए। 'महाधिवेशन बुटवलमा गर्नेछौं', ओलीले भने, 'अत्यन्तै भव्यताका साथ।' एमालेको दशौं महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते गर्ने निर्णय भएको छ। यसअघि एमालेले आठौं महाधिवेशन पनि बुटवलमै गरेको थियो।

समापन सम्बोधनको अन्तिममा ओलीले नारा लगाउँदै सहभागीको साथ लिएका थिए। उनले 'एमाले एकता अमर रहोस्', 'अमर सहिदहरु लालसलाम' र 'नेकपा एमाले जिन्दावाद' नारा लगाउँदै गर्दा सहभागीहरुले त्यसलाई दोहोर्‍याएका थिए।




थप समाचार


थरुहट थारुवानले निर्णायक आन्दोलन गर्ने

थरुहट थारुवानले निर्णायक आन्दोलन गर्ने

दिवाकर पोख्रेलदेउखुरी, असौज २० गते । टिकापर घटनामा निर्दोष ब्यक्तिलाई सरकारले फसाउन खोजिरहेको भन्दै त्यसको विरुद्धमा थरुहट थारुवान संघर्ष समितिले निर्णायक आन्दोलन गर्ने जनाएको ...

निर्वाचन आयोगले 'हेड काउन्ट' गर्ने भएपछी जसपाको महन्थ-राजेन्द्र पक्ष संकटमा

निर्वाचन आयोगले 'हेड काउन्ट' गर्ने भएपछी जसपाको महन्थ-राजेन्द्र पक्ष संकटमा

काठमाडौं - निर्वाचन आयोगले 'हेड काउन्ट' गर्ने भएपछी जसपाको महन्थ-राजेन्द्र पक्ष संकटमा पर्ने देखिएको छ। आयोगले जनता समाजवादी पार्टी (जसपा) को पार्टी आधिकारिकता विषयमा फैसला ...

पार्टी नेताहरुलाई गरिएको कारबाही निष्प्रभावी : प्रवक्ता ज्ञवाली

पार्टी नेताहरुलाई गरिएको कारबाही निष्प्रभावी : प्रवक्ता ज्ञवाली

काठमाडौं - नेकपा एमालेको केपी शर्मा ओली पक्षले माधवकुमार नेपाल पक्षलाई गरेको कारबाही निष्प्रभावी भएको छ। बुधबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले ...




ट्रेन्डिङ