स्वास्थ्य बीमा अब ७७ वटै जिल्लामा लागू हुने

2021-03-29

काठमाडाैं - सरकारले यही आर्थिक वर्षमा ७७ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने भएको छ। २०७२ बाट सुरु भएको स्वास्थ्य बीमा बोर्डले छोटो समयमा नै ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न थालेको हो।

यही चैत २५ गते ६ जिल्लामा सुरुवात र त्यसपछि काठमाडौं तथा ललितपुरमा लागू गर्न थालिएको बोर्डका वरिष्ठ स्वास्थ्य प्रशासक डा माधव लम्सालले बताए। चैत २५ गते ताप्लेजुङ, दोलखा, बारा, सर्लाही, मनाङ र मुस्ताङमा स्वास्थ्य बीमा कार्यक्रम तथा वैशाखमा काठमाडौं र ललितपुरमा लागू गर्न थालिएको हो।

बीमा कार्यक्रममार्फत् पाँच जनासम्मको परिवारको रू तीन हजार ५०० बुझाएपछि त्यसघरमा रहेका सदस्यले रु एक लाख बराबरको औषधि उपचार सरकारले तोकेको अस्पतालमा निःशुल्क गर्न पाइन्छ। पाँच जनाभन्दा बढी सदस्य भएपछि प्रतिसदस्यका दरले रू ७०० बुझाउनु पर्दछ। पाँच जनाभन्दा बढी सदस्यले प्रतिसदस्य रू २० हजारदेखि दुई लाखसम्म निःशुल्क उपचार गर्न पाउने व्यवस्था छ।

बोर्डले बीमा कार्यक्रमका लागि देशभरिका सरकारी र निजी गरी ३७५ अस्पताललाई सूचीकृत गरेको छ। ती अस्पतालमा बीमा लागू गरेका परिवारका सदस्यले उपचार गराए रू एक लाखसम्मको निःशुल्क उपचार गराउन पाउनेछन्।

बोर्डका सदस्य चन्द्र थापाले ७७ वटै जिल्लामा कार्यक्रम लागू गरेपछि सबै नागरिकलाई बीमामा आबद्ध गराउने पहल गरिने बताए। 'अहिले हामी सबै जिल्लामा कार्यक्रम लागू गर्दछौं', उनले भने, 'त्यसपछि नागरिकलाई बीमाप्रति जनचेतना जगाई सबैलाई आबद्ध गर्दछाैं।'

अझै पनि मानिसमा स्वास्थ्य बीमाप्रति जानकारी नभएर धेरै मानिस स्वास्थ्य बीमाबाट बाहिर रहेका छन्। उनले बीमामा सबै नागरिकलाई आबद्ध गराउने खालका कार्यक्रम ल्याइनेसमेत बताए। अहिले ६९ जिल्लामा बीमा कार्यक्रम सञ्चालन छ। सात लाख ४२ हजार १९२ घर परिवारका ३७ लाख १० हजार ९६२ जना बीमा कार्यक्रममा सहभागी रहेका छन्। तीमध्ये १४ लाख ३० हजारले मात्र बीमा कार्यक्रमको सुविधा लिएका छन्। तीमध्ये यस आर्थिक वर्षमा ७० प्रतिशत बीमितले नवीकरण गरेका छन्।

सरकारले अति गरिब, ज्येष्ठ नागरिक, एचआइभी/एड्स सङ्क्रमित, महिला स्वास्थ्य स्वयंसेविका, अतिअशक्त अपाङ्गलाई भने निःशुल्क बीमा गर्ने गरेको बोर्डका वरिष्ठ स्वास्थ्य प्रशासक डा लम्सालले बताए। बोर्डले अहिले बीमा कार्यक्रमलाई बाध्यात्मक नबनाएकाले सोचेको जस्तो नागरिक सहभागी नभएको बताए। उनले स्वास्थ्य बीमा गरेका तर, बिरामी नभएका घरपरिवारको शुल्कले बिरामी हुने व्यक्तिको उपचारमा सहयोग पुग्ने भएकाले सबै स्वास्थ्य बीमामा सहभागी हुनुपर्ने बताए।

'गरीब विपन्न परिवारले अझै पनि उपचार गर्न सक्दैनन्', उनले भने, 'त्यस्ता गरीब, विपन्न वर्गलाई उपचारमा अन्यले तिरेको शुल्कले सहयोग पुर्‍याउँछ।'

बीमा बोर्डका सूचना अधिकारी हिमलाल ज्ञवाली मानिसले स्वास्थ्यप्रति चासो नदिएकाले बीमामा आकर्षण कम भएको बताउँछन्। 'बिरामी हुँदा मानिसहरू रू. एक लाखभन्दा पनि बढी तिर्छन्', उनले भने, 'तर बीमा गर्नका लागि रू तीन हजार ५०० शुल्क पनि तिर्न मानिरहेका छैनन्।'

उनले वडास्तरमा एक जना दर्ता सहयोगी खटाएर बीमाबारे जानकारी दिन घरघर जाने गरेकाले अब भने बीमित बढ्ने विश्वास लिए। सरकारले पोलिएको, गम्भीर अपाङ्गताका लागि गरिने उपचार, ओठ, तालु काटिएकामा गरिने सर्जरीबाहेकको प्लास्टिक तथा कस्मेटिक सर्जरी भने बीमाबापत गराउन नपाउने जनाएको छ।

सरकारले २०७२ चैत २५ गते सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले कैलाली, इलाम र बागलुङसहित तीन जिल्लाबाट स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको थियो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ