जेठ मसान्तसम्म संक्रमण दर दैनिक ११ हजारसम्म पुग्ने मन्त्रालयको प्रक्षेपण

2021-04-23

काठमाडौं - कोरोना भाइरस (कोभिड-१९) को दोस्रो लहर तीव्र गतिमा फैलिएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महामारी नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्रीको जोहो गर्न थालेको छ। मन्त्रालयले कम्तीमा एक महिनालाई पुग्ने स्वास्थ्य सामग्री स्टक राख्‍ने तयारी गरेको हो।

नेपालमा अहिले दैनिक दुई हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइरहेको छ। मन्त्रालयले नयाँ भेरियन्टसहितको कोरोना संक्रमण तीव्ररुपमा फैलिरहेको भन्दै सतर्कता अपनाउन आह्वान गरेको छ। यही गतिमा संक्रमण बढ्दै गए जेठ मसान्तसम्ममा दैनिक ११ हजार जनामा संक्रमण पुष्टि हुने प्रक्षेपण मन्त्रालयले गरेको छ। उक्त संख्यामा संक्रमित थपिँदा स्वास्थ्य सामग्रीको अभाव हुनसक्ने भएकाले स्टक राख्‍ने तयारी गरिएको हो।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले एक महिनाका लागि आवश्यक पर्ने परीक्षण किट र स्वास्थ्य सामग्री स्टक राखिने जानकारी दिएको छ। विभागले कोरोना संक्रमित पहिचानका लागि परीक्षण किट तथा स्वास्थ्य सामग्रीको व्यवस्थापन गर्न लागेको हो।

विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहका अनुसार कम्तीमा एक महिनाका लागि आवश्यक पर्ने परीक्षण किट, स्वास्थ्य सामग्री तथा औषधिहरु व्यवस्थापनको तयारी गरिएको छ। उनका अनुसार विभागसँग अहिले केही दिनलाई पुग्ने परीक्षण किट तथा स्वास्थ्य सामग्री मौज्दात छ।

विभागको व्यवस्थापन महाशाखाको तथ्यांकअनुसार हाल सर्जिकल मास्क तथा एन ९५ मास्क एक लाखभन्दा बढी मौज्दात रहेको छ। विभागसँग रहेका स्वास्थ्य सामग्री तथा परीक्षण किटहरु आवश्यकताका आधारमा स्थानीय तह तथा केन्द्रीय अस्पतालहरुलाई वितरण गरिने महानिर्देशक डा. सिंहले जानकारी दिए।

प्रदेश तथा स्थानीय तह आफैंले खरिद गर्न सक्नेबाहेकका स्वास्थ्य सामग्री किन्ने प्रक्रिया स्वास्थ्य सेवा विभागले अघि बढाइसकेको उनले बताए। उनका अनुसार परीक्षण किट, स्वास्थ्यकर्मीका लागि पीपीई, अक्सिजनलगायतका आकस्मिक स्वास्थ्य सामग्री खरिदको प्रक्रिया अघि बढाइसकिएको छ।

परीक्षण किट कति छन्? कति खरिद हुँदै छ?
विभागअन्तर्गत रहेको व्यवस्थापन महाशाखाको खरिद शाखाका प्रमुख उपेन्द्र ढुंगानाका अनुसार चार लाख व्यक्तिको कोरोना परीक्षणका लागि आरटी-पीसीआर टेस्ट किट विभागसँग मौज्दात रहेको छ। यस्तै एक लाख एन्टिजेन टेस्ट किट मौज्दात छन्।

उनका अनुसार युनिसेफमार्फत् करिब डेढ लाख जनसंख्याका लागि कोरोना परीक्षण गर्न पुग्ने एन्टिजेन परीक्षण किट केही दिनमा ल्याइँदै छ। यस्तै विभागले दुई लाख एन्टिजेन टेस्ट किट खरिद प्रक्रियासमेत अघि बढाइसकेको छ। करिब पाँच हजार व्यक्तिमा यूके भेरियन्टको कोरोना परीक्षण गर्ने पीसीआर टेस्ट किट पनि केही दिनभित्रमा नै ल्याइने ढुंगानाको भनाइ छ।

कोरोना संक्रमितको उपचार व्यवस्थापनमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि एक लाख पीपीई केही दिनभित्र आउने उनले जानकारी दिए। यस्तै डेढ लाख गाउन, एक लाख फेसशिल्डलगायतका स्वास्थ्य सामग्री पनि केही दिनभित्रै आउने उनको भनाइ छ।

अक्सिजन अभाव हुनसक्ने !
व्यवस्थापन महाशाखाका प्रमुख डा. भिमसिंह टिंकरीका अनुसार कोरोना परीक्षणका लागि आवश्यक पर्ने भीटीएम, आरटी-पीसीआर र एन्टिजेन्ट परीक्षण किट करिब दुई महिनालाई पुग्ने छ। थप खरिदको प्रक्रियासमेत अघि बढाइएको उनले बताए।

कोरोना परीक्षणका लागि भीटीएम तथा किट, मास्क, गाउनलगायतका स्वास्थ्य सामग्री अभाव भइहाल्ने अवस्था नरहेको डा. टिंकरीको दाबी छ। मास्क, गाउनलगायतका 'पर्सनल प्रोटेक्टिभ इक्प्युमेन्ट'हरु अहिले बजारमा पनि अभावको अवस्था छैन। तर, संक्रमितको संख्या बढ्दै जाँदा अक्सिजन अभाव हुनसक्ने संकेत देखिएको उनको भनाइ छ।

हालसम्म भारतबाटै अक्सिजन आयात हुने गरेको भन्दै डा. टिंकरीले भारतमा संक्रमण व्यापक रुपमा फैलिएकाले त्यहाँ नै अभावको अवस्था आउँदा भारतले नियमितरुपमा अक्सिजन सप्लाइ नगरे नेपालमा अक्सिजन अभाव हुनसक्ने उनको भनाइ छ।

‘अरु परीक्षण किट र स्वास्थ्य सामग्रीको विषयमा समस्या परिहाल्ने देखिएको छैन,’ डा. टिंकरीले भने, ‘तर अक्सिजन भने अभाव हुने हो कि भन्ने लागेको छ, स्वास्थ्य मन्त्रालयमा हामीले अक्सिजनको व्यवस्थापन कसरी गर्ने भनेर छलफल पनि गरिरहेका छौं।’




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ