कोरोना त्रास : उपत्यकामा उच्च सतर्कता अपनाउन थालियो

2021-03-25

काठमाडौं - पछिल्लो साता कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा उच्च सतर्कता अपनाउन थालिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरले छुट्टाछुट्टै निर्णयमार्फत कोरोनाको संक्रमण र रोकथामका लागि प्रभावकारी भूमिका खेल्न आम सर्वसाधारणमा अपिल गरेको छ ।

उपत्यकामा बढ्दो भीडभाड, त्यसमाथि नेपालीहरुको पर्व होली समेत भएकाले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न सचेत गरिएको छ । यस्तै भीडभाडमा नजान, मास्कको अनिवार्य प्रयोग गर्न, साबुनपानीले नियमित हात धुन तथा स्यानिटाइजरको प्रयोग गर्न समेत अनुरोध प्रशासनले गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक स्थलमा होली खेल्न रोक लगाएको छ । कोभिड–१९ संक्रमणको दर बढ्दै गएको अवस्थामा होली पूर्णिमामा सार्वजनिक स्थलमा भेला भई होली खेल्न रोक लगाइएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताएका छन् ।

यस्तै सार्वजनिक स्थानमा आवतजावत गर्दा मास्क प्रयोग नगर्ने र स्वास्थ्यका मापदण्ड पुरा नगर्ने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने पनि प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए । यस्तै प्रशासनले जारी गरेको विज्ञप्तिमा काठमाडौं उपत्यकामा बृद्धि भइरहेको संक्रमणको दरलाई न्यूनीकरण गर्नको निम्ति स्वास्थ्यका मापदण्डहरु अनिवार्य रुपमा पालना गर्ने, मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने, भौतिक दुरी कायम गरी आफ्नो दैनिक कार्य सञ्चालन गर्ने र समयसमयमा हात धुने कार्यलाई अनिवार्य पालना गर्न समेत अनुरोध गरिएको छ ।

यस्तै विद्यालय सञ्चालन भएको अवस्थामा विद्यार्थीहरुलाई अनिवार्य मास्क लगाउने व्यवस्था गर्ने, कक्षाकोठाको व्यवस्थापन सोहीअनुसार गर्ने, सेनिटाइजर प्रयोग गर्ने, हात धुन लगाउने कुरालाई अनिवार्य पालना गर्ने व्यवस्था गर्नसमेत अनुरोध गरिएको छ । यस्तै जिल्ला प्रशासन कार्यालय ललितपुरले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठक नै राखेर संक्रमण बढ्न नदिन सबै स्थानीय तहलाई विद्युतीय माध्यम तथा अन्य उपयुक्त माध्यमबाट चेतनामुलक कार्यक्रम सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

यस्तै पहिले सञ्चालनमा आएका क्वारेन्टिन तथा आइसोलेशन केन्द्रलाई तयारी अवस्थामा राख्ने, मास्क, सेनिटाइजर र भौतिक दूरी कायममा कडाइ गर्ने तथा मास्क नलगाउनेलाई नियमानुसार कारबाही गर्ने निर्णय समेत भएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । यस्तै रात्रिकालीन व्यवसाय ११ बजेपछि सञ्चालनमा रोक लगाउने, भिडभाड नगर्ने र सुरक्षाका मापदण्ड पनि कडाइका साथ पालना गर्नुपर्ने भएको छ ।

यस्तै जिल्ला प्रशासन कार्यालय भक्तपुरले पनि संक्रमण दरमा वृद्धि भएको भन्दै भीडभाड नगर्न आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जिल्लामा भीडभाड र मेला महोत्सव गर्नु उचित नदेखिएको भन्दै त्यस्ता गतिविधि नगर्न अनुरोध गरिए बताए । ‘कोभिड–१९ को संक्रमणको जोखिमबाट बच्न भीडभाड हुने गरि कुनै किसिमको मेला,जात्रा,साँस्कृतिक कार्यहरु लगायतको काम अर्को सूचना नभएसम्म नगर्न, नगराउन सम्बन्धित सबैमा जिल्ला अनुरोध गर्दछ,’ प्रशासनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यस्तै संक्रमणको सम्भावनालाई मध्यनजर गरी पहिले सञ्चालनमा आएका क्वारेन्टाइन, आइसोलेशन केन्द्रलाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । स्वास्थ्य युनिटहरुलाई समेत आवश्यकताअनुसार तत्काल परिचालन गर्ने गरी तयारी अवस्थामा राख्ने तथा सोका लागी आवश्यक समन्वय जिल्ला स्वास्थ्य कार्यालयले गर्ने प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।

 




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ