राष्ट्रपति भण्डारी आज बंगलादेश जाँदै

2021-03-22

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान बंगलादेश जाने भएकी छन्। चैत ९ र १० गते बंगलादेशको राजकीय भ्रमणका लागि राष्ट्रपति बिहान ८ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को न्यारो बडी ए ३२० जहाजबाट ढाका प्रस्थान गर्ने कार्यक्रम छ।

राष्ट्रपतिको उडान हुनुअघि १५ मिनेट तथा उडानपछि १५ मिनेटसम्म सबै उडान बन्द हुने बताइएको छ।

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा त्यहाँका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहमा सहभागी हुन राष्ट्रपति भण्डारी त्यसतर्फ जान लागेकी हुन्।

उनी स्थानीय समयअनुसार बिहान १० बजे ढाकास्थित हजरत सहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नेछिन्। त्यहाँ उनलाई राष्ट्रपति अब्दुल हमिद र बंगलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रले स्वागत गर्नेछन्।

सोमबार उनले समकक्षी हमिदसँग दुईपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। त्यसैगरी, प्रधानमन्त्री शेख हसिनालगायतले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्नेछन्।

भ्रमण क्रममा दुई देशबीच विभिन्न समझदारी पत्रमा हस्ताक्षर हुने बताइएको छ।

नेपाल र बंगलादेशबीच पारवहन सम्झौता संशोधनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुनेछ। सम्झौताअनुसार बंगलादेशले नेपाललाई पारवहन प्रयोजनका लागि रोहनपुर–सिंगावाद रेलवे रुट प्रयोग गर्न दिनेछ।

त्यस्तै दुई देशबीच स्यानिटरी र साइटो स्यानिटरीसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुनेछ। सम्झौताका लागि मन्त्रिपरिषदको बैठकले उद्योग, वाणिज्य र आपूर्ति मन्त्रालयका सचिवलाई अख्तियारी दिएको छ।

यस्तै नेपाल र बंगलादेशबीच पर्यटन प्रवर्द्धनसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने सरकारले जनाएको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ